बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जर्मनीमा विश्वयुद्द पछि पहिलाेपटक अति-दक्षिणपन्थी ‘एफएफडी’ पार्टी ठूलो जिततर्फ

सोमबार, भाद्र २२ २०८३

बर्लिन । जर्मनीको अति-दक्षिणपन्थी दल ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) पूर्वी राज्य स्याक्सोनी-एनहाल्टमा आफ्ना मुख्य प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि रहँदै प्रभावशाली जिततर्फ अग्रसर भएको छ। यद्यपि स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने अनुमान गरिए तापनि एएफडीले आफूले शासन गर्ने जनादेश पाएको दाबी गरेको छ।

अधिकांश प्रारम्भिक मतपरिणाम गणना भइसक्दा एएफडी पार्टीले कीर्तिमानी ४४ प्रतिशत मत प्राप्त गर्ने दिशामा अघि बढेको छ। यो १७ प्रतिशत मत पाएको रूढिवादी दल ‘सिडुयु’ को तुलनामा निकै बढी हो।

सो राज्यका प्रभावशाली नेता उल्रिख सिगमन्डले यस नतिजालाई “असाधारण” भन्दै आफूहरू सकेसम्म चाँडो सरकार सञ्चालन गर्न चाहेको बताएका छन्। दोस्रो विश्वयुद्धयता कुनै पनि अति-दक्षिणपन्थी पार्टीले जर्मनीको कुनै पनि राज्यमा सत्ता हात पारेको छैन। राज्यस्तरमा सरकार सञ्चालन गर्नुको अर्थ प्रहरी प्रशासन, स्थानीय शिक्षा र संस्कृतिसम्बन्धी अधिकार प्राप्त गर्नु हो।

स्याक्सोनी-एनहाल्टको जनसङ्ख्या करिब २१ लाख (२.१ मिलियन) मात्र छ। त्यहाँको एएफडीलाई देशको गुप्तचर निकायले “दक्षिणपन्थी अतिवादी” समूहका रूपमा वर्गीकरण गरेको छ। तर ३५ वर्षीय नेता सिगमन्डले भने उक्त वर्गीकरणलाई अस्वीकार गर्दै आएका छन्।

सन् २०२१ को तुलनामा पार्टीले दोब्बरभन्दा बढी मत प्राप्त गर्ने सङ्केत ‘एक्जिट पोल’ (मतदानपछिको सर्वेक्षण) ले देखाएपछि सिगमन्डका साथै पार्टीका संयुक्त राष्ट्रिय नेताहरू एलिस वाइडल र टिनो क्रुपाला निकै उत्साहित देखिएका छन्।

राजनीतिक विश्लेषक र विपक्षीहरूले यस नतिजालाई एउटा निर्णायक मोड र ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेका छन्। प्रमुख टेलिभिजन च्यानल ‘दास एर्स्टे’ले चुनावी नतिजाको अर्थ र प्रभावबारे केन्द्रित हुन आफ्नो लोकप्रिय अपराध-कथामा आधारित शृङ्खला ‘टाटोर्ट’ को प्रसारणसमेत रद्द गरेको छ।

“यो केवल स्याक्सोनी-एनहाल्टको मात्र कुरा होइन,” सिगमन्डले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, “यो सम्पूर्ण जर्मनीका लागि एउटा सन्देश हो-आत्मविश्वासले भरिएको सन्देश।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन टेलिभिजनको प्रक्षेपणको स्क्रिनसट आफ्नो ‘ट्रुथ सोसियल’ प्लेटफर्ममा पोस्ट गरेका छन्। त्यसलगत्तै रुसी राष्ट्रपतिका विशेष दूत किरिल दिमित्रिभले ट्रम्पको उक्त पोस्टको स्क्रिनसट सेयर गर्दै “व्यावहारिक एएफडीको ऐतिहासिक जित” को प्रशंसा गरेका छन् ।

यसअघि पनि दिमित्रिभले रुस-मैत्री मानिने एएफडीको प्रशंसा गर्दै यसलाई “आशा, विवेक, सहकार्य र सत्यको पार्टी” भनेका थिए। गत वर्ष जर्मनीको संघीय निर्वाचनअघि अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले पनि यस पार्टीको समर्थन गरेका थिए, जसलाई जर्मनीमा राजनीतिक हस्तक्षेप भन्दै आलोचना गरिएको थियो।

अर्कोतर्फ पोल्याण्डका मध्य-दक्षिणपन्थी प्रधानमन्त्री डोनाल्ड टस्कले भने यस नतिजालाई बिल्कुलै फरक दृष्टिकोणबाट हेरेका छन्। उनले भनेका छन्, “पोल्याण्डमा केवल मूर्ख र गद्दारहरूले मात्र एएफडीको जितमा खुसी मनाउन सक्छन्।”

प्रतिक्रिया
सम्बन्धित समाचार