काठमाडौं । लगातारको वर्षासँगै देशका प्रमुख नदीहरूको जलसतह तथा तटीय क्षेत्रको अवस्था अनुगमन भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतका जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत नदीको अवस्था दिनभर निरन्तर अनुगमन भइरहेको हो ।
मन्त्रालयका अनुसार स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी आपत्कालीन बाढी नियन्त्रणका लागि आवश्यक सामग्रीसहित प्राविधिक टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ ।
सल्यानको कालिमाटी गाउँपालिका–२ स्थित शारदा नदीमा जलसतह उल्लेख्य रूपमा बढिरहेको मन्त्रालयले जनाएको छ । तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
झापाको गौरीगन्ज गाउँपालिका–१ स्थित कन्काई नदीमा तटबन्धको पुछारतर्फ भइरहेको कटान रोक्न सुरक्षाकर्मीको सहयोगमा बालुवाका बोरा राख्ने काम भइरहेको छ । मन्त्रालयका अनुसार उक्त स्थानमा नदीको जलसतह भने घट्दो क्रममा छ ।
रौतहटको राजपुर नगरपालिकास्थित भगवानपुरमा लालबकैया नदीको बायाँ किनार बालुवाका बोरासहितको तारजाली प्रयोग गरी संरक्षण गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ स्थित गौरेश्वर मन्दिर नजिक नारायणी नदीमा यसअघि गरिएको आपत्कालीन कार्य क्षेत्र डुबानमा परेको छ । उक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चितवनको भरतपुर–१६ सेतीदेवी र भरतपुर–१७ माझुवास्थित नारायणी नदीका अति जोखिमयुक्त स्थानमा उल्लेख्य कटान भएको छैन ।
झापाको झापा गाउँपालिका–२ स्थित कन्काई नदीमा साउन १० गते गरिएको पूर्वतयारी कार्य प्रभावकारी देखिएको छ । उक्त क्षेत्रमा नदीको जलसतह चेतावनी तहभन्दा तल रहेको मन्त्रालयले जनाएको छ ।
दाङको लमही नगरपालिका–४ सेमरहवा तथा राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित पश्चिम राप्ती नदीमा तटबन्ध र स्पर सुरक्षित रहेको तथा जलसतहमा उल्लेख्य वृद्धि नभएको मन्त्रालयले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुरस्थित बबई नदीको जलसतह सामान्यभन्दा केही माथि रहे पनि नवनिर्मित ग्याबियन संरचना सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, दाङको भालुवाङ पुलस्थित पश्चिम राप्ती, प्युठानको चाकचाकेस्थित माडी नदी तथा भेरी नदीको रिम्ना दोभानभन्दा तलको क्षेत्रमा अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नदी किनार तथा तटबन्ध आसपास कटान भइरहेको क्षेत्रमा नजान र जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्वसूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बाढी तथा नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राविधिक कर्मचारी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्थानीय तह तथा स्थानीय बासिन्दाको समन्वयमा आवश्यक तयारी र अनुगमन जारी रहेको मन्त्रालयले जनाएको छ ।