ललितपुर। देश प्राकृतिक विपत्तिको पीडामा गुज्रिरहेका बेला ललितपुरको पाटनस्थित पूर्ण ट्रेडिङ इन्टरनेशल प्रा.लि.ले पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
देशका विभिन्न क्षेत्रमा विपत्तिका कारण नागरिकले ज्यान गुमाउने, परिवारका सदस्य बेपत्ता हुने तथा घर, व्यवसाय र सम्पत्तिमा ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा पीडितको दुःखमा साथ दिन कम्पनीले उक्त रकम राहत कोषमा जम्मा गरेको हो।
कम्पनीले सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्दै विपत्तिमा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। आर्थिक सहयोगले ठूलो समस्या समाधान नगरे पनि संकटको समयमा एकअर्काको पीडामा साथ दिनु नै मानवीय दायित्व भएको कम्पनीको भनाइ छ।
सहयोगबारे जानकारी दिँदै पूर्ण ट्रेडिङ इन्टरनेशल प्रा.लि.का अध्यक्ष सञ्जय मुल्मीले विपत्तिको समयमा सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै नागरिक तथा निजी क्षेत्रले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।
‘देशमा आइपरेको महाविपत्तिमा सरकार र पीडित जनतालाई सानो भए पनि मद्दत पुगोस् भनेर यो सहयोग गरेका हौँ,’ अध्यक्ष मुल्मीले भने, ‘विपत्तिमा परेका नागरिकको पीडा हाम्रो पनि पीडा हो। यस्तो कठिन समयमा एकअर्काको हात समातेर अघि बढ्नु नै मानवीय धर्म हो।’
उनले राहत रकम तत्कालको आवश्यकता पूरा गर्न मात्र नभई प्रभावित परिवारमा आशा र भरोसा जगाउने माध्यमसमेत बन्ने बताए। विपत्तिपछि प्रभावित क्षेत्रमा राहतसँगै पुनःस्थापना, पुनर्निर्माण र मानसिक रूपमा परेको असर न्यूनीकरणका काम पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ।
अध्यक्ष मुल्मीले कम्पनीले आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगमा आफ्नो तर्फबाट निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार राहत तथा पुनःस्थापनाका साथै प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श, आवश्यक सामग्री सहयोग तथा पुनर्निर्माणका कार्यमा समेत प्रत्यक्ष रूपमा सहयोग गर्ने कम्पनीको योजना छ।
‘राहत दिएर हाम्रो जिम्मेवारी पूरा भयो भन्ने होइन,’ उनले भने, ‘विपत्तिबाट प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन लामो समय लाग्न सक्छ। त्यसैले राहत, पुनःस्थापना र पुनर्निर्माणका आगामी चरणमा पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेछौँ।’
प्राकृतिक विपत्तिका बेला राज्यका संयन्त्रसँगै निजी क्षेत्र, सामाजिक संस्था तथा आम नागरिकबाट हुने सहयोगले पीडितलाई तत्काल राहत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। यस्ता सहयोगले विपत्तिमा परेका परिवारलाई आर्थिक राहत मात्र नभई आफूहरू एक्लो नभएको अनुभूति गराउने भएकाले यसको मानवीय महत्वसमेत रहने गर्छ।
पूर्ण ट्रेडिङको सहयोगले विपत्तिमा परेका नागरिकप्रति निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई पनि उजागर गरेको छ। संकटको घडीमा आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न सके विपत्तिको पीडा केही कम गर्न सकिने सन्देशसमेत यस सहयोगले दिएको छ।