आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२५ वर्षको मध्यपूर्व अनुभव बोकेर कांग्रेस केन्द्रिय सदस्यमा भुवानी तिमिल्सिनाको उम्मेदवारी

‘प्रवासको अनुभव अब पार्टीको नीति निर्माणमा प्रयोग गर्न चाहन्छु’ : तिमल्सिना

आइतबार, असोज १८ २०८३

काठमाडौं,नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व क्षेत्रबाट भुवानी प्रसाद तिमिल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। मध्यपूर्वमा बिताएको २५ वर्षको प्रवास अनुभव, नेपाली श्रमिक समुदायसँगको लामो सम्बन्ध र नेपाली जनसम्पर्क समिति यूएईको दुई कार्यकालको नेतृत्व अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणसँग जोड्ने उद्देश्यसहित तिमिल्सिनाले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

तिमिल्सिनाको उम्मेदवारीको मुख्य राजनीतिक सन्देश भनेको प्रवासमा वर्षौँदेखि निर्माण भएको संगठनात्मक तथा सामाजिक अनुभवलाई अब कांग्रेसको केन्द्रीय निर्णय प्रक्रियासँग जोड्नु हो। उनी प्रवासमा कांग्रेसको संगठन विस्तार र नेतृत्वमा मात्र सीमित नरही त्यहाँ रहेका नेपाली श्रमिकका वास्तविक समस्या र सरोकारलाई नीतिगत तहमा उठाउनुपर्ने आवश्यकताका आधारमा आफूले उम्मेदवारी दिएको बताउँछन्।

‘मध्यपूर्वमा २५ वर्षको प्रवास अनुभव र नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको सुख दुःखसँग जोडिएको यात्रालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउनु मेरो संकल्प हो,’ तिमिल्सिनाले भनेका छन ।

मध्यपूर्वमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै आएको अवस्थामा विदेशमा रहेका श्रमिकका समस्या र अधिकार पनि राजनीतिक दलको नीतिगत प्राथमिकतामा पर्नुपर्ने तिमिल्सिनाको धारणा छ।

तिमिल्सिनाको राजनीतिक यात्रामा नेपाली जनसम्पर्क समिति यूएईको नेतृत्व महत्वपूर्ण पक्षका रूपमा देखिन्छ। उनले समितिको दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालिसकेका छन । प्रवासमा कांग्रेसको संगठन सञ्चालन, कार्यकर्ताबीच समन्वय र नेपाली समुदायसँगको सम्बन्ध निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवलाई उनी अहिले केन्द्रीय सदस्यको उम्मेदवारीको आधार बनाइरहेका छन ।
जनसम्पर्क समिति प्रवासमा नेपाली कांग्रेससँग जोडिएको महत्वपूर्ण संगठनात्मक संरचना हो। त्यसैले समितिको नेतृत्वमा रहेर प्राप्त गरेको अनुभवलाई पार्टीको केन्द्रीय तहमा लैजानु आफ्नो उम्मेदवारीको मूल उद्देश्य रहेको तिमिल्सिनाको भनाइ छ।

उनका लागि प्रवास केवल पार्टी संगठन विस्तारको क्षेत्र होइन, नेपालको अर्थतन्त्र, श्रम बजार र सामाजिक संरचनासँग प्रत्यक्ष जोडिएको राजनीतिक क्षेत्र पनि हो। यही कारण मध्यपूर्वमा रहेका नेपाली श्रमिकको आवाजलाई कांग्रेसको नीति निर्माणमा संस्थागत रूपमा समेट्नुपर्ने उनको जोड छ।
तिमिल्सिनाले वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्यालाई व्यक्तिगत वा आकस्मिक सहयोगको विषयमा मात्र सीमित गर्न नहुने बताएका छन्। श्रमिकको अधिकार, सामाजिक सुरक्षा, रोजगारको सुरक्षा, कानुनी संरक्षण, संकटका बेला उद्धार तथा स्वदेश फर्किएपछि पुनःस्थापनाजस्ता विषयलाई राज्यको दीर्घकालीन नीतिसँग जोड्नुपर्ने उनको धारणा छ।

उनको उम्मेदवारीले कांग्रेसको प्रवास राजनीतिसँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ,विदेशमा रहेका लाखौँ नेपालीको आर्थिक योगदानसँगै उनीहरूको अनुभव र आवाजलाई पार्टीको केन्द्रीय नीति निर्माणमा कसरी संस्थागत गर्ने?

तिमिल्सिनाले यही प्रश्नको राजनीतिक उत्तरका रूपमा आफ्नो उम्मेदवारीलाई अघि सारेका छन्। उनको भनाइमा प्रवासी नेपालीलाई पार्टीको संगठन विस्तारका लागि मात्र नभई नीति निर्माणका साझेदारका रूपमा पनि हेर्न आवश्यक छ।

१५औँ महाधिवेशनमा स्वदेश तथा विदेशबाट सहभागी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसमक्ष तिमिल्सिनाले आफ्नो उम्मेदवारीका लागि साथ, सहयोग, समर्थन र सद्भावको अपिल गरेका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि प्रवासको प्रतिनिधित्व र अनुभवलाई पार्टीको केन्द्रीय तहमा पुर्‍याउने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

‘मध्यपूर्वको आवाज, कांग्रेसको केन्द्रमा श्रम, सम्मान र अधिकारका लागि मेरो उम्मेदवारी,’ तिमिल्सिनाको राजनीतिक सन्देश छ।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै प्रवासी नेपालीको प्रतिनिधित्व, वैदेशिक रोजगारी र श्रमिकका मुद्दा तथा प्रवासमा पार्टी संगठनको भूमिकाबारे पनि बहस भइरहेको अवस्थामा मध्यपूर्वबाट आएको तिमिल्सिनाको उम्मेदवारीले ती विषयलाई केन्द्रीय राजनीतिसँग जोड्ने दाबी गरेको छ।

२५ वर्षको मध्यपूर्व अनुभव, दुई कार्यकाल जनसम्पर्क समिति यूएईको नेतृत्व र श्रमिक समुदायसँगको लामो सम्बन्धलाई राजनीतिक आधार बनाउँदै तिमिल्सिना कांग्रेसको केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका छन्।

अब उनको दाबीको केन्द्रमा रहेको प्रश्न स्पष्ट छ,प्रवासमा सिकेको अनुभव र श्रमिकका मुद्दालाई कांग्रेसको केन्द्रीय नीति निर्माणसम्म कसरी पुर्‍याउने? यही एजेन्डालाई लिएर तिमिल्सिनाले १५औँ महाधिवेशनमा आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार