काठमाडौँ । विश्व इतिहासमा सेप्टेम्बर ११ (भाद्र २६) गते घटेका केही अति नै महत्त्वपूर्ण ऐतिहासिक तथा राजनीतिक घटनाहरू:
अमेरिकामा ९/११ को आतङ्कवादी हमला (सन् २००१): अल-कायदाका आतङ्कवादीहरूले चारवटा यात्रुवाहक विमान अपहरण गरी न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर (ट्विन टावर्स) र वासिङ्टन डिसीस्थित पेन्टागनमा ठोक्काएका थिए। यस हमलामा करिब ३,००० जनाको ज्यान गएको थियो। यो घटनापछि अमेरिकाले “ग्लोबल वार अन टेरर” (आतङ्कवादविरुद्धको विश्वव्यापी युद्ध) सुरु गर्यो, जसले अफगानिस्तान युद्ध र विश्व सुरक्षा नीतिमा आमूल परिवर्तन ल्यायो।
चिलीमा सैनिक विद्रोह र आलान्दे सरकारको पतन (सन् १९७३): जनरल अगस्टो पिनोचेको नेतृत्वमा चिलीको सेनाले सेप्टेम्बर ११ मा कू (सैनिक विद्रोह) गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित समाजवादी राष्ट्रपति साल्भादोर आलान्देको सरकार ढाल्यो। राष्ट्रपति आलान्देले राष्ट्रपतीय भवनभित्रै आत्महत्या गरियाे। यसपछि चिलीमा १७ वर्षसम्म पिनोचेको कठोर सैन्य तानाशाही शासन कायम भयो।
स्वामी विवेकानन्दको ऐतिहासिक सिकागो भाषण (सन् १८९३): अमेरिकाको सिकागोमा आयोजित ‘विश्व धर्म संसद्’ मा भारतका महान् दार्शनिक स्वामी विवेकानन्दले ऐतिहासिक सम्बोधन गरेका थिए। “अमरिकी दाजुभाइ तथा बहिनीहरू” बाट सुरु गरिएको उनको भाषणले हिन्दू धर्म, सनातन दर्शन र भाइचाराको सन्देशलाई विश्वभर स्थापित गर्यो।
महात्मा गान्धीद्वारा पहिलो ‘सत्याग्रह’को सुरुआत (सन् १९०६): दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जोहानेसबर्ग थिएटरमा आयोजित एक सभामा महात्मा गान्धीले भारतीयहरू माथि भइरहेको नस्लीय भेदभावविरुद्ध पहिलोपटक अहिंसात्मक ‘सत्याग्रह’ (अहिंसात्मक नागरिक अवज्ञा) को घोषणा गरेका थिए।
पेन्टागन निर्माणको सुरुआत (सन् १९४१): द्वितीय विश्वयुद्धका क्रममा अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय ‘पेन्टागन’ को निर्माण कार्य सन् १९४१ सेप्टेम्बर ११ बाट सुरु भएको थियो। संयोगवश, यसको ६० वर्षपछि (सन् २००१ मा) यही भवनमा आतङ्कवादी हमला भयो।