काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्व क्षेत्रले उठाएका एजेन्डा नेपालको राष्ट्रिय नीतिका रूपमा स्थापित भएको दाबी गरेका छन्।
कतारको दोहामा हुन लागेको एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीबारे जानकारी दिन शनिबार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले मध्यपूर्वलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै नभई एनआरएनए अभियानका महत्त्वपूर्ण उपलब्धि र नीतिगत परिवर्तनको आधारभूमिका रूपमा व्याख्या गरे।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र सेयर बजारमा १० प्रतिशत आईपीओ कोटा सुनिश्चित गर्ने उपलब्धि मध्यपूर्वका नेपालीले निरन्तर गरेको पैरवी र संघर्षको परिणाम भएको उनको भनाइ थियो। श्रमिकका आवाजलाई संस्थागत रूपमा उठाएर राज्यलाई दबाब दिएकै कारण यी अवसर प्राप्त भएको उनले बताए।
विदेशमा अलपत्र परेका नेपालीको उद्धार र ब्लड मनी सङ्कलनजस्ता मानवीय अभियानको सुरुवात पनि मध्यपूर्वबाटै भएको शर्माले स्मरण गरे। डोल्मा शेर्पा बचाउ अभियानदेखि मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नेपालीको उद्धारसम्म मध्यपूर्वका नेपालीले देखाएको एकता र सहयोग उदाहरणीय रहेको उनले बताए।

काठमाडौंको बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालय भवन निर्माणमा पनि मध्यपूर्वका नेपालीको ठूलो आर्थिक योगदान रहेको शर्माले उल्लेख गरे।
कतारबाटै पहिलो पटक मध्यपूर्व क्षेत्रीय सम्मेलनको सुरुवात भएको स्मरण गर्दै उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयनको चरणमा पुग्नु र १० अर्ब रुपैयाँको लगानी कोषमार्फत साना पुँजीलाई नेपालको विकासमा जोड्ने अभियान अघि बढ्नु पनि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
श्रमिकको सानो पुँजी एकीकृत गरी नेपालको जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर सिर्जना भएको उनको भनाइ थियो।
आगामी डिसेम्बर ११ र १२ तारिखमा दोहामा हुने नवौँ सम्मेलनले सुरक्षित श्रम, आप्रवासन र नेपालमा लगानीका अवसर विस्तार गर्न नयाँ मार्गचित्र तय गर्ने शर्माले विश्वास व्यक्त गरे।

