शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३

सांसद खगेन्द्र सुनारको खुला चुनौती,‘प्रमाणित भए एक मिनेट पनि पदमा बस्दिनँ’, एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको सांसद सुनारको दाबी

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्धका आरोपको निष्पक्ष छानबिन गर्न प्रहरीलाई खुला चुनौती दिएका छन्। गैरकानुनी काम वा आर्थिक अनियमितता प्रमाणित भए पदमा नबस्ने घोषणा गर्दै उनले आफूलाई फसाउने प्रयास भइरहेको आशंकासमेत व्यक्त गर्दै यस्ता दिवा सपना नदेख्न चेतावनी दिएका छन ।

सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूविरुद्ध प्रमाण भए कानुनी कारबाही गर्न चुनौती दिएका हुन । आरोप र हल्लाका आधारमा आफूलाई दोषी देखाउने प्रयास भइरहेको जनाउदै हल्लाको पछाडी नलाग्न आफ्ना शुभेच्छुकलाई अपिल गरेका छन ।

‘बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिनँ,’ सुनारले सामाजिक सन्जालमा एक बिज्ञपति निकाल्दै लेखेका छन्। उनले आफूविरुद्ध मात्र नभई प्रहरी र कर्मचारीतन्त्रभित्र हुने भनिएका अनियमितताको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

सुनारका अनुसार पछिल्लो समय उनीमाथि प्रहरी निगरानी बढाइएको छ। सीआईबीका एक प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन भएको, बैंक तथा टेलिफोन विवरण र परिवार तथा आफन्तको सम्पत्तिसम्बन्धी जानकारी संकलन गर्न खोजिएको उनको दाबी छ। ह्वाट्सएप र फेसबुकसँग सम्बन्धित विवरण माग्नसमेत प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेका छन्। यद्यपि, यी दाबीबारे प्रहरीको आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।

छानबिन समितिको प्रतिवेदन आउनुअघि नै आफूलाई फसाउने वा समाप्त पार्ने प्रयास भइरहेको आशंका व्यक्त गर्दै सुनारले अनुसन्धानबाट नभाग्ने स्पष्ट पारेका छन्। आफूले गल्ती गरेको प्रमाणित भए कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको उनको भनाइ छ।

सुनारले सात वर्षको आन्दोलनका क्रममा आफू दर्जनौँ पटक प्रहरी हिरासतमा परेको तथा धरपकड, मुद्दा र कुटपिट भोगेको बताएका छन्। विगतका आन्दोलनका तस्बिर र भिडियोलाई अपराधीकरण गरेर आफूविरुद्ध उठेका प्रश्नबाट ध्यान मोड्न खोजिएको उनको आरोप छ।

उनले परिवारमाथि भएको अन्याय र न्यायको संघर्षले आफूलाई आन्दोलनमा ल्याएको उल्लेख गर्दै जनप्रतिनिधि बनेपछि देशको अवस्था देखेर थप चिन्तित भएको बताएका छन्।

कमजोर उत्पादन क्षमता, बढ्दो वैदेशिक ऋण, सरकारी संयन्त्रको कमजोरी र सार्वजनिक स्रोतसाधनको दुरुपयोगप्रति प्रश्न उठाउँदै सुनारले सुशासनका लागि राज्यका निकाय जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्। उनले एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबीसमेत गरेका छन्।

सुनारले प्रहरी र कर्मचारीतन्त्रमा सुधार नगरी सुशासन सम्भव नहुने बताएका छन्। प्रहरी र श्रीमती संघसँग सम्बन्धित भनिएको असुली प्रकरणबारे थप विषय सार्वजनिक गर्ने संकेत गर्दै उनले त्यसको अध्ययन भइरहेको उल्लेख गरेका छन्। यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि र सम्बन्धित पक्षको प्रतिक्रियाभने आउन बाँकी छ।

‘प्रहरी र कर्मचारी नसुधारी सुशासन सम्भव छैन,’ सुनारले लेखेका छन्। एउटा सत्तारूढ दलका सांसदले समेत प्रहरीको व्यवहारमाथि प्रश्न उठाउनुपर्ने अवस्था रहेको भन्दै उनले सर्वसाधारणले कस्तो अवस्था भोग्नुपरेको होला भन्ने प्रश्न गरेका छन्।

आफूविरुद्ध प्रमाण भए कानुनी कारबाही गर्न चुनौती दिएका सुनारले आफ्नो संघर्षबाट पछि नहट्ने संकेत गर्दै लेखेका छन्, ‘अपमानको जिन्दगीभन्दा सम्मानको मृत्यु प्यारो छ।’

सुनारका आरोप र दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्। अब उनीमाथि उठेका प्रश्नको जवाफ अनुसन्धानबाट खोजिने हो वा उनले प्रहरी तथा कर्मचारीतन्त्रमाथि उठाएका प्रश्नको पनि निष्पक्ष छानबिन हुन्छ ?
त्यसले यस प्रकरणको आगामी दिशा तय गर्नेछ। आरोप होइन, प्रमाण र कानुनी प्रक्रियाबाटै सत्य स्थापित हुनुपर्ने विषय अहिले केन्द्रमा आएको छ र त्यो जरुरी पनि छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार