काठमाडौँ । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) को नयाँ नेतृत्व चयन भएको छ। सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका हुन्। त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शर्माले २५१ मत ल्याएर जित हासिल गरे। उनले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरेका हुन्। त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतका साथ विजयी भइन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गरी जित सुनिश्चित गरे भने सचिवमा १९५ मतका साथ रमेश पराजुली निर्वाचित भए। कोषाध्यक्ष पदमा डिकी शेर्पाले २०८ मत ल्याएर विजयी भइन्। सह–सचिव/सह–कोषाध्यक्ष पदमा भने १६६ मतका साथ जीवन कोइराला निर्वाचित भएका छन्। ८ सदस्यीय कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सबैभन्दा धेरै २११ मत प्राप्त गरिन्।
निर्वाचित सदस्यहरूको नामावली र मत
प्रकाश लोहनी (२१० मत)
नवीन गुरुङ (२०५ मत)
दिनेश मैनाली (१८९ मत)
सुमनलाल श्रेष्ठ (१८८ मत)
स्वस्तिका प्रधान (१८४ मत)
संकेत दाहाल (१६५ मत)
विभास पौडेल (१५८ मत)
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, र सदस्यहरूको बृहत्तर सहभागितामा जोड दिने प्रतिबद्धता जनाएका छन्। उनको मुख्य एजेन्डामा ‘डिजिटल नाट्टा’ मार्फत सेवालाई आधुनिक बनाउने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, र पर्यटन व्यवसायमा रहेका नीतिगत अड्चनहरू फुकाउन पहल गर्ने रहेको छ।