दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आयोजना गरिएको जिसिडी नेपाली प्रिमियर लिग (जिसिडी एनपीएल) यूएईको पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। गत सेप्टेम्बर ३ देखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जिसिडी गोर्खाली राइनोजले ऐतिहासिक पहिलो उपाधि जितेको छ। फाइनलमा कडा प्रतिस्पर्धा गरेको एनसीसी हार्डहिटर्स उपविजेतामा सीमित भयो।
यूएईमा रहेका नेपाली क्रिकेट खेलाडीको प्रतिभालाई उजागर गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने तथा खेलकुदका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। पहिलो संस्करणमै नेपाली समुदाय, व्यवसायी, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा खेलप्रेमीबाट प्राप्त उत्साहजनक सहभागिताले प्रतियोगिताप्रति बढ्दो आकर्षण देखाएको आयोजकको भनाइ छ।
फाइनल तथा पुरस्कार वितरण समारोहमा नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व क्षेत्रीय उपसंयोजक दीपक खड्का, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका अध्यक्ष भीम मल्ल, पूर्वअध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटालगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
त्यसैगरी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य गोपीचन्द्र भुसाल र कुमार लम्साल, प्रवास नेपाली सम्पर्क समाज यूएईका प्रमुख सुजन थापा, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, प्रवासी नेपाली एकता समाज यूएईका अध्यक्ष नारायणप्रसाद आचार्य, तनहुँ सेवा समाज यूएईका प्रमुख सल्लाहकार सुदिप कार्की, स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशम खनाल, गुल्मी सेवा समाजका अध्यक्ष जीवनसिंह ठकुरी, संरक्षक कृष्ण गौतम, समाजसेवी बाबुराम विश्वकर्मा तथा व्यवसायी विष्णु अधिकारी र मनोज मरठ्ठालगायतको सहभागिता रहेको थियो।
प्रतियोगितालाई सफल बनाउन विभिन्न व्यवसायिक प्रतिष्ठान तथा संस्थाले समेत सहकार्य गरेका थिए। अल फरदान एक्सचेन्ज मुख्य प्रायोजकका रूपमा रहेको थियो भने काटुस प्रोपर्टी स्वर्ण प्रायोजकका रूपमा जोडिएको थियो। जक ओरेन्ज तथा भण्डारी ब्रदर्स एन्ड ग्रुप प्रायोजक, हिमालयन ग्लोबल ज्वेलर्स, निको पोलिक्लिनिक तथा नेप्लिज सेवा सहप्रायोजकका रूपमा रहेका थिए।
त्यस्तै, भेराइटी मःम रेष्टुरेन्ट साझेदार, नमस्ते ट्राभल्स, सयपत्री ट्राभल्स, फिस्टेल ट्राभल्स तथा सपना ट्राभल्स यात्रा साझेदार तथा फरकधार र वियोन्ड नेपाल सञ्चार साझेदारका रूपमा सहभागी भएका थिए। प्रतियोगिताको प्रवर्द्धनमा ब्रान्ड प्रतिनिधिका रूपमा नवराज पाण्डे ‘फुलेको बुढा’ले पनि योगदान पुर्याएका थिए।
फाइनलमा उपाधि जितेको जिसिडी गोर्खाली राइनोजलाई आयोजकले बधाई ज्ञापन गरेको छ। त्यस्तै, उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै उपविजेता बनेको एनसीसी हार्डहिटर्सलाई पनि आयोजकले धन्यवाद तथा बधाई दिएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, कप्तान, खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन पक्षले अनुशासित र खेलभावनापूर्ण प्रदर्शन गरेको आयोजकको भनाइ छ।
प्रतियोगितालाई सफल बनाउन प्रतियोगिता प्रमुख दिपाङ्कर डङ्गोल, प्रशिक्षक ड्यान परियार, आयोजक टोलीका योगी विश्वकर्मा, सुमन उदयलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रतियोगिताको अवधारणा निर्माण, प्रस्ताव तयारीदेखि व्यवस्थापन र सञ्चालनसम्म उनीहरूले निरन्तर मेहनत गरेको आयोजकले जनाएको छ। साथै, जिसिडी समूहका कर्मचारी, निर्णायक, खेल पदाधिकारी, स्वयंसेवक, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
जिसिडी समूहका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका अध्यक्ष रमेश श्रेष्ठले पहिलो संस्करणको सफलताले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र भव्य रूपमा अघि बढाउने आधार तयार भएको बताएका छन्।
श्रेष्ठले पहिलो पटक ठूलो स्तरमा प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापन तथा सञ्चालनका क्रममा केही कमी–कमजोरी हुन सक्ने स्वीकार गर्दै आगामी संस्करणमा प्राप्त सुझाव र अनुभवका आधारमा आवश्यक सुधार गर्दै जाने बताए।
‘यो प्रतियोगिता हाम्रो लागि केवल पहिलो संस्करणको आयोजना मात्र होइन, यूएईमा नेपाली क्रिकेटको दीर्घकालीन यात्राको सुरुवात हो। पहिलो संस्करणबाट प्राप्त अनुभव, सुझाव र सिकाइलाई आत्मसात् गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाउने हाम्रो लक्ष्य छ,’ श्रेष्ठले भने।
उनले जिसिडी नेपाली प्रिमियर लिगको यात्रा पहिलो संस्करणमै नरोकिने स्पष्ट पारे। ‘सिजन १ बाट सिजन २, सिजन ३ हुँदै आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई निरन्तरता दिनेछौँ। यूएईमा रहेका नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने नियमित मञ्च प्रदान गर्नुका साथै खेलकुदका माध्यमबाट नेपाली समुदायलाई जोड्ने अभियानलाई अझ सशक्त बनाउने हाम्रो प्रयास हुनेछ,’ श्रेष्ठले बताए।
श्रेष्ठले प्रतियोगिताको सफलताका लागि सहयोग गर्ने प्रायोजक, साझेदार संस्था, अतिथि, खेलाडी, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सुझावको अपेक्षा गरेका छन्।
पहिलो संस्करणको सफल समापनसँगै जिसिडी नेपाली प्रिमियर लिगले यूएईमा नेपाली क्रिकेटका लागि नयाँ सम्भावनाको ढोका खोलेको आयोजकको विश्वास छ। खेलाडीको प्रतिभा, नेपाली समुदायको सहभागिता, व्यवसायिक क्षेत्रको सहकार्य र आयोजकको निरन्तर प्रयासलाई जोड्दै आगामी संस्करणलाई थप व्यापक र प्रतिस्पर्धात्मक बनाउने तयारी आयोजकले गरेको छ।














