मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बक्स अफिस रिपाेर्ट : दीपकराज गिरी र विराज भट्टलाई पल शाहले उछिने

सोमबार, कार्तिक ९ २०८३

काठमाडौं । दसैंमा प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार दिउँसो बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

यसपालिको दसैंमा तीन सिक्वेल चलचित्र ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ रिलिज भएको थियो । बोर्डको विवरणअनुसार तीन चलचित्रले आइतबारसम्म साढे आठ करोडमाथिको व्यापार गरेका छन् । 

बक्स अफिसमा पल शाहको ‘आ बाट आमा २’ अगाडि देखिएको छ । यसले एक लाख ३१ हजार ४९१ वटा टिकट बिक्रीबापत चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । कमाइको मामिलामा दीपकराज गिरीको ‘छ माया छपक्कै २’ दोस्रो स्थानमा छ । यसले दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ ।

विराज भट्ट र समिर भट्टको एक्सन प्रधान चलचित्र ‘१२ गाउँ २’ भने कमाइमा कमजोर देखिएको छ । यसले १० दिनमा एक करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । सो अवधिमा चलचित्रका ५७ हजार ९८३ वटा टिकट बिक्री भएका छन् ।

दुई वर्षअघि प्रदर्शन भएको ‘१२ गाउँ’ले पहिलो साता नै पाँच करोडमाथिको व्यापार गरेको थियो । सिक्वेललाई भने दुई करोड कमाउन पनि धौधौ परेको छ ।

यस्तै, ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बा: एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । यस वर्षको सर्वाधिक कमाउने चलचित्र बनेको ‘गौँथली’ले २६ करोड तीन लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बा: एक योद्धा’ले तीन करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार