बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पाकिस्तानद्वारा बाढीपहिरो प्रभावित नेपालीका लागि १०० टन मानवीय सहायता

सोमबार, भाद्र २२ २०८३

-इमरान खान

काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपालीका लागि १०० टन मानवीय सहायता सामग्री नेपाल पठाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको निर्देशनमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) को समन्वयमा टेन्ट, कम्बल, म्याट, सरसफाइ सामग्री तथा औषधिलगायतका राहत सामग्री नेपाल पठाइएको हो।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार सहायता सामग्री बोकेको चार्टर्ड विमान इस्लामाबादबाट काठमाडौंका लागि उडेको छ। सहायता सामग्री पठाउनुअघि इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा संघीयमन्त्री तारिक फजल चौधरी, पाकिस्तानका लागि नेपालकी कार्यवाहक राजदूत रीता धिताल, विदेश मन्त्रालय, NDMA लगायतका अधिकारीहरूको उपस्थिति थियो।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले सामाजिक सञ्जालमार्फत नेपालमा मानवीय सहायता पठाइएको जानकारी दिँदै बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले विपद्को कठिन घडीमा प्रभावित नेपालीप्रति पाकिस्तानको साथ र ऐक्यबद्धता रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन्।
पाकिस्तानी विदेश मन्त्रालयले पनि उक्त सहायता नेपाल सरकार र नेपाली जनताप्रति पाकिस्तानको ऐक्यबद्धताको अभिव्यक्ति भएको जनाएको छ।
यसअघि शुक्रबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले नेपालकी कार्यवाहक राजदूत रीता धिताललाई भेटेर बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार