सोमबार, असोज १२ २०८३

सोमबार, असोज १२ २०८३

पर्यटनमा एआई र डिजिटल प्रविधिको प्रयोग बढाउन जोड

सोमबार, असोज १२ २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् ।

४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले पर्यटन विकास एउटै मन्त्रालयको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले बदलिँदो पर्यटन परिवेशअनुसार पर्यटनसँग सम्बन्धित सरकारी संस्थाको संस्थागत क्षमता र सेवा प्रवाह सुधार गर्ने सरकारको योजना रहेको जानकारी दिए । पर्यटनसम्बन्धी विद्यमान कानुन तथा नियमावलीमा रहेका कमी–कमजोरी सुधारका लागि निजी क्षेत्रका सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा, जात्रा तथा पर्वलाई पर्यटन विकाससँग जोड्नुपर्ने बताए । हिमाली सम्पदाको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यस वर्षको विश्व पर्यटन दिवसको अन्तर्राष्ट्रिय नाराका रूपमा रहेको ‘डिजिटल एजेण्डा एण्ड एआई टु रिडिजाइन टुरिजम्’ लाई केन्द्रमा राख्दै कार्यक्रममा पर्यटन क्षेत्रमा डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे छलफल गरिएको थियो । नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा परेको क्षतिबाट सिक्दै विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्ने बताए । लाङटाङ जाने पहुँचमार्ग तथा आवास सुविधामा बाढीले क्षति पु¥याएको उल्लेख गर्दै उनले सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी आवश्यक रहेको बताए ।

उनका अनुसार डिजिटल प्रणालीमार्फत पर्यटकको यात्रासम्बन्धी सूचना अद्यावधिक राख्ने, जोखिमको पूर्वसूचना दिने र आपत्कालीन अवस्थामा समन्वय सहज बनाउन सकिन्छ । डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको समयसापेक्ष प्रवद्र्धन तथा पर्यटकलाई भरपर्दो र आवश्यकताअनुसार सूचना उपलब्ध गराउनसमेत सकिने उनले बताए ।

कार्यक्रमका मुख्य वक्ता पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयु जोन्सले भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानमा पाटा फाउन्डेसनले सहयोग जारी राख्ने बताए। उनले प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनमा एआई र डिजिटल मिडियाको भूमिका बढ्दै गएको बताए ।

जोन्सले बाढीबाट प्रभावित पर्यटन क्षेत्रका श्रमिक, गाइड, चालक, पोर्टर तथा पर्यटन व्यवसायलाई सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन पुनरुत्थान कोष सञ्चालनमा रहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यहरूले पर्यटनमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, नेपाल वायुसेवा निगमको सुदृढीकरण र पर्यटकलाई प्रमाणित तथा विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा धारणा राखेका थिए । सो अवसरमा नेपाल पर्यटन बोर्डले नेपालको गन्तव्य प्रवद्र्धनका लागि तयार पारेको नयाँ प्रचारात्मक श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको थियो। भिटोफ–नेपालले तीन गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरी प्रतिनिधिलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।

विश्व पर्यटन दिवस हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइन्छ । यस वर्षको दिवसमा पर्यटन पुनरुत्थान, सेवा प्रवाह, सूचना, प्रवद्र्धन तथा पर्यटन व्यवस्थापनमा डिजिटल प्रविधि र एआईको प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार