काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले ५ लाख ४१ हजार २४८ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समितिले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीपीडितको सहयोगार्थ सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानबाट हालसम्म ३ हजार ३५४ युरो संकलन भएको थियो। संकलित रकममध्ये ४ लाख १११ रुपैयाँ नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा र बाँकी १ लाख ४१ हजार १३७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिले जनाएको छ।
समितिले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन अवस्थामा सहयोग गर्ने संस्थाका संस्थापक तथा पूर्वसभापतिहरू, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, संरक्षक र सम्पूर्ण सहयोगी दाताहरूप्रति समितिले आभार व्यक्त गरेको छ। साथै, प्रभावितको साथमा उभिँदै सहयोग गर्ने सबैको मानवीय योगदानको उच्च सम्मान गरेको जनाएको छ।
समितिले हाललाई आर्थिक सहयोग संकलन अभियान स्थगित गरिएको पनि जानकारी दिएको छ। आगामी दिनमा सहयोग गर्न इच्छुक महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा व्यक्तिगत रूपमा अथवा अन्य उपयुक्त माध्यमबाट सहयोग गर्न समितिले अनुरोध गरेको छ।
रसुवामा आएको बाढीपछि देश तथा विदेशबाट राहत, उद्धार र पुनःस्थापनाका लागि आर्थिक तथा अन्य सहयोग जुट्ने क्रम जारी छ।
