शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

भोटेकोशी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने काम तीव्र पारिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाका अधिकांश स्थानीय तहमा विद्युत् सेवा सुचारु भइसकेको छ । नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

बाँकी क्षेत्रमा पनि मर्मत तथा पुनःस्थापना कार्य तीव्र रूपमा भइरहेको तथा वैकल्पिक व्यवस्थामार्फत विद्युत् सेवा विस्तार गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिकामा अवरुद्ध विद्युत् सेवा आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी मर्मत तथा पुनःस्थापना सम्पन्न गरेर पुनः सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका अनुसार सान्जेनखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह सुचारु गर्ने काम भइरहेको छ भने हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी विद्युत् सेवा विस्तार गर्ने तयारी गरिएको छ । बाढीबाट क्षतिग्रस्त वितरण तथा प्रसारण संरचनाको पुनर्निर्माणका लागि नयाँ पोल, लाइन तथा अन्य पूर्वाधार निर्माण र जडानको काम पनि भइरहेको छ ।

यसैबीच, बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ । नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ तथा सम्बन्धित आयोजनाका इन्जिनियर सम्मिलित संयुक्त टोलीले सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न विभिन्न उपकरण प्रयोग गरी उद्धार अभियानलाई तीव्रता दिइएको छ ।

मन्त्रालयका अनुसार उद्धार अभियानको पछिल्लो अवस्थाबारे नेपाली सेनाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्रीलाई ब्रिफिङसमेत गरेको छ । सो क्रममा मन्त्रीद्वयले आगामी उद्धार रणनीति तथा सुरुङमा फसेकाहरूको खोज तथा उद्धारको प्रगतिबारे जानकारी लिएका थिए ।

यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नुवाकोटको विदुरबाट संस्थागत तथा २० वाट पिक क्षमताका घरेलु सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गर्ने काम गरिरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रणाली तथा प्राविधिक जनशक्तिको परिचालनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक संघबीच पनि समन्वय भएको छ । संघले नेपालमा उपलब्ध सौर्य ऊर्जा प्रणालीका विभिन्न प्रविधि तथा प्राविधिक जनशक्तिको विस्तृत विवरण केन्द्रलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार