आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

नेकपाको ‘राष्ट्रिय जागरण अभियान’ शुरु

दुई तिहाइको सरकारले जनताको अपेक्षा पूरा नगरेपछि जागरण अभियान : प्रचण्ड

आइतबार, कार्तिक ९ २०८३

काठमाडौँ(जस)–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले शनिबारदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।
“अभियानमार्फत पार्टीका केन्द्रीय नेताको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ, जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ”, अभियान घोषणा गर्दै उनले भने, “महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ ।”
संयोजक ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरे । अभियानको उद्घाटन गर्दै शनिबार प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न महङ्गी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आम नागरिकलाई यस अभियानमा जोडिन आव्हान गरे । उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन् ।’
उनले विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा बलियो बनाउनु दायित्व रहेको पनि बताए । ‘आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो। सरकारमा रहँदा हाम्रो तर्फबाट सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहन्छौं,’ उनले भने । प्रचण्डले अभियानमार्फत जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याइ समाधानका लागि निरन्तर पहल गरिने बताए । साथै, उनले जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने समेत बताए ।
‘जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ। जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ। हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,’ उनले भने ।
पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ ः माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई स्वार्थीहरूको खेल र पुराना दलले देशमा केही गरेनन् भनी फैलाइएको गलत भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन् । पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै शनिबार नेता नेपालले २०४७ साल यता वामपन्थी र कम्युनिस्ट नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा गरेका कामहरूको विस्तृत विवरणसहित जनतामाझ प्रकाशन गर्ने घोषणा समेत गरे ।
पछिल्लो समय राजनीतिमा गलत कुराहरू धेरै प्रचारित भइरहेको र निजी स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गरिएको उनले बताए । साथै, उनले शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त सुन्दर समाज निर्माणका लागि जीवन समर्पण गरेको स्मरण गराए । पुराना पार्टी र नेताहरूले देशमा केही पनि गरेनन् भनी निर्माण गरिएको भाष्यप्रति लक्षित गर्दै उनले मनोगत ढङ्गले आरोप लगाउनुको सट्टा तथ्य र प्रमाणमा बहस हुनुपर्नेमा जोड दिए । काम गर्ने क्रममा भएका कमी–कमजोरीको दलहरूले समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
‘एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न समयमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । हाम्रै पार्टीको तर्फबाट कमरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, म आफैंले पनि त्यसपश्चात प्रधानमन्त्री भएर देश हाँक्ने जिम्मेवारी पाएँ । संघ, प्रदेश र पालिकासम्म हाम्रा नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण हामी छिट्टै प्रकाशित गर्नेछौँ । ०४७ सालयता कम्युनिस्टहरूले के–के जिम्मेवारी पूरा गरे भन्ने प्रश्नको जवाफ सिधै देख्न सकिने गरी ल्याउँछौँ । आज गरिएका जोखिमपूर्ण र राम्रा कामहरूलाई ढाकछोप गर्ने, चर्चा र जस दिन नचाहने तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्ति व्याप्त छ ।’
उनले राष्ट्रिय हित र देशको स्वाभिमानमाथि आँच पुर्याउने कुनै पनि कार्य पार्टीका लागि स्वीकार्य नहुने स्पष्ट पारे । राष्ट्रियताको मुद्दालाई सर्वोच्च प्राथमिकतामा राखेर जनतामा चेतना र जागरण फैलाउनकै लागि पार्टीले यो अभियान सुरु गरेको उनले जानकारी दिए । उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेता नारायण काजी श्रेष्ठलगायतका अग्रज नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार