काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राई अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनी अस्पताल भर्ना भई एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ।
हाल राईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी अस्पतालमै उपचाररत छन् । शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरेका छन्।
स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत रहँदा पनि पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र समर्थनले आफूलाई हौसला मिलेको राईले बताएका छन्। जारी १५औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका उम्मेदवार पनि हुन् । तर अस्पताल भर्ना भएपछि उनले आफैंलाई भोट हाल्न नपाउने भएका छन् ।
स्वास्थ्य अवस्थाका कारण सबैको फोन उठाउन नसकेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमासमेत मागेका छन्। साथै, आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन्।