शनिबार, असोज १० २०८३

शनिबार, असोज १० २०८३

पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासियो र पहिरो खस्यो, यातायात सेवा प्रभावित

शनिबार, असोज १० २०८३

चितव । लगातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खस्दा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। 

राजमार्गका विभिन्न खण्डमा क्षति पुगेपछि चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ भने धादिङ खण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आउजाउ गर्न दिइएको छ। निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढ्दै गएकाले सो क्षेत्रमा यात्रा निकै जोखिमपूर्ण बनेको छ।

यस्तै, इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिननजिकै सिमलधारामा माथिबाट पहिरो खसेपछि सडक एकतर्फी बनाइएको छ। पहिरो खसेको स्थानमा निरन्तर ढुङ्गा खसिरहेका कारण पन्छाएर बाटो पूर्ण रूपमा खुलाउन प्राविधिक टोलीलाई कठिनाइ भइरहेको छ।

सडक भासिने र पहिरो खस्ने क्रम जारी नै रहेकाले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन प्रहरी र स्थानीय प्रशासनले अनुरोध गरेका छन्। सम्बन्धित निकायहरूले सडकको अवस्था निरन्तर अनुगमन गर्दै सावधानीपूर्वक यातायात सञ्चालन गराइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार