माल्टा। नेपाली लोकसंगीतका लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुतिसहित माल्टामा शुक्रवार दसैं विशेष कार्यक्रम आयोजना हुँदैछ। तन्त्र इभेन्ट्सको आयोजनामा शुक्रबार, १६ अक्टोबर २०२६ मा जिरास्थित अर्फियम थिएटरमा हुने कार्यक्रमलाई लिएर माल्टामा रहेका नेपालीमाझ उत्साह बढेको छ।
नेपाली समाजका समसामयिक विषय, मौलिक कथा र जनजीवनलाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्दै आएका सपुतले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। उनका चर्चित गीत तथा सशक्त प्रस्तुतिमार्फत प्रवासमा रहेका नेपालीलाई नेपाली भाषा, संगीत र संस्कृतिसँग जोड्नुका साथै दसैंको उल्लास थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रकाश सपुतसँगै डिजे स्काजीको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएका छन्। दसैंको अवसरमा नेपाली समुदायलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
तन्त्र इभेन्ट्सका सञ्चालक समुद्र भट्टराईको पहल तथा संयोजनमा हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन्। कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको छ। आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त रकमको केही हिस्सा परोपकारी कोषका लागि छुट्याइनेछ।
माल्टामा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीका लागि यो कार्यक्रम दसैंको खुसी साटासाट गर्ने, नेपाली संगीतमा रमाउने र आफ्नो सांस्कृतिक पहिचानसँग नजिकिने अवसरका रूपमा रहने अपेक्षा गरिएको छ।
कार्यक्रम शुक्रबार, १६ अक्टोबर २०२६ मा ग्जिरास्थित अर्फियम थिएटर, माल्टा मा आयोजना हुनेछ। कार्यक्रममा मुख्य आकर्षणका रूपमा प्रकाश सपुतको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ भने डिजे स्काजीले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रमको आयोजक तन्त्र इभेन्ट्स रहेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा टिकट खरिदका लागि +३५६ ७७२०७७३ र +३५६ ७७६८९५५२ मा सम्पर्क गर्न सकिनेछ।
कार्यक्रमका टिकट अनलाइनका साथै माल्टाका विभिन्न नेपाली पसल तथा रेस्टुरेन्टमा उपलब्ध रहेको आयोजकले जानकारी दिएका छन्। आयोजकले माल्टामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दसैंको खुसी, आत्मीयता र नेपाली सांगीतिक रौनक एकसाथ बाँड्न आग्रह गरेका छन्। यस कार्यक्रमले प्रवासमा नेपाली कला, संस्कृति र संगीतप्रतिको अपनत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।