नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
भदौ १० को भोटेकोशी बाढीले आश्रम वरपर पुर्याएको क्षति तथा ज्येष्ठ नागरिकहरूको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै एनआरएनएको उच्चस्तरीय टोलीले प्रत्यक्ष आश्रममै पुगेर उक्त सहयोग हस्तान्तरण गरेको हो।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, एनआरएनए आइसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, कोषाध्यक्ष कृष्ण तिमल्सिना, एसिया प्रशान्त क्षेत्रका उपसंयोजक एवं एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत, एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, प्रतिष्ठानका पदाधिकारीहरू, वडाध्यक्ष तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। विदेशमा रहेका गैरआवासीय नेपालीहरूले चाडपर्वको अवसरमा मातृभूमिको विपत्तिको घडीमा ज्येष्ठ नागरिकहरूसँग खुसी साटासाट गर्ने र तत्काल राहत पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बस्नेतले जानकारी दिए ।
कार्यक्रममा बस्नेतले हालैको बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकन र आवश्यकताको पहिचान (नीड एसेसमेन्ट) गर्न टोली प्रत्यक्ष रूपमा देवीघाट आइपुगेको बताए। उनले तत्कालका लागि प्रतिष्ठानलाई सानो सहयोग हस्तान्तरण गरिएको र आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरी दीर्घकालीन पुनर्निर्माण तथा शैक्षिक पूर्वाधार निर्माणमा एनआरएनएले थप सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले मातृभूमिमा विपत्ति पर्दा विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको मन सधैँ दुख्ने र सहयोगका लागि अग्रसर हुने बताए। बाढीपहिरोका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको र त्यसबाट आफूहरू मर्माहत भएको उल्लेख गर्दै उनले चाडपर्वको बेला ज्येष्ठ नागरिकहरूको सेवामा केही राहत पुगोस् भन्ने पवित्र भावनाले यो सहयोग गरिएको स्पष्ट पारे।
शेरचनले एनआरएनएले हालसम्म विभिन्न प्रभावित क्षेत्रमा खाद्यान्न, राहत सामग्री, औषधि तथा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको स्मरण गराए। उनले एनआरएनए आइसीसीले विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको समन्वयमा विपद् राहत तथा पुनर्निर्माण कोषमार्फत करिब १० देखि ११ करोड रुपैयाँ जुटाउने अभियानलाई अघि बढाएको र यो रकम आवश्यकताका आधारमा पारदर्शी ढंगले पुनर्निर्माणमा खर्च गरिने जानकारी दिए।
ज्येष्ठ नागरिकहरूको जीवन रक्षा र सम्मान समाजको दायित्व भएको बताउँदै उनले नदी किनारमा रहेको यस प्रतिष्ठानको दीर्घकालीन सुरक्षाका लागि भौगर्भिक अध्ययन र स्थानान्तरणका विषयमा स्थानीय सरकारको योजनाअनुसार सहकार्य गर्न एनआरएनए तयार रहेको उल्लेख गरे। स्थानीय सरकार, वडा तथा जनप्रतिनिधिहरू विपत्तिको समयमा नागरिकको सेवामा अहोरात्र खटिएको भन्दै उनले प्रशंसा व्यक्त गरे। एनआरएनएले ल्याएका योजनाहरू केवल राहतमा मात्र सीमित नभई स्थानीय आवश्यकताअनुसार विद्यालय, स्वास्थ्य संस्था तथा ज्येष्ठ नागरिक आश्रमको दिगो व्यवस्थापनमा लक्षित हुने उनको भनाइ थियो।
सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विपत्तिको कठिन समयमा प्रवासमा रहेका नेपालीहरूले देखाएको आत्मीयता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। उनले बाढीका कारण विदुर नगरपालिका क्षेत्रका विद्यालय, सडक, पुल तथा देवीघाट आश्रममा व्यापक क्षति पुगेको जानकारी दिँदै पुनर्निर्माणका लागि एनआरएनएसँग हातेमालो गर्न नगरपालिका पूर्ण रूपमा तयार रहेको बताए।