विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। आईपीओ निष्कासनपछि कम्पनीले पहिलोपटक लाभांश वितरण गर्न लागेको हो।
बिहीबार कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले लाभांशसँगै कम्पनीको वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति, पुँजी वृद्धि तथा संस्थागत सुशासनसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।
न्यौपाने नेतृत्वको सञ्चालक टोलीले अघिल्लो वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा दुई अङ्कको लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। यसपटक १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएसँगै उक्त प्रतिबद्धता पूरा भएको कम्पनीले जनाएको छ। जलविद्युत् क्षेत्रमा लगानी विस्तार, आयोजना सञ्चालन र सेयरधनीलाई प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित अघि बढिरहेको कम्पनीका लागि यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले व्यवस्थापनले गरेको घोषणाअनुसार सेयरधनीलाई दुई अङ्कको बोनस शेयर वितरण गर्न सफल भएको बताए। उनले आगामी वर्ष अझ बढी प्रतिफल दिने लक्ष्यसहित कम्पनीले काम गरिरहेको जानकारी दिँदै उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान केन्द्रित गरिएको बताए।
घिमिरेका अनुसार कम्पनीको आगामी योजना तत्कालको लाभांश वितरणमा मात्र सीमित छैन। निर्माणाधीन जलविद्युत् आयोजनालाई अगाडि बढाउँदै कम्पनीको व्यावसायिक क्षमता विस्तार गर्ने र दीर्घकालीन रूपमा सेयरधनीको प्रतिफल बढाउने लक्ष्य व्यवस्थापनले लिएको छ।
एनआरएनए आईसीसी उपाध्यक्षसमेत रहेका न्यौपानेको नेतृत्वमा कम्पनीले जलविद्युत् क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना बनाएको छ। कम्पनीसँग हाल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको आयोजनाबाहेक थप दुईवटा जलविद्युत् आयोजना निर्माणाधीन रहेको बताइएको छ। ती आयोजनाको निर्माण तथा सञ्चालन योजनाले आगामी दिनमा कम्पनीको उत्पादन क्षमता र व्यावसायिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षित वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। सञ्चालक समितिका निर्णय तथा कामकारबाही अनुमोदन गर्नुका साथै संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन र सञ्चालक समितिको भत्ता तथा सेवा सुविधासम्बन्धी प्रस्तावसमेत सभाले पारित गरेको छ।
बोनस शेयर जारी गरेपछि कम्पनीको पुँजी वृद्धि गर्न अधिकृत, जारी तथा चुक्ता पुँजी बढाउने प्रस्ताव पनि पारित भएको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव वा परिमार्जनको निर्देशन आएमा त्यसअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत गरिएको छ। लगानी अनुमोदन तथा आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको कम्पनीले जनाएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले गत वर्ष व्यक्त गरेको प्रतिबद्धताअनुसार सेयरधनीलाई दुई अङ्कको लाभांश दिन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा दक्ष व्यवस्थापन, पारदर्शिता, संस्थागत सुशासन र आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत कम्पनीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
उत्पादन वृद्धि, सञ्चालन लागत न्यूनीकरण र दिगो प्रतिफल सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताउँदै उनले यस वर्ष बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का कारण आयोजनामा कुनै क्षति नपुगेको जानकारीसमेत गराए।
विकाश हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ स्थित माछाखोलामा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ माघ १७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो। कम्पनीले उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री गर्दै आएको छ।
आईपीओ निष्कासनपछि पहिलोपटक लाभांश वितरण गर्न लागेको कम्पनीले १० प्रतिशत बोनस शेयर पारित गरेसँगै सेयरधनीलाई प्रतिफल दिने आफ्नो योजना कार्यान्वयनमा ल्याएको छ। सञ्चालनमा रहेको आयोजना, निर्माणाधीन दुई आयोजनाको प्रगति र आगामी वर्ष अझ बढी लाभांश दिने व्यवस्थापनको लक्ष्यले कम्पनीको आगामी व्यावसायिक यात्रालाई थप महत्त्वपूर्ण बनाएको छ।