तनहुँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले बेपत्ताका आफन्तलाई डिएनए नमूना सङ्कलन गर्न सम्पर्कमा आउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार फेला परेका शवहरूको सनाखत गर्न आवश्यक डिएनए नमूना उपलब्ध गराउन आफन्तहरूलाई सूचित गरिएको हो। यद्यपि, हालसम्म कसैले पनि डिएनए नमूना नदिएको उनले जानकारी दिए।
बाढीले बगाएर ल्याएका शवमध्ये तनहुँको आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीको किनारबाट हालसम्म ३९ वटा शव फेला परेका छन्। फेला परेकामध्ये २४ वटा शवलाई परीक्षणका लागि पोखरा पठाइएको छ भने बाँकी १५ वटा शवको व्यास नगरपालिका–५ स्थित चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ।
यसैगरी, बाढीपछि तनहुँ घर भएका ३३ जना व्यक्ति सम्पर्कविहीन भएको निवेदन परेकामा हालसम्म ९ जना सम्पर्कमा आइसकेका छन्। बाँकी २४ जनाको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले तीव्र रूपमा कार्य गरिरहेको जनाइएको छ।