बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जापानका तीन प्रमुख सहरमा गल्कोट समाजको ‘सांगीतिक शृङ्खला २०२७’, सामाजिक सेवाका लागि राहत कोष बढाउने लक्ष्य

बुधबार, कार्तिक १८ २०८३

जापान । अंग्रेजी नयाँ वर्ष २०२७ को अवसर पारेर गल्कोट समाज जापानले जापानका तीन प्रमुख सहर ओसाका, नागोया र टोकियोमा ‘सांगीतिक शृङ्खला २०२७’ आयोजना गर्ने भएको छ। नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनसँगै सामाजिक सेवाका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा जापानमा सक्रिय नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

“हाम्रो गाउँ, हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने मूल नारासहित सन् २००६ मा स्थापित समाजले सामाजिक उत्तरदायित्व र सांस्कृतिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै आएको छ। यसै अभियानलाई निरन्तरता दिँदै यसपटक “सामाजिक राहत कोष वृद्धि गर्दै स्वास्थ्य र शिक्षामा दिगो लगानी” भन्ने उद्देश्यका साथ सांगीतिक शृङ्खला आयोजना गर्न लागिएको हो।

कार्यक्रमको पहिलो शृङ्खला सन् २०२६ डिसेम्बर ३१ मा ओसाकामा आयोजना हुनेछ। त्यसपछि सन् २०२७ जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा कार्यक्रम सञ्चालन गरिनेछ। जापानका तीन प्रमुख सहरमा एकपछि अर्को गर्दै आयोजना हुने कार्यक्रमले त्यहाँ रहेका नेपाली समुदायलाई नयाँ वर्षको उत्सवसँगै सामाजिक अभियानमा जोड्ने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक कृष्ण केसीले सांगीतिक शृङ्खलालाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउन आफूहरू तयारीमा जुटिरहेको बताए। उनले नेपाल र जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास व्यक्त गर्दै यसको सफलताका लागि सम्पूर्ण नेपाली समुदायको साथ आवश्यक रहेको बताए। उनका अनुसार कार्यक्रम केवल मनोरञ्जनमा सीमित नरही सामाजिक सेवाका लागि सामूहिक योगदान जुटाउने महत्वपूर्ण अवसरसमेत हुनेछ।

समाजका अध्यक्ष दिलबहादुर थापा (रामु) ले सांगीतिक कार्यक्रमलाई सामाजिक सेवासँग जोडेर अघि बढाइएको बताए। उनले प्रवासमा रहेर पनि आफ्नो गाउँठाउँ र समुदायप्रतिको जिम्मेवारी पूरा गर्ने उद्देश्यले समाजले स्वास्थ्य, शिक्षा तथा सामाजिक राहतका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको कार्यक्रमले नेपालीबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउनुका साथै सामाजिक राहत कोष विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ।

त्यस्तै, समाजका महासचिव तथा कार्यक्रमका प्रचारप्रसार संयोजक बिपिन केसीले कार्यक्रमलाई जापानभर रहेका नेपालीमाझ पुर्‍याउन प्रचारप्रसार र समन्वयलाई तीव्र बनाइने बताए। उनले ओसाका, नागोया र टोकियोमा हुने कार्यक्रमलाई सफल बनाउन जापानमा क्रियाशील नेपाली संघ–संस्था, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण नेपाली समुदायलाई सहयोग र सहभागिताका लागि आग्रह गरे। सांगीतिक प्रस्तुतिमार्फत नेपाली कला, संस्कृति र पहिचानलाई प्रवासमा थप प्रवर्द्धन गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारका साथै जापानमा रहेर नेपाली गीत–संगीत, कला र संस्कृतिको क्षेत्रमा सक्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्। नेपाल र प्रवासका कलाकारलाई एउटै मञ्चमा उभ्याउने यस आयोजनाले नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नुका साथै जापानमा रहेका नेपाली प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

समाजका अनुसार कार्यक्रमबाट संकलित रकम सामाजिक राहत कोषलाई थप सुदृढ बनाउन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने कार्यमा परिचालन गर्ने लक्ष्य राखिएको छ। यसले आपत्कालीन अवस्थामा समुदायलाई सहयोग पुर्‍याउने र सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रवासको व्यस्त जीवनबीच आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमले नेपालीहरूलाई एउटै थलोमा जोड्ने, आपसी सम्बन्ध विस्तार गर्ने र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति तथा मौलिक पहिचानसँग परिचित गराउने महत्वपूर्ण भूमिका खेल्छन्। विशेषगरी नयाँ वर्षको अवसरमा आयोजना हुने सांगीतिक शृङ्खलाले नेपाली समुदायमा आत्मीयता, एकता र सांस्कृतिक अपनत्व बढाउने विश्वास आयोजकको छ।

गल्कोट समाज जापानले कार्यक्रमलाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो अनुकूलको सहरमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ। साथै, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोगका साथै प्रचारप्रसारमा समेत साथ दिन अपिल गरेको छ।

नयाँ वर्षको स्वागत नेपाली गीत–संगीतसँगै गर्दै सामाजिक सेवाको अभियानमा हातेमालो गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सांगीतिक शृङ्खला २०२७’ लाई सफल बनाउन आयोजकले जापानवासी नेपालीको उल्लेख्य सहभागिता र सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार