साउदी अरब । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
यूएईमा रहेका नेपाली समुदायबाट संकलन गरिएको उक्त रकम बाढी प्रभावितको राहतमा प्रयोग गर्ने उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो। संकलित रकम एनआरएनएको केन्द्रीय खातामा जम्मा गरिने जनाइएको छ।

सहयोग हस्तान्तरणका क्रममा एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले विपद्को समयमा स्वदेशमा रहेका नेपालीको पीडामा प्रवासी नेपाली समुदायले साथ दिनु आफ्नो मानवीय जिम्मेवारी भएको बताए।
उनले विदेशमा रहे पनि नेपालमा परेको विपत्तिले प्रवासी नेपालीलाई उत्तिकै प्रभावित बनाउने उल्लेख गर्दै बाढीबाट पीडित परिवारलाई तत्काल राहत र आगामी पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यूएईमा रहेका नेपालीबाट रकम संकलन गरिएको बताए।
अध्यक्ष ठकुरीले विपद्का नाममा संकलित सहयोग वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी रूपमा पुग्नुपर्नेमा जोड दिए। आवश्यकताअनुसार आगामी दिनमा पनि राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

यसअघि एनआरएनए केन्द्रीय कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ। संघले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, स्वास्थ्य सेवा तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
भदौ १० गते भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि स्वदेश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था र सामाजिक अभियन्ताहरू राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन सक्रिय भएका छन्।
प्रवासी नेपाली समुदायबाट प्राप्त आर्थिक तथा मानवीय सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
