काठमाडौं । जनप्रगतिशील मञ्च कतार र प्रवासी नेपाली एकता मञ्च कतारबीच ऐतिहासिक एकता भएको छ । दुई संस्थाबीचको एकतापछि ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतार’का रूपमा नयाँ सांगठनिक यात्राको शुभारम्भ गरिएको हो ।
एकतापछि कतारस्थित नेपाली समुदायबीच आपसी एकता, सहकार्य, सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । साझा उद्देश्य र सहकार्यका आधारमा अघि बढ्ने नयाँ संस्थाले कतारमा रहेका नेपाली समुदायका हित तथा सामाजिक क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतारको संयोजकको महत्वपूर्ण जिम्मेवारी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकार राजेन्द्र देवकोटाले प्राप्त गरेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले दुई संस्थाबीचको एकतालाई स्वागत गर्दै नयाँ सांगठनिक यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष पन्थीले देवकोटाको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतारले थप उचाइ, गतिशीलता र सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, संस्थाको आगामी कार्यकाल उपलब्धिमूलक र सफल रहोस् भन्ने शुभकामना दिएका छन् ।