काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् ।
७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा ठोस परिवर्तन गरिने घोषणा गरेका हुन् ।
उनले भने, ‘नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशकअघिको कानुनमा सुधार गर्नेगरी नयाँ प्रहरी विधेयकमा काम गरिरहेका छौँ । कानुनमा उत्प्रेरित गर्नेगरी सेवा अवधिमा परिवर्तन गरिनेछ । आवास, स्वास्थ्य लगायतका सेवा सुविधा बढाइने, सरुवा बढुवालाई व्यवस्थित बनाउने, हाकिमलाई रिझाएर होइन काम र नतिजाको आधारमा मूल्याङ्कन गर्ने प्रणाली बनाउनेछौँ । साथै प्रहरीका सबै कार्यलाई डिजिटलाइज गर्ने व्यवस्था मिलाउने काम अगाडि बढाइरहेका छौँ ।’
गृह मन्त्रालयले अगाडि बढाएको नयाँ कानुनमा प्रहरीको मनोबल उच्च राख्ने व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भने, ‘हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली स्थापना गरिनेछ ।’
उनले प्रहरीको आवास, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा वृद्धि गर्नुका साथै सरुवा–बढुवा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने बताए । साथै, प्रहरी प्रशासनका सम्पूर्ण कार्यहरूलाई पूर्ण डिजिटलाइज गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान जोगाउन र उनीहरूको लामो अनुभव, ज्ञान तथा सिपलाई राज्यले उपयोग गर्ने नीति अघि सारेको उनले बताए । विपद् उद्धारमा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध गरिएको स्मरण गराउँदै उनले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव अघि बढाइएको जानकारी दिए ।
‘नेपाल प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधार र प्रविधिमा लगानी गर्नु मेरो पहिलो प्राथमिकता हो,’ उनले भने ।
नागरिकको बढ्दो अपेक्षा पूरा गर्न प्रहरी संगठनले पनि सरकारको ुस्पिडु र ुस्पिरिटु अनुसार आफूलाई व्यावहारिक तथा व्यावसायिक रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
उनले गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानका हरेक चरणमा आम नागरिकलाई केन्द्रमा राख्ने र बोलीचाली तथा आचरणलाई नागरिकमैत्री बनाउने बताए । भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध कुनै पनि सम्झौता नगरी अपराध नियन्त्रणमा कडा नीति अवलम्बन गर्ने बताए ।
भीड नियन्त्रण तथा बल प्रयोग गर्दा आवश्यकता, आनुपातिकता र जवाफदेहिताको सिद्धान्तलाई कडाइका साथ पालना गर्ने बताए ।
प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् ।
७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो अब कुनै निश्चित सीमामा सीमित नरहेकाले नेपाल प्रहरीको क्षमता विस्तार अपरिहार्य भएको बताए ।
गृहमन्त्री गुरुङले वि.स.२०१२ मा प्रहरी ऐन जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस संगठनको वार्षिक उत्सव मात्र नभई ७१ वर्ष लामो सेवा, त्याग र बलिदानको सम्मान भएको बताए । उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सम्पूर्ण अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरे ।
देशमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनमा प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले विपद्का कठिन क्षणमा प्रहरीको समर्पण उच्च रहेको बताए ।
रसुवाको भोटेकोशी, मनाङ, मुस्ताङ तथा बुढीगण्डकीमा आएको भीषण बाढीको स्मरण गर्दै गृहमन्त्रीले आफ्नै सहकर्मीले ज्यान गुमाउँदा र बेपत्ता हुँदा समेत विचलित नभई उद्धारमा खटिने प्रहरी जनशक्तिको धैर्य र समर्पणको सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।
उनले भने, ‘देशमा शान्ति सुरक्षा कायम गर्ने एवं अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी खटिँदै आएको छ । यसका साथै विपद्को समयमा तपाईँहरूले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण छ । गत भदौ १० गतेको रसुवा भोटेकोशी, सो पश्चात् मनाङ, मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगत विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदा समेत विचलित नभई खटिनुभएका तपाईँहरूको धैर्य र समर्पणलाई मैंले उच्च मूल्याङ्कन गरेको छु ।’
अपराधले भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै उनले सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्यलाई तीव्रता दिइएको जानकारी दिए । हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा आफ्ना भारतीय समकक्षीसँगको छलफलमा सूचना आदानप्रदान र आधुनिक प्रविधिको उपयोगमा जोड दिएको उनले बताए । यस्ता क्षेत्रीय संयन्त्रबाट प्राप्त अवसरलाई नेपालको आन्तरिक सुरक्षा सुदृढ बनाउन प्रभावकारी ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।