=सोमनाथ सापकोटा
बडा दशैँ नेपालीहरूको महान् सांस्कृतिक तथा धार्मिक पर्व हो। यो केवल टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चाड मात्र होइन, परिवारको पुनर्मिलन, पुस्तान्तरण, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक पनि हो। माता दुर्गा भवानीको आराधना, मान्यजनबाट टीका तथा जमरा ग्रहण, पारिवारिक भेटघाट र आपसी सद्भावमार्फत दशैँले नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै आएको छ।
नेपालभित्र मात्र होइन, विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली समुदायले पनि दशैँलाई उत्तिकै उत्साहका साथ मनाउँदै आएका छन्। युरोप, अमेरिका, बेलायत, अस्ट्रेलिया, एसिया तथा मध्यपूर्वमा रहेका नेपालीहरूले आफ्नो व्यस्त जीवन, फरक सामाजिक परिवेश र सीमित साधनका बाबजुद सामूहिक रूपमा दशैँ मनाउनु नेपालको संस्कृति र पहिचानप्रतिको गहिरो सम्बन्धको प्रमाण हो।
प्रवासमा दशैँ मनाउनुको अर्थ केवल आफ्नो देशको सम्झनामा रमाउनु होइन। यो आफू जन्मिएको समाज, परिवार, भाषा, संस्कार र सांस्कृतिक जरोसँग जोडिइरहने माध्यम पनि हो। विदेशमा रहेका नेपालीहरूका लागि दशैँले आफ्ना बालबालिकालाई नेपाली संस्कृति चिनाउने, परिवारका सदस्यबीच सम्बन्ध सुदृढ बनाउने र नेपाली समुदायभित्र आपसी सहयोग तथा एकता बढाउने अवसर प्रदान गर्छ।
तथापि, दशैँ र तिहारजस्ता हाम्रा मौलिक पर्वहरूलाई प्रवासमा यसको मौलिक स्वरूपमा बचाइराख्न केही अप्ठ्यारा परिस्थितिहरू र गम्भीर चुनौतीहरू पनि छन्। प्रवासको व्यस्त जीवन, सांस्कृतिक घुलमिल र आधुनिकताका नाममा कतिपय अवस्थामा हाम्रो मौलिक संस्कृति, धार्मिक परिधि र परम्परालाई छोड्दै जाने जोखिम बढेको छ। आधुनिक जीवनशैलीको प्रभावमा परेर पर्वको मर्म बिर्सनुभन्दा दशैँको लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक महत्त्वको परिधिभित्रै रहेर परम्परागत रूपमा मनाउनु नै यसको गरिमा जोगाउने उत्तम उपाय हो।
नेपाली मौलिक चाडपर्वहरू, विशेष गरी बडा दशैँ र तिहारका अवसरमा नेपालबाट राष्ट्रिय स्तरका स्थापित कलाकारहरू विश्वका विभिन्न देशमा पुगेर सांस्कृतिक प्रस्तुतिहरू दिने अभ्यास बढ्दै गएको छ। यस्ता कार्यक्रमहरूले एकातिर नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षणमा सहयोग पुर्याएका छन् भने अर्कातिर प्रवासमा मनाइने दशैँ-तिहारलाई अझ मौलिकतामा ढाल्न र प्रवासी नेपालीहरूलाई आफ्नो माटोसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
आजको पुस्ता विश्वव्यापीकरण, डिजिटल प्रविधि र बहुसांस्कृतिक समाजमा हुर्किरहेको छ। विदेशमा जन्मिएका वा सानै उमेरमा विदेश पुगेका नेपाली मूलका बालबालिकाका लागि दशैँको धार्मिक, ऐतिहासिक र सामाजिक अर्थ स्वतः बुझिने विषय होइन। उनीहरूलाई दशैँको महत्त्व, यसको पौराणिक पृष्ठभूमि, टीका र जमराको प्रतीकात्मक अर्थ, परिवारप्रतिको सम्मान तथा सामाजिक सद्भावबारे बुझाउन आवश्यक छ।
