-विजय खड्का
पाटनबाट दक्षिणतर्फ करिब १५ किलोमिटरको दूरी । सहरबाट धेरै टाढा होइन डुकुछाप । तर विकासका हिसाबले हेर्ने हो भने यहाँ पुग्न समयसँगै धेरै वर्ष पछाडि फर्किएजस्तो लाग्छ । ललितपुर महानगरपालिकाको सीमा कट्दासम्म सडक पिच छ । सडकका दुवैतर्फ बत्ती बल्छन् । रात परे पनि बाटो उज्यालो देखिन्छ । तर जहाँ सडकको उज्यालो सकिन्छ, त्यहीँबाट डुकुछापको अँध्यारो सुरु हुन्छ ।
त्यहीँबाट गोदावरी नगरपालिका–८ डुकुछापको सीमा सुरु हुन्छ । अँध्यारो सडकमा मात्र छैन । यहाँका स्थानीयका गुनासा सुन्दा लाग्छ, विकासको उज्यालो पनि यहीँ कतै आएर रोकिएको छ । सङ्घीयता आएपछि ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा निकै सुनियो । स्थानीय तह बने । जनप्रतिनिधि आए । गाउँमै सरकार पुगेको भनियो । तर डुकुछापका बासिन्दाका लागि भने सिंहदरबार गाउँमा पुगेको अनुभूति अझै अधुरै छ । किनकि उनीहरूलाई अहिले पनि सबैभन्दा ठूलो चिन्ता एउटै छ– बाटो कहिले बन्छ ?
बाटोमा अड्किएको गाउँ
डुकुछाप, दनुवारगाउँ, खोलाखेत, काभ्रे, देवीचौर, घुसेल र छैमलेसम्मका हजारौँ मानिसले यही बाटो प्रयोग गर्छन् । कसैलाई बजार पुग्न यही बाटो चाहिन्छ । कसैलाई विद्यालय । कसैलाई अस्पताल । कसैलाई कार्यालय । किसानलाई आफ्नो पसिना र मिहिनेतले फलाएको तरकारी बजारसम्म पु¥याउन यही बाटो चाहिन्छ । तर अहिले यही बाटोले उनीहरूको जीवनलाई सहज बनाउनुको सट्टा उल्टै दुःख थपिरहेको छ ।
गत असोज ८ गतेदेखि परेको अविरल वर्षाले बाटोको अवस्था झन् बिगारिदिएको छ । ठाउँ–ठाउँमा हिलो छ । कतै सडक भत्किएको छ । कतै पहिरो खसेको छ । कतै बाग्मतीले सडकको जमिन काटिरहेको छ । सवारी साधन चलाउन कठिन छ । पैदल हिँड्न पनि जोखिम छ ।
बिरामीलाई अस्पताल लैजानुपर्दा समस्या छ । विद्यार्थीलाई विद्यालय पुग्न समस्या छ । कर्मचारीलाई कार्यालय पुग्न समस्या छ । किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन समस्या छ । बाटो बिग्रिँदा सबैभन्दा ठूलो मार भने दैनिक ज्यालादारी र कृषि काममा निर्भर परिवारलाई परेको छ ।
टनेलभित्रको हरियो सपना
डुकुछापको अर्को परिचय पनि छ । यो क्षेत्र अहिले कृषि उत्पादनको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । यहाँ तीन हजारभन्दा बढी बे–मौसमी तरकारी उत्पादन गर्ने टनेल छन् । किसानले आफ्नो खेतमा मौसमलाई चुनौती दिँदै तरकारी फलाइरहेका छन् । टनेलभित्र हरियो तरकारी हुर्किरहेको हुन्छ । किसानको आशा पनि त्यही हरियालीसँगै हुर्किरहेको हुन्छ । तर खेतमा उत्पादन भएको तरकारी बजारसम्म पुग्न सकेन भने त्यो हरियाली किसानका लागि आम्दानी होइन, चिन्ता बन्न पुग्छ । डुकुछापमा उत्पादन हुने तरकारीको मुख्य बजार लगनखेल, पुल्चोक, बल्खु र कालिमाटी हुन् । बिहान खेतबाट टिपिएको तरकारी बजार पुग्नुपर्छ । समयमै बजार पुग्न नसके तरकारी बिग्रन्छ । किसानको मिहिनेत खेर जान्छ । लगानी डुब्छ । त्यसैले यहाँका किसानका लागि बाटो आवतजावत गर्ने साधन मात्र होइन । यो उनीहरूको खेतदेखि परिवारको भान्सासम्म पुग्ने आम्दानीको बाटो हो । तर अहिले यही बाटो आफैँ बिरामी छ ।
सडकसँगै डर पनि हिँड्छ
समस्या बाटोमै सकिँदैन । रात पर्न थालेपछि यहाँ अर्को डर सुरु हुन्छ– जङ्गली जनावरको । स्थानीयका अनुसार राति बाघ र चितुवाको आवतजावत हुने गरेको छ । गत सातासम्म तीनवटा चितुवा पासोमा पारेर सम्बन्धित निकायलाई बुझाइएको उनीहरू बताउँछन् । सडक बिग्रिएपछि मानिसलाई राति हिँडडुल गर्न थप समस्या भएको छ । बिरामी परे पनि राति अस्पताल जान सजिलो छैन । कसैलाई आकस्मिक काम परे बाटोको अवस्थाले पहिले नै सोच्न बाध्य बनाउँछ । शहर नजिकै भएर पनि यहाँका मानिसले रातको बाटोमा आफ्नो सुरक्षा आफैँ खोज्नुपर्ने अवस्था छ ।
कसेरीको भिर र बाग्मतीको डर
वडा कार्यालय नजिकै रहेको कसेरीको भिर अर्को जोखिम हो । माथिबाट लेदो बग्छ । तलबाट बाग्मतीले सडकको जमिन काटिरहेको छ । वर्षा बढ्दै जाँदा स्थानीयको चिन्ता पनि बढ्दै जान्छ । कतै भोलि बाटो नै बगाएर लैजाने त होइन ? यही प्रश्नले उनीहरूलाई पिरोलिरहेको छ । फर्सिडोल दोभानदेखि वाईसीएल चौरसम्मको सडक द्रुतमार्ग आयोजनासँग जोडिएको क्षेत्र हो । आयोजनाका कारण सडकको अवस्था झन् लथालिङ्ग भएको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।
आयोजनाको कार्यालयमा पटक–पटक समस्या राखिएको उनीहरू बताउँछन् । तर समाधानका लागि ठोस पहल नभएको उनीहरूको भनाइ छ । वडा कार्यालयमा पुग्दा पनि एउटै उत्तर आउँछ– पर्याप्त बजेट छैन । सानोतिनो योजनाले यो समस्या समाधान हुँदैन । त्यो उत्तरले स्थानीयलाई झन् निराश बनाएको छ । किनकि उनीहरूलाई थाहा छ, बाटो बनाउन ठूलो बजेट चाहिन्छ । तर बाटो नबनेसम्म ठूलो समस्या पनि सानो हुँदैन ।
वडा कार्यालय नै जोखिममा
विडम्बना कस्तो छ भने, स्थानीय सरकारको कार्यालय पनि सुरक्षित छैन । नवनिर्मित वडा कार्यालय भवनको छेउसम्म बाग्मती नदी आइपुगेको छ । नदीले निरन्तर किनार कटान गरिरहेको छ । आज नदी कार्यालयको छेउमा छ । भोलि कहाँ पुग्छ भन्ने चिन्ता स्थानीयलाई छ । दीर्घकालीन रूपमा बाग्मती नदी व्यवस्थापन गर्न नसके ठूलो भौतिक संरचना जोखिममा पर्ने देखिन्छ । जनतालाई सेवा दिने कार्यालय नै जोखिममा पर्दा स्थानीयको मनमा अर्को प्रश्न जन्मिन्छ– सरकार जनताको घरसम्म पुग्यो कि नदीले सरकारको घरसम्म आइपुग्यो ?
दनुवार बस्तीको पीडा
यही वडाको दनुवार बस्ती पनि बाग्मतीको कटानका कारण जोखिममा परेको स्थानीयको भनाइ छ । बाग्मतीपारि द्रुतमार्ग आयोजनाले सडक किनारमा सेरवाल निर्माण गरेपछि नदीको बहाव बस्तीपट्टि सोझिएको स्थानीयको गुनासो छ । नदीले बस्तीको जमिन कटान गर्न थालेपछि दनुवार समुदायमा डर बढेको छ । घरको आँगन नजिक नदी पुग्दा मानिसको मनमा कस्तो त्रास हुन्छ ? त्यो त्रास कागजमा लेखेर पूरा देखाउन सकिँदैन । बाढी र कटानले जमिन मात्र लैजाँदैन । यसले मानिसको पुस्तौँदेखिको बसोबास, सम्झना र भविष्यको सपना पनि बगाउने डर पैदा गर्छ । यस विषयमा गोदावरी नगरपालिकाबाट इन्जिनियरको टोलीले अनुगमन गरेको छ । तर अब के गर्ने भन्ने ठोस निकास आउन बाँकी रहेको स्थानीय बताउँछन् ।
हिउँदमा धुलो, वर्षामा हिलो
डुकुछापको सडकको दुःख मौसमअनुसार फेरिन्छ । वर्षामा हिलो र पहिरो । हिउँदमा धुलो । गोदावरी नगरपालिका–७ देवीचौर क्षेत्रमा रहेका खानी तथा क्रसर उद्योगबाट सयौँ मालवाहक टिपर चल्ने गर्छन् । टिपरको आवागमन बढ्दा सडकमा धुलो उड्छ । स्थानीयको स्वास्थ्य र दैनिक जीवन प्रभावित हुन्छ । वर्षा सुरु भएपछि भने धुलो हराउँछ । तर सडक पनि हराउँछ । स्थानीयका अनुसार खानी उद्योगबाट निर्माण सामग्री निकासी हुन्छ । त्यसबापत कर पनि उठाइन्छ । नगरपालिकाको कार्यालयले वडा कार्यालयको परिसरमै निकासी कर सङ्कलन गर्ने व्यवस्था गरेको छ । तर स्थानीयको प्रश्न छ– जुन सडकबाट उद्योगको आम्दानी र नगरपालिकाको राजस्व जोडिएको छ, त्यही सडकको अवस्था सुधार्ने जिम्मेवारी कसको हो ?
चाडपर्व आउँदै छ, किसानको चिन्ता बढ्दै छ
चाडपर्व नजिकिँदै छन् । यही बेला किसानको उत्पादन बजारमा बढी मूल्यमा बिक्री हुने आशा हुन्छ । घरमा खर्च बढ्छ । बालबालिकाका आवश्यकता बढ्छन् । तरकारी बेचेर आएको पैसाले धेरै परिवारको चुलो बल्छ । दशैँ–तिहारको खर्च जुट्छ । तर बाटो बन्द भयो भने ? खेतमा तरकारी पाकिरहन्छ । किसानले खेत हेर्छ । बजार सम्झन्छ । बाटो सम्झन्छ । अनि मनमा एउटै डर आउँछ– ‘बजार पुग्न नपाउँदै तरकारी कुहिने त होइन ?’ किसानको यो डर एउटा तरकारीको मात्र होइन । यो उसको परिवारको आम्दानीसँग जोडिएको डर हो ।
डुकुछापलाई बाटो मात्र चाहिएको होइन
डुकुछापका मानिसले विकासको ठूल्ठूला सपना मागेका छैनन् । उनीहरूलाई अहिले चाहिएको कुरा धेरै सामान्य छ । हिँड्न मिल्ने बाटो । बिरामीलाई अस्पताल पु¥याउन सकिने बाटो । विद्यालय जाने विद्यार्थीलाई सुरक्षित बाटो । किसानले उत्पादन गरेको तरकारी समयमै बजार पु¥याउन सक्ने बाटो । दूध बोक्ने गाडी चल्न सक्ने बाटो । कार्यालय जाने कर्मचारी र सेवाग्राहीले सहज रूपमा आवतजावत गर्न सक्ने बाटो । तर अहिले यिनै सामान्य आवश्यकताहरू असामान्य मागजस्ता भएका छन् । डुकुछापमा विकासको चर्चा गर्दा सडक मात्र होइन, नदी व्यवस्थापन, पहिरो नियन्त्रण, बस्ती संरक्षण र खानी–क्रसरको प्रभाव पनि सँगसँगै हेर्नुपर्ने अवस्था छ । स्थानीय तह, द्रुतमार्ग आयोजना, सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदायबीच समन्वयबिना समस्या समाधान हुन कठिन देखिन्छ ।
उज्यालो कहिले पुग्ला ?
सहरमा सडकबत्ती बलिरहेका छन् । केही किलोमिटर पर डुकुछापको बाटो अँध्यारो छ । सहरमा पिच सडक छ । यहाँ वर्षामा हिलो छ । सहरमा राति पनि गाडी गुड्छन् । यहाँ रात परे मानिसहरू बाटोमा निस्कन डराउँछन् । सहरमा विकासका संरचना थपिँदै छन् । यहाँ बनेको वडा कार्यालयसमेत नदीको कटानको जोखिममा छ । डुकुछाप काठमाडौं उपत्यकाबाट टाढा छैन । तर विकासको पहुँचका हिसाबले यो दूरी अझै धेरै लामो देखिन्छ । कुनै गाउँलाई विकासको मूलधारमा ल्याउन ठूलो भाषण चाहिँदैन । पहिले एउटा सुरक्षित बाटो चाहिन्छ । त्यो बाटोले किसानलाई बजारसँग जोड्छ । बिरामीलाई अस्पतालसँग जोड्छ । विद्यार्थीलाई विद्यालयसँग जोड्छ । श्रमिकलाई रोजगारीसँग जोड्छ । र अन्ततः गाउँलाई अवसरसँग जोड्छ । डुकुछापका मानिस पनि त्यही अवसरको प्रतीक्षामा छन् । उनीहरू आफ्नो गाउँ छाडेर विकास खोज्न चाहँदैनन् । आफ्नै गाउँमा विकास आइपुगोस् भन्ने चाहन्छन् । तर वर्षौँदेखि उनीहरूको बाटोमा हिलो छ । पहिरो छ । नदीको कटान छ । अँध्यारो छ । र त्यही बाटोको छेउमा एउटा प्रश्न पनि उभिएको छ– ‘गाउँगाउँमा सिंहदरबार आएको हो भने डुकुछापको बाटोमा त्यसको पाइला कहिले देखिन्छ ?’
(लेखक पोखरा विश्वविद्यालयका पिएचडी स्कलर हुन् ।)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij