शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

यस्तो छ उपराष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष दाहाल, एमाले अध्यक्ष ओली र प्रचण्डले संविधान दिवका अवसरमा दिएको सन्देश

शनिबार, असोज ३ २०८३

संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन गरेको छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानलाई नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धिका रूपमा रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा जारी सन्देशमा उपराष्ट्रपति यादवले संविधानले राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको आधार निर्माण गरेको बताए ।

संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन गरेको उल्लेख उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने आधार संविधानले तयार गरेको बताए ।

उपराष्ट्रपतिले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना, मौलिक हकको प्रभावकारी कार्यान्वयन तथा संघीय संरचनाको सुदृढीकरण आवश्यक रहेको बताए ।

शक्ति र स्रोतको न्यायोचित बाँडफाँड तथा प्रदेश र स्थानीय तहलाई संविधानअनुसार अधिकार सम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता अपरिहार्य रहेको उनको सन्देशमा उल्लेख छ । संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न यी प्रयास निर्णायक हुने यादवले बताए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र समृद्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

संविधान दिवसले उपलब्धिको रक्षा र संविधान कार्यान्वयनमा जोड दिन प्रेरणा दिन्छ : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधानको पूर्ण कार्यान्वयन, प्राप्त उपलब्धिको संरक्षण र लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा संविधान सभाबाट संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको बताए । विभिन्न लोकतान्त्रिक आन्दोलन, सशस्त्र संघर्ष, २०६२÷६३ को जनआन्दोलन तथा उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको योगफलस्वरूप संविधान निर्माण भएको उनले बताए ।

वि.सं.२०७२ असोज ३ गते जननिर्वाचित प्रतिनिधि सम्मिलित संविधान सभाबाट नेपालको संविधान जारी भएको स्मरण गर्दै दाहालले संविधान जारी भएको ११ वर्ष पूरा भएको उल्लेख गरे । संविधान जारी भएको दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको उनले बताए ।

उनका अनुसार संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक प्रणालीलाई संस्थागत गरेको छ ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले निर्माण गर्नुपर्ने केही कानुन अझै बाँकी रहेको उल्लेख गर्दै बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा समेत कमी रहेको बताए । यसतर्फ सम्बन्धित सबै पक्षको विशेष ध्यान जानुपर्नेमा उनले जोड दिए ।

नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त समेत गरे ।

संविधानले गणतन्त्र संस्थागत गर्दै संघीय लोकतान्त्रिक व्यवस्था स्थापित ग¥यो : केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपालको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए । उनले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार बाँडफाँट गरेको तथा राज्यका अंगहरूमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उल्लेख गरे ।

उनले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा चित्रण गर्दै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

ओलीले संविधान जारी गर्ने समय देशले कठिन परिस्थितिको सामना गरेको स्मरण गर्दै संविधान जारी भएपछि नाकाबन्दीजस्तो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे । त्यस्ता कठिनाइले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको उनले बताए ।

उनले संविधान निर्माणका क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलन तथा लोकतान्त्रिक, वामपन्थी र देशभक्तिपूर्ण आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने उल्लेख गर्दै उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको बताए ।

‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले संविधान केवल एउटा कानुनी दस्ताबेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार