मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सौराहामा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित

मंगलबार, कार्तिक १० २०८३

चितवन । पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ । पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् ।

सौराहामा पर्यटन व्यवसाय गर्दै आउनुभएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताउनुभयो । पर्यटकको आगमन बढेपछि होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ ।”

पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उहाँले पछिल्लो समय पाहुनाको चाप बढेको बताउनुभयो । सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो। पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुनालाई कोठा पु¥याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन् ।”

पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।

उहाँले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाचलगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताउनुभयो । अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको उल्लेख गर्दै उहाँले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गर्नुभयो ।

सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालनमा रहेका छन् । राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका सेवा उपलब्ध गराइने तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ ।” यसले पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह दिएको उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

उहाँले भन्नुभयो, “हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ ।”

भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उहाँले बताउनुभयो । बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उहाँको भनाइ छ ।
सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार