बिहिबार, असोज २२ २०८३
काठमाडौँ(जस)–नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको चौथो दिन बुधबार बसेको बन्दसत्रले पार्टीको आगामी नीति, राजनीतिक दिशा, संगठन र आर्थिक व्यवस्थासँग सम्बन्धित चारवटा महत्वपूर्ण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण निर्धारित समयभन्दा करिब साढे पाँच घण्टा ढिला सुरु भएको बन्दसत्रले प्रतिवेदन पारित गर्दै बिहीबार हुने नेतृत्व चयनको निर्वाचनका लागि बाटो खुला गरेको हो ।
बुधबार बिहान साढे १० बजेका लागि बोलाइएको बन्दसत्र वर्षाका कारण अपराह्न ४ बजे मात्रै सुरु भएको थियो । बन्दसत्रले सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव’, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको हो ।
बन्दसत्रमा बोल्दै नेता भीष्मराज आङ्देम्बेले १५औँ महाधिवेशन कांग्रेसको इतिहासमा नौलो महाधिवेशनका रूपमा स्थापित हुने बताए । उनले महाधिवेशनले पार्टीको नीति, सिद्धान्त र सोचमा व्यापक बदलाव ल्याउने विश्वास व्यक्त गरे । कांग्रेस अब सरकार बनाउने पार्टीमा मात्र सीमित नभई मुलुक निर्माणको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए । बन्दसत्रले प्रतिवेदन पारित गरेसँगै महाधिवेशनको मुख्य ध्यान नेतृत्व चयनतर्फ केन्द्रित भएको छ । बुधबार उम्मेदवारी फिर्ता र दाबी–विरोधको प्रक्रिया पनि अघि बढ्यो । निर्वाचन समितिले उम्मेदवारी फिर्ता र दाबी–विरोधका लागि तोकिएको समयसीमा दुई घण्टा थप गरेको थियो ।
उम्मेदवारी फिर्ता लिने क्रममा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरे । उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि थापाकै आग्रहमा उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तापछि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । खड्गीले भने आफ्नो उम्मेदवारी कायम राख्दै लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् । सभापतिका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा निश्चित भएपछि कांग्रेस महाधिवेशनको निर्वाचन थप रोचक बनेको छ ।
महामन्त्रीसहित अन्य पदमा पनि प्रतिस्पर्धा तीव्र देखिएको छ । नैनसिंह महर, डिला संग्रौला पन्त र शंकर तिवारीलगायतका नेताहरूले आ–आफ्नो एजेन्डासहित नेतृत्वमा दाबी गरेका छन् । विभिन्न पदमा उम्मेदवारी दिएका केही नेताको नाम सूचीमा नपरेको गुनासो पनि आएको थियो । निर्वाचन समितिले प्रक्रिया नपुगेका कारण केही नाम छुट्न सक्ने र दाबी–विरोधको प्रक्रियाबाट त्यसलाई सच्याउन सकिने जनाएको छ ।
महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार निर्वाचनमा सात हजार २५५ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिको संख्या धेरै भएकाले मतदानलाई सहज र व्यवस्थित बनाउन काठमाडौँका तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।
बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा जनसम्पर्क समितिका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्नेछन् । गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि भने प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ । १५औँ महाधिवेशनमा डिजिटल प्रचारको चर्चा भए पनि महाधिवेशन स्थलमा परम्परागत शैलीका पर्चा–पम्प्लेटको प्रयोग बढी देखिएको छ । विभिन्न उम्मेदवार र समूहले आफ्ना पक्षमा मत माग्दै प्रचारलाई तीव्र बनाएका छन् । बिहीबार हुने मतदानबाट सभापतिसहित केन्द्रीय नेतृत्वका विभिन्न पदाधिकारी र सदस्य चयन हुनेछन् ।
समूह र गुटको राजनीति अन्त्य भएको घोषणा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा समूह, कोइराला समूह, पौडेल समूहलगायतका नाममा हुँदै आएको गुटगत राजनीति अब समाप्त भएको बताए ।
‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नविशेष बुधबारदेखि सबै सकियो,’ उनले भने, ‘फिनिस्ड । यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो ।’ थापाले पार्टीभित्र अब कुनै समूह विशेषको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । उनले कांग्रेसलाई आफूहरूको लागि केवल राजनीतिक संगठन नभई परिवार र घरजस्तो रहेको बताए । पार्टीसँग जोडिएको मूल्य र विचारका कारण आफूले कांग्रेस छाडेर नयाँ पार्टी बनाउने प्रस्ताव अस्वीकार गरेको उनको भनाइ थियो ।
‘पार्टी मेरो निम्ति एउटा घरजस्तो पनि भयो, परिवारजस्तो पनि भयो । पार्टी भनेको केवल एउटा संगठनको संरचना वा कार्यालय मात्र होइन,’ उनले भने, ‘यससँग जोडिएको मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ थापाले विगतमा आफूलाई नयाँ पार्टी गठन गरी नेतृत्व गर्न गरिएको प्रस्तावको प्रसंगसमेत सुनाए । उनका अनुसार २०७० सालतिर एक जना अभियन्ताले नयाँ पार्टी गठन गरी आफूलाई सभापति बन्न प्रस्ताव गरेका थिए । तर कांग्रेसका मूल्य र परम्परासँग आफ्नो सम्बन्ध गहिरो रहेको भन्दै आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए ।
थापाले कांग्रेसको मूल्य र विचारप्रति असन्तुष्टि नभए पार्टीभित्रका गलत व्यवहार, निर्णय र नीतिविरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले पार्टी सभापति र सामान्य कार्यकर्ताबीच अधिकार र हैसियतको आधारभूत समानता रहेको पनि बताए । ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन, यो केवल एउटा जिम्मेवारी हो, त्यो पनि समय तोकेर दिएको जिम्मेवारी हो,’ थापाले भने, ‘हामी सबै बराबर हौँ।’
थापाले कांग्रेसको सुधार पार्टीका तल्लो तहका सदस्यबाटै सुरु गर्नुपर्ने बताए । पार्टी सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा ठूलो परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । पार्टीको सार्वभौमसत्ता क्रियाशील सदस्य र व्यापक अर्थमा कांग्रेसका समर्थक तथा शुभेच्छुकमा रहेको उल्लेख गर्दै उनले संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए । उनले आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा आफ्नो २० प्रतिशत समय र पार्टीलाई राष्ट्रिय रूपमा सुदृढ बनाउन ८० प्रतिशत समय खर्च गर्ने लक्ष्य रहेको बताए ।
थापाले सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारले लोकतन्त्रमा नयाँ चुनौती थपेको बताए । उनले सामाजिक सञ्जालका एल्गोरिदमले मानिसलाई आफूले रुचाएका विषय र विचारकै सीमित घेराभित्र राख्ने भएकाले बहुविचार र विचारको प्रतिस्पर्धा कमजोर हुनसक्ने बताए । ‘डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा बहुविचार हुन्, विचारको बीचमा प्रतिस्पर्धा हो,’ उनले भने, ‘तर सामाजिक सञ्जाल बाइ डिजाइन कस्तो भएको छ भने त्यहाँभित्र बहुविचारहरूको प्रतिस्पर्धा छैन ।’ सामाजिक सञ्जालमा तथ्य र तर्कभन्दा भावनात्मक विषय बढी प्रभावकारी बन्ने गरेको भन्दै उनले नेपालमा मात्रै नभई विश्वभरका लोकतन्त्रले यस्तो चुनौती सामना गरिरहेको बताए । थापाले कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भए पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए । नेपाल अहिले इतिहासकै सबैभन्दा युवा अवस्थामध्ये रहेको उल्लेख गर्दै उनले युवालाई विगतको इतिहास मात्रै सुनाएर कांग्रेससँग जोड्न नसकिने बताए । ‘उसलाई हामीले इतिहास बताउनुपर्छ, तर नयाँ इतिहास रच्छौँ भन्ने कुराको विश्वास पनि दिलाउन सक्नुपर्छ,’ उनले भने ।
उनले आफूले कांग्रेसको सदस्यता लिँदा विगतमा पार्टीले गरेका कामका कारण नभई भविष्यमा कांग्रेसले केही गर्न सक्छ भन्ने विश्वासका कारण सदस्य बनेको बताए । थापाले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा भइरहेको विवाद अब अन्त्य गर्न कांग्रेस नेताहरूलाई आग्रह गरे । उनले यो विषय राजनीतिक भएकाले अदालतमा पटक–पटक जानेभन्दा पार्टीभित्रै समाधान खोज्नुपर्ने बताए । उनले आफू अदालतबाट विशेष महाधिवेशन अवैध भएको फैसला आए पनि त्यसलाई स्वीकार गरेर १५औँ महाधिवेशनमा फर्कन तयार रहेको बताएको स्मरण गराए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij