काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का सह–कोषाध्यक्ष अब्दुल बासिदले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि रु. ५ लाख ५५ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।
बासिदले गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत रु. ५ लाख ५ हजार सहयोग गरेका हुन् । उक्त रकम रसुवा–भोटेकोशी बाढीबाट प्रभावित भई हाल काठमाडौंको यलो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका पीडित परिवारहरूको राहत तथा सहयोगका लागि प्रदान गरिएको उनले बताएका छन् ।
त्यसैगरी, विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार १ रुपैयाँ जम्मा गरेका छन् ।
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षका रूपमा मात्र नभई जिम्मेवार नेपाली नागरिकका रूपमा पनि विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो कर्तव्य भएको बासिदले बताएका छन् ।
उनले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर कठिन परिस्थितिका बीच राहत तथा सहयोगमा खटिरहेका एनआरएनएका साथीहरू, स्वयंसेवक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
आफूले गरेको सहयोगको प्रचारभन्दा पनि अन्य व्यक्ति तथा संघसंस्थालाई समेत विपद् प्रभावित परिवारको सहयोगमा अगाडि बढ्न प्रेरित गर्ने उद्देश्यले सहयोगबारे जानकारी सार्वजनिक गरेको बासिदको भनाइ छ । सबैको सानो–सानो सहयोगले पीडित परिवारको जीवनमा ठूलो आशा जगाउन सक्ने भन्दै उनले आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।