हामीले नयाँ पुस्तालाई केवल टीका लगाउने, जमरा राख्ने र भोज खाने प्रक्रियामा सीमित राख्नु हुँदैन। दशैँ किन मनाइन्छ, यसले के सन्देश दिन्छ र हाम्रो जीवनमा यसको के महत्त्व छ भन्ने कुरा पनि बुझाउनुपर्छ। घरमा नेपाली भाषा बोल्ने, बालबालिकालाई दशैँसम्बन्धी कथा सुनाउने, नेपाली गीत, संगीत, साहित्य र कलासँग परिचित गराउने तथा सामूहिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अभ्यासले उनीहरूमा आफ्नो पहिचानप्रति आत्मीयता बढाउँछ।
लामो समयदेखि धार्मिक र सांस्कृतिक हिसाबले चलिआएका परम्परागत रीतिरिवाजलाई परिमार्जित तरिकाले पालना गर्दै दशैँ मनाउँदा यसको वास्तविक महत्त्व अझ बढ्न जान्छ। चाडपर्वलाई आधुनिकताको नाममा भड्किलो बनाउनुभन्दा दशैँको पौराणिक र धार्मिक परिधिभित्रै रहेर परम्परागत रूपमा सेलिब्रेट गर्नु आवश्यक छ। यसरी आफ्नो मौलिक परम्परा र धर्म-संस्कृतिको मर्मलाई कायम राख्दै दशैँ मनाउन सकियो भने प्रवासमा जन्मिएका र हुर्किरहेका दोस्रो पुस्तालाई सही अर्थमा संस्कृति हस्तान्तरण गर्न सकिन्छ, जसले गर्दा हाम्रा पर्वहरूको गरिमा र महत्त्व अझ उच्च रहनेछ।
दशैँसँग जोडिएको अर्को अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण विषय बलिप्रथा हो। नेपाली समाजमा धार्मिक आस्था र परम्पराका आधारमा पशुबलि दिने चलन लामो समयदेखि रहँदै आएको भए तापनि आज अन्तर्राष्ट्रिय जगतमै यस प्रथामाथि गम्भीर प्रश्नहरू उठिरहेका छन्। पशु कल्याण, करुणा र अहिंसाको विश्वव्यापी दृष्टिकोणबाट उठाइएका यस्ता प्रश्नहरूलाई हामीले मनन गर्नैपर्छ।
दशैँको वास्तविक महिमा र महत्त्वलाई विश्वसामु स्थापित गर्न बलिप्रथालाई पूर्ण रूपमा रोक्नु र यसको अन्त्य गर्नु (स्टप गर्नु) आजको समयको आवश्यकता हो। धर्म र संस्कृतिको मूल उद्देश्य सद्भाव, नैतिकता, सकारात्मकता र प्राणीमात्रको कल्याण हो। त्यसैले पशुबलिको पूर्ण अन्त्य गर्दै त्यसको सट्टा फूल, फलफूल, नरिवल, कुभिण्डो, जमरा, दीप प्रज्वलन, दुर्गा पूजापाठ तथा अन्य सात्विक र प्रतीकात्मक अर्पणलाई अगाडि बढाउनुपर्छ।
बलिप्रथाको अन्त्य र करुणाको प्रवर्द्धनले परम्पराप्रति सम्मान कायम राख्दै अन्तर्राष्ट्रिय जगतमा दशैँको छवि अझ उच्च र अनुकरणीय बनाउनेछ। असत्यमाथि सत्यको र नकारात्मकतामाथि सकारात्मकताको विजयको सन्देशलाई करुणा र अहिंसासँग जोड्न सके मात्र दशैँ अझ समावेशी, मानवीय र अर्थपूर्ण बन्नेछ।
विश्वका धेरै देशले आफ्ना सांस्कृतिक पर्वहरूलाई पर्यटन, सांस्कृतिक पहिचान र आर्थिक अवसरसँग जोडेर अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेका छन्। नेपालसँग पनि बुद्ध, हिमाल, प्रकृति, योग, ध्यान, कला, संस्कृति र विविध परम्पराको अनुपम सम्पदा छ। जब हामी बलिप्रथाको अन्त्य गरी दशैँलाई हिंसाविहीन, करुणापूर्ण र मौलिक पर्वका रूपमा अगाडि बढाउँछौँ, तब अन्तर्राष्ट्रिय जगतले पनि दशैँको वास्तविक महत्त्वलाई अझ गहिरो गरी बुझ्नेछ।
दशैँ र तिहारजस्ता हाम्रा मौलिक पर्वहरूलाई नेपालको एउटा अद्वितीय (Unique) पर्वका रूपमा संसारभर ब्रान्डिङ गर्न सकिन्छ। यसका माध्यमबाट नेपालको संस्कृति, कला र खानपानको प्रचारप्रसार मात्र हुँदैन, बरु नेपालको पर्यटन प्रवर्द्धन (Tourism Promotion) र राष्ट्रिय पहिचान विस्तारमा समेत ठूलो सहयोग पुग्छ।
विदेशमा रहेका नेपाली संघसंस्था, गैरआवासीय नेपाली समुदाय, नेपाली दूतावास, पर्यटनसम्बन्धी निकाय, सञ्चारमाध्यम र निजी क्षेत्रबीच सहकार्य गरेर दशैँलाई अन्तर्राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा प्रवर्द्धन गर्न सकिन्छ। डिजिटल माध्यम, छोटा वृत्तचित्र, सांस्कृतिक प्रदर्शनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत दशैँको सकारात्मक सन्देशलाई विश्वसामु पुर्याएर नेपाललाई नयाँ पहिचान दिन सकिन्छ।
विदेशमा बसोबास गर्ने नेपालीहरू नेपालको संस्कृति, भाषा, कला, परम्परा र पर्यटनलाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सेतु हुन्। उनीहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक सञ्जाल, सामाजिक संस्था, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय सम्बन्धमार्फत नेपालको सकारात्मक पहिचान विस्तार गर्न सक्छन्।
दशैँजस्ता पर्वमा आयोजना गरिने कार्यक्रमलाई आधुनिकताको भड्किलोपनाभन्दा पनि यसको धार्मिक तथा सांस्कृतिक परिधिभित्र रहेर अझ व्यवस्थित, परिमार्जित र परम्परागत तरिकाले मनाउन सके यसको महत्त्व अझ बढ्नेछ। यसले प्रवासमा जन्मिएका र हुर्किरहेका दोस्रो पुस्तालाई सही अर्थमा संस्कृति हस्तान्तरण गर्न मद्दत गर्नेछ।
बडा दशैँ हाम्रो विगतसँग जोडिएको पर्व हो, वर्तमानमा आत्मीयता र सद्भाव बाँड्ने अवसर हो र भविष्यका पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्ने माध्यम हो। परम्परागत धार्मिक-सांस्कृतिक मर्मको रक्षा गर्दै, पशुबलि पूर्ण रूपमा बन्द गरी करुणाको बाटो समात्दै, र आधुनिक प्रविधिको सही उपयोग गर्दै दशैँलाई नेपालको विश्वव्यापी सांस्कृतिक पहिचानको हिस्सा बनाउनु आजको आवश्यकता हो।हाम्रो साझा लक्ष्य हुनुपर्छ— नयाँ पुस्ताले आफ्नो मूल संस्कृति बुझोस्, संसारले नेपालको मौलिकता चिनोस् र नेपाली पहिचान विश्वभर सम्मानित होस्।
दशैँ हाम्रो आस्था हो, हाम्रो पहिचान हो र हाम्रो पुस्तान्तरणको सेतु हो। परम्पराको सम्मान गरौँ, मौलिकता बचाऔँ, करुणा र सद्भावलाई आत्मसात् गरौँ, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गरौँ र दशैँमार्फत नेपाललाई विश्वमञ्चमा चिनाऔँ।
विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा नेपाली मूलका नयाँ पुस्तामा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र सकारात्मक परिवर्तनको हार्दिक शुभकामना।
लेखक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद – NRNA ICC का प्रवक्ता हुनुहुन्छ।)