प्योङयाङ । उत्तर कोरियाले सोमबार जनाए अनुसार हालै गरिएको “लाइभ-फायर”, वास्तविक गोलाबारुद प्रयोग गरिने, अभ्यासले “अत्यधिक विनाशकारी क्षमता” प्रदर्शन गरेको छ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार शनिबार गरिएको उक्त परीक्षणमा उत्तर कोरियाली सेनाको मनोबल बढाउने तथा “शत्रुलाई पूर्ण रूपमा ध्वस्त पार्ने” क्षमतामा सुधार ल्याउने उद्देश्यले विभिन्न प्रकारका हतियारहरू एकैसाथ प्रहार गरिएका थिए।
केसीएनएले जनाएअनुसार उक्त अभ्यासमा सेनाका पाँचवटा एकाइहरू सहभागी थिए र यसमा आक्रमणकारी ड्रोन, रणनीतिक क्रुज मिसाइल, रणनीतिक ब्यालिस्टिक मिसाइल तथा अन्य हतियार प्रणालीहरूको परीक्षण गरिएको थियो।
विशेषज्ञहरूका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोङ-उनसँगको कूटनीतिलाई पुनः गति दिने प्रयासस्वरूप दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई हालै सीमित गरे पनि उत्तर कोरियाले आफ्ना हतियारसम्बन्धी गतिविधिहरूमा कुनै कमी नल्याएको याे घटनाले देखाएकाे छ।
केसीएनएका अनुसार, उत्तर कोरियाली मार्सल पाक जोङ चोनले भनेका छन् कि उक्त अभ्यासको उद्देश्य “आदेश प्राप्त हुनासाथ शत्रुको सशस्त्र बललाई संगठनात्मक र संरचनात्मक रूपमा ध्वस्त पार्नका लागि विशेषज्ञताको स्तर बढाउनु” थियो। उनले थपे कि परिचालन गरिएका हतियार प्रणालीहरूले “केन्द्रित प्रहारको विशाल विनाशकारी क्षमता” प्रदर्शन गरेकाे छ।
उता, दक्षिण कोरियाको ‘जोइन्ट चिफ्स अफ स्टाफ’ले जनाए अनुसार शनिबार धेरै क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए र ती उत्तर कोरियाको पूर्वी जलक्षेत्रतर्फ करिब २५० किलोमिटर अर्थात १५५ माइलसम्म पुगेका थिए। यी दूरीहरूले संकेत गर्छन् कि ती हतियारहरू दक्षिण कोरियामा रहेका अमेरिकी सैन्य अखडासहितका विभिन्न लक्ष्यहरूमा प्रहार गर्न सक्ने गरी डिजाइन गरिएका हुन्।
यो गोलीबारी अभ्यास अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सम्पन्न गरेको भोलिपल्ट भएको हो, जसलाई उत्तर कोरियाले उक्साहटपूर्ण कार्य भनिएकाे छ ।
गत अगस्ट महिनामा ट्रम्पले पेन्टागनलाई दक्षिण कोरियासँग संयुक्त रूपमा सञ्चालन गरिने ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई “व्यापक रूपमा कटौती” गर्न निर्देशन दिएका थिए। अमेरिकी राष्ट्रपतिका अनुसार यो निर्णय किम जोङ-उनसँगको उनको सुमधुर सम्बन्धका कारण लिइएको थियो।
उत्तर कोरियाले ट्रम्पको यस कदमलाई अस्वीकार गर्दै भन्यो कि अभ्यासको अवधि छोट्याउँदैमा यसको “उक्साहटपूर्ण र आक्रामक प्रकृति” मा कुनै परिवर्तन आउँदैन। र, यो अभ्यास निर्धारित समयभन्दा ६ दिन अगाडि नै समाप्त भयो।
विशेषज्ञहरूका अनुसार किम जोङ-उनलाई के लाग्छ भने सन् २०१८ र २०१९ मा ट्रम्पसँग भएका पहिलो भेटघाटयता अमेरिकासँगको सम्भावित कूटनीतिक वार्तामा उनको स्थिति अझ बलियो भएको छ। किमले यस वर्षको सुरुमा भनेका थिए कि यदि अमेरिकाले आफ्नो देशप्रतिको “शत्रुतापूर्ण नीति” त्यागेमा र उत्तर कोरियालाई आणविक राष्ट्रको मान्यता दिएमा उनी वार्तामा फर्कन सक्छन्।