काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई नेपाली जनताले आफ्नो शासन व्यवस्था आफैं निर्धारण गरेको ऐतिहासिक दिन भएको बताएकी हुन् ।
उनले पुस्तौँको संघर्ष, बलिदान र परिवर्तनको आकांक्षापछि संविधानसभाबाट जारी भएको संविधानले राज्यशक्तिको मूल स्रोत शासक नभई जनता हुन् भन्ने सिद्धान्त स्थापित गरेको बताइन् ।
‘पुस्तौँको सङ्घर्ष, बलिदान र परिवर्तनको आकाङ्क्षापछि संविधान सभाबाट बनेको हाम्रो संविधानले राज्यशक्तिको मूल स्रोत शासक होइनन्, जनता हुन् र राज्यको शक्ति संविधान र कानूनको सीमाभित्र प्रयोग हुनुपर्छ भन्ने मूल सिद्धान्त बोकेको छ,’ उनले भनिन्, ‘संविधानले नागरिकलाई अधिकार दिएको छ, राज्यलाई जिम्मेवारी दिएको छ र शासनलाई एउटा सीमाभित्र बाँधिदिएको छ ।’
उनका अनुसार राज्यको शक्ति संविधान र कानूनको सीमाभित्र प्रयोग हुनुपर्छ ।
मन्त्री गौतमले संविधानले नागरिकलाई अधिकार, राज्यलाई जिम्मेवारी र शासन व्यवस्थालाई संवैधानिक सीमाभित्र बाँधेको बताइन् । समानता, स्वतन्त्रता, न्याय, सम्मान र सहभागिताका अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्न पाउनुपर्ने उनले बताइन् ।
उनले संविधान आफैंमा अन्तिम गन्तव्य नभई न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माण गर्ने आधार भएको बताउँदै समयअनुकूल आवश्यक सुधार गर्दै जानुपर्ने उनले बताइन् ।