काठमाडौँ । अगस्ट १ मा विश्व इतिहासमा घटेका केही प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाक्रमहरू निम्न अनुसार रहेका छन, जसमध्ये क्रिस्टोफर कोलम्बसले दक्षिण अमेरिकी महाद्वीप (हालको भेनेजुएला) मा पाइला टेकेका थिए।
इशापूर्व ३०: अक्टाभियन (अगुस्टस) ले इजिप्टको अलेक्जान्ड्रियामा प्रवेश गरी कब्जा गरे। यससँगै टोलेमी वंश र प्राचीन इजिप्ट साम्राज्यको अन्त्य भई इजिप्ट रोमन साम्राज्यको अधीनमा गएको थियो।
१२९१ (स्वीजरल्याण्डको स्थापना): उरी, श्विज र अन्टरवाल्डेन क्षेत्रहरूले ‘फेडरल चार्टर’ मा हस्ताक्षर गर्दै ‘पुरानो स्वीस कन्फेडेरेसन’को स्थापना गरे। यस दिनलाई स्वीजरल्याण्डको राष्ट्रिय दिवस को रूपमा मनाइन्छ।
१४९८: क्रिस्टोफर कोलम्बसले दक्षिण अमेरिकी महाद्वीप (हालको भेनेजुएला) मा पाइला टेकेका थिए।
१८००: बेलायत र आयरल्याण्डको संसदद्वारा ‘एक्ट्स अफ युनियन १८००’ पारित भयो, जसले दुवै राज्यलाई मिलाएर ‘ग्रेट ब्रिटेन र आयरल्याण्डको संयुक्त राज्य’को स्थापना गर्यो।
१८३४ (दाश प्रथाको अन्त्य): ब्रिटिश साम्राज्यभर ‘स्लेभरी एबोलिसन एक्ट १८३३’ आधिकारिक रूपमा लागू भई दास प्रथा उन्मूलन गरियो।
१८९४: कोरियामाथि आधिपत्य जमाउने विषयलाई लिएर प्रथम चीन-जापान युद्ध को औपचारिक घोषणा भयो।
१९१४ (प्रथम विश्वयुद्धको सुरुवात): प्रथम विश्वयुद्धको क्रममा जर्मनीले रुसविरुद्ध औपचारिक युद्धको घोषणा गर्यो।
१९२७ (नानचाङ विद्रोह): चीनमा नानचाङ विद्रोह भयो, जसलाई चिनियाँ गृहयुद्धको पहिलो प्रमुख सैन्य संघर्ष मानिन्छ। यसै दिनको सम्झनामा चीनमा जनमुक्ति सेना दिवस मनाइन्छ।
१९३६: बर्लिनमा हिटलरद्वारा ११ औं गृष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन गरियो।
१९४४ (वारसअ विद्रोह): दोस्रो विश्वयुद्धका क्रममा पोल्याण्डको होम आर्मीले नाजी कब्जाविरुद्ध वारसअमा ठूलो सशस्त्र विद्रोह सुरु गर्यो।
१९६०: इस्लामाबादलाई पाकिस्तानको नयाँ राजधानी घोषित गरियो (यसअघि कराँची राजधानी थियो)।
१९६० (बेनिनको स्वतन्त्रता): पश्चिम अफ्रिकी मुलुक डेहोमी (हालको बेनिन) ले फ्रान्सबाट पूर्ण स्वतन्त्रता प्राप्त गर्यो।
१९८०: भिगदिस फिनबोगादोतिर आइसल्याण्डको राष्ट्रपति बनेकी थिइन्। उनी विश्वकै पहिलो प्रजातान्त्रिक रूपमा निर्वाचित महिला राष्ट्रप्रमुख हुन्।