बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो सुरु

मंगलबार, साउन २६ २०८३

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न अध्यक्ष वैद्यको आग्रह
काठमाडौँ(जस)–मंगलबारदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर थापाले एक्स्पोको उद्घाटन गर्दै आर्थिक विकासका लागि यातायात र मोबिलिटी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । “यस्ता प्रदर्शनीले नेपालको यातायात र मोबिलिटी क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास लिएको छुु । सडक सुरक्षा र ट्राफिक व्यवस्थापन र सवारी अनुशासन लगायतको पक्षमा ध्यान दिन जरुरी छ,” उनले भने, “नियामक निकाय र सरोकारवालाबीच समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा यातायात क्षेत्रलाई व्यवस्थित गराउन सकिन्छ ।”
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले एउटै छानोमुनि विभिन्न मोडेलका सवारीसाधनहरू प्रदर्शनीमा राखिएको बताइन् । यही साउन २६ देखि ३१ गतेसम्म चल्ने एक्स्पोमा दुई पाङ्ग्रे सवारीसाधनका १८ र चार पाङग्रे सवारीसाधनका २९ नयाँ ब्रान्ड सार्वजनिक गएिको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवाललगायतले यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित गराउनुपर्ने धारणा व्यक्त गरे ।
यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न आग्रह
नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले बताएकी छन् । उनले नेपालमा गतिशीलता (मोबिलिटी) लाई केवल सवारीसाधनको प्रयोगसँग मात्र नजोडी शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँचसँग सम्बन्धित विषयका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार यातायात प्रणालीको विकासले आर्थिक गतिविधि विस्तार गर्नुका साथै नागरिकको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
वैद्यले विश्वभर सवारीसाधन क्षेत्रमा तीव्र गतिमा प्रविधिगत परिवर्तन भइरहेको उल्लेख गर्दै नेपालले पनि त्यसअनुसार आफ्नो नीति, कर प्रणाली र नियमनलाई समयानुकूल बनाउनुपर्ने बताइन् । नयाँ प्रविधिका सवारीसाधनबारे सरकार र उद्योग दुवैले गहिरो अध्ययन गर्नुपर्ने उनको भनाइ छ । ‘प्रविधिको तीव्र विकाससँगै सवारीसाधनको बजारमा ठूलो परिवर्तन आइरहेको छ । सरकार र उद्योग दुवैले नयाँ प्रविधिलाई गहिराइमा बुझेर कर प्रणाली, वर्गीकरण र नियमनलाई स्पष्ट बनाउनुपर्छ,‘उनले भनिन् । उनले नाइमा नयाँ प्रविधिका सवारीसाधनसम्बन्धी आवश्यक प्राविधिक सहयोग तथा विज्ञता उपलब्ध गराउन तयार रहेको पनि स्पष्ट पारिन् । वैद्यका अनुसार नेपालको यातायात क्षेत्रका प्रमुख आवश्यकता सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक सवारी परीक्षण केन्द्र र दक्ष जनशक्ति हुन्। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेका बेला चार्जिङ पूर्वाधारको विस्तार र गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।
सवारीसाधनको संख्या निरन्तर बढ्दै जाँदा सडक सुरक्षालाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने उनको जोड छ । यातायात क्षेत्रको विस्तारसँगै दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने उनले उल्लेख गरिन् । सरकारले यातायातलाई विलासिताको वस्तु वा राजस्व संकलनको माध्यमका रूपमा मात्र नहेरी राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने वैद्यको भनाइ छ । उनका अनुसार यातायात पूर्वाधारमा गरिएको लगानीले उत्पादन, व्यापार, पर्यटन र रोजगारीमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ ।
त्यस्तै, उनले लगानीमैत्री वातावरण निर्माणका लागि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताइन् । नीतिमा पटक–पटक हुने परिवर्तन र अस्पष्टताले व्यवसायी तथा लगानीकर्तामा अन्योल सिर्जना गर्ने भएकाले स्पष्ट र पूर्वानुमानयोग्य नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । वैद्यले दशकौँदेखि लगानी, कर योगदान र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य थप सुदृढ हुनुपर्नेमा पनि जोड दिइन् । उनका अनुसार सार्वजनिक र निजी क्षेत्रको सहकार्यबाट मात्र नेपालको यातायात क्षेत्रलाई आधुनिक, सुरक्षित र दिगो बनाउन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार