आइतबार, साउन २४ २०८३
तुल्सीराम पाण्डे,नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको राजनीतिक दल हो। यसको राजनीतिक यात्रा केवल सत्ता र निर्वाचनको अंकगणितमा सीमित छैन । लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र राजनीतिक स्वतन्त्रताका लागि भएका संघर्षसँग यसको इतिहास जोडिएको छ। त्यसैले कांग्रेसको आन्तरिक लोकतन्त्र, नेतृत्व चयन र संगठनात्मक निर्णयको विषयलाई सामान्य राजनीतिक विवादका रूपमा मात्र हेर्न मिल्दैन। कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यास कमजोर हुँदा त्यसको असर पार्टीमा मात्र होइन, नेपालको समग्र लोकतान्त्रिक संस्कारमा समेत पर्न सक्छ।
यतिबेला नेपाली कांग्रेसको अधिवेशन, नेतृत्व चयन र त्यससँग जोडिएका कानुनी प्रश्नलाई लिएर विभिन्न कोणबाट बहस भइरहेका छन्। कानुनी उपचार खोज्ने अधिकार सबैलाई छ। अदालतमा सुनुवाइको अवसर पाउनु संवैधानिक तथा कानुनी अधिकारको विषय हो । न्यायालयको स्वतन्त्रता, निष्पक्षता र गरिमाप्रति सम्मान गर्नुपर्छ। तर कानुनी प्रक्रियाको सम्मान गर्नु र सम्पन्न भइसकेको राजनीतिक प्रक्रियालाई नै उल्ट्याएर पार्टीको नेतृत्वको फैसला अदालतबाट खोज्नु एउटै कुरा होइन।
यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ कांग्रेसको नेता अदालतले छान्ने कि कांग्रेसका कार्यकर्ताले ?
मेरो स्पष्ट धारणा छ कांग्रेसको नेता अदालतले होइन, पार्टीका कार्यकर्ता र प्रतिनिधिले छान्नुपर्छ।
अदालतको आफ्नै संवैधानिक र कानुनी दायरा छ। न्यायालयले संविधान र कानुनको व्याख्या गर्छ, विवादको न्यायिक निरूपण गर्छ र नागरिकका अधिकारको संरक्षण गर्छ। तर राजनीतिक दलको अधिवेशन सञ्चालन गर्ने, उम्मेदवारबीच प्रतिस्पर्धा गराउने, कार्यकर्ताको मतबाट नेतृत्व चयन गर्ने र पार्टीको राजनीतिक दिशा निर्धारण गर्ने जिम्मेवारी न्यायालयको होइन।
यो बुझ्न जटिल राजनीतिक दर्शन आवश्यक पर्दैन। लोकतान्त्रिक पार्टीको नेतृत्वको वैधताको मूल स्रोत नै कार्यकर्ताको मत हो। पार्टीको विधान त्यसको संस्थागत आधार हो र अधिवेशन त्यसको लोकतान्त्रिक माध्यम हो।
निर्वाचन भयो। उम्मेदवारी दर्ता भयो। नेताहरूले प्रतिस्पर्धा गरे। कार्यकर्तासँग मत मागियो। प्रतिनिधिले मतदान गरे। परिणाम आयो। लोकतान्त्रिक प्रक्रियाको यही स्वाभाविक क्रम हो। अब आफूअनुकूल परिणाम आएन भन्दै त्यही प्रक्रियामाथि प्रश्न उठाउने र सम्पूर्ण राजनीतिक प्रक्रियालाई पुन उल्ट्याउने प्रयास गर्ने हो भने त्यसलाई लोकतान्त्रिक अभ्यास कसरी मान्न सकिन्छ?
निर्वाचनमा सहभागी हुनु, प्रतिस्पर्धा गर्नु र परिणाम स्वीकार गर्नु लोकतान्त्रिक संस्कार हो। आफूले जित्दा लोकतन्त्र सही र आफूले हार्दा लोकतन्त्र गलत भन्ने मानसिकताले कुनै पनि पार्टीलाई बलियो बनाउन सक्दैन।
‘सुनुवाइ भएन’ भन्ने विषयमा कानुनी उपचार खोज्नु स्वाभाविक हो। त्यसमा आपत्ति छैन। अदालतले आफ्नो क्षेत्राधिकारभित्र रहेर सुनुवाइ गर्न सक्छ, प्रमाण र कानुनी आधारका आधारमा निर्णय गर्न सक्छ। तर सुनुवाइको अधिकारलाई आधार बनाएर सम्पन्न भइसकेको राजनीतिक प्रक्रियालाई नै निष्प्रभावी बनाउने र पार्टीको नेतृत्व चयनको अधिकार न्यायालयतर्फ सार्ने अभ्यास भने राजनीतिक दलको आन्तरिक लोकतन्त्रका लागि स्वस्थ हुन सक्दैन।
सुनुवाइको अधिकार र राजनीतिक नेतृत्व चयन फरक विषय हुन्। अदालतमा मुद्दा पर्न सक्छ। अदालतले फैसला गर्न सक्छ। तर त्यसको अर्थ राजनीतिक दलको नेतृत्व चयनको अन्तिम अधिकार पनि अदालतकै हुनुपर्छ भन्ने होइन। अदालतले कानुनको परीक्षण गर्न सक्छ, तर कार्यकर्ताको मतको स्थान लिन सक्दैन।
त्यसैले आज कांग्रेसभित्र हामीले आफैँलाई सोध्नुपर्ने प्रश्न हो अदालतलाई पार्टीको अधिवेशन बनाउने कि कांग्रेसलाई बलियो बनाउने?
कांग्रेसभित्र असहमति हुनु अस्वाभाविक होइन। लोकतान्त्रिक पार्टीमा विचार फरक हुन सक्छन्। नेतृत्वप्रति असन्तुष्टि हुन सक्छ। उम्मेदवारबीच प्रतिस्पर्धा हुन सक्छ। निर्वाचनमा हार जित हुन सक्छ। तर यी सबै विषयको समाधान पार्टीको विधान, संस्थागत संरचना र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ।
पार्टीभित्रको विवाद समाधान गर्ने पहिलो र स्वाभाविक ठाउँ पार्टीकै आन्तरिक लोकतान्त्रिक संरचना हो। हरेक राजनीतिक असहमतिको अन्तिम गन्तव्य अदालत बनाउँदै जाने हो भने राजनीतिक दलको आफ्नै संस्थागत क्षमता कमजोर हुन्छ। पार्टीभित्र निर्णय गर्ने संस्कार हराउँदै जान्छ र हरेक निर्णय बाह्य प्रक्रियामा निर्भर बन्न पुग्छ।
लोकतन्त्रको सुन्दर पक्ष यही हो कि यसले असहमतिको अधिकार दिन्छ, तर परिणाम स्वीकार गर्ने जिम्मेवारी पनि दिन्छ। निर्वाचनमा हारियो भने अर्को निर्वाचनको तयारी गर्न सकिन्छ। नेतृत्वको निर्णय चित्त बुझेन भने विधानअनुसार आलोचना गर्न सकिन्छ। कमजोरी भए सुधारको माग गर्न सकिन्छ। तर हरेकपटक परिणाम नै अस्वीकार गर्ने र सम्पूर्ण प्रक्रियालाई शंकाको घेरामा राख्ने हो भने संस्थागत लोकतन्त्र कसरी बलियो हुन्छ?
सागरमा धेरै पानी बगिसक्यो । अब कांग्रेसलाई बारम्बार विगततर्फ फर्काएर राख्ने कि भविष्यतर्फ अघि बढाउने? हरेकपटक नयाँ विवाद सिर्जना गरेर अधिवेशन, नेतृत्व र निर्णयलाई पुनः प्रश्नको घेरामा राख्ने हो भने कांग्रेस कहिले स्थिर हुन्छ? पार्टीले कहिले संगठन निर्माण गर्छ? कार्यकर्ताले कहिले आफ्नो राजनीतिक भविष्यप्रति विश्वास गर्ने वातावरण पाउँछन्?
कांग्रेसलाई अब विवादको चक्रबाट बाहिर निकाल्नुपर्छ। विगतमा कमजोरी भएका छन् भने स्वीकार गरौँ। त्रुटि भएका छन् भने सच्याऔँ। निर्णयमा कमजोरी देखिएको छ भने सुधार गरौँ। तर निर्णय भइसकेपछि त्यसलाई संस्थागत गर्दै अघि बढ्ने राजनीतिक संस्कार पनि विकास गरौँ।
कांग्रेसलाई कमजोर बनाउने सबैभन्दा ठूलो खतरा बाहिरबाट मात्र आउँदैन। कहिलेकाहीँ पार्टीभित्रको निरन्तर असहमति, अविश्वास, गुटगत स्वार्थ र निर्णय स्वीकार नगर्ने प्रवृत्ति नै संगठनका लागि ठूलो चुनौती बन्न सक्छ।
विपक्षीसँग राजनीतिक प्रतिस्पर्धा गर्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। तर आफ्नै पार्टीलाई निरन्तर विवादमा अल्झाइराखेर विपक्षीलाई राजनीतिक अवसर उपलब्ध गराउनु बुद्धिमानी होइन।
कांग्रेसलाई हराउने विपक्षीभन्दा कांग्रेसलाई आफैँभित्र अल्झाइराख्ने प्रवृत्ति बढी खतरनाक हुन्छ।
त्यसैले अहिले कांग्रेसलाई विवादभन्दा निर्णय, विभाजनभन्दा एकता र विगतको हिसाबभन्दा भविष्यको राजनीतिक यात्रातर्फ केन्द्रित गर्न आवश्यक छ।
विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको कार्यसमितिलाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ। नयाँ कार्यसमिति आएको छ भने त्यसलाई काम गर्ने अवसर दिनुपर्छ। नयाँ नेतृत्वसँग नयाँ सोच, नयाँ ऊर्जा र नयाँ प्राथमिकता हुन सक्छ। त्यसको मूल्यांकन कामका आधारमा गरौँ, सुरुदेखि नै विवादको घेरामा राखेर होइन।
विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको कार्यसमिति नेपाल र नेपालीका लागि, नेपाली कांग्रेसका लागि र समग्र नेपालको राजनीतिका लागि २४ क्यारेटको शुद्ध सुन हो।
२४ क्यारेटको सुन भन्नुको अर्थ त्यसमा कुनै कमजोरी हुन सक्दैन भन्ने होइन। राजनीतिक नेतृत्व पनि मानवीय संस्था हो। निर्णयमा त्रुटि हुन सक्छ। काम गर्ने क्रममा कमजोरी देखिन सक्छ। तर कमजोरी सच्याउने अवसर नदिई नेतृत्वलाई निरन्तर विवादमा तानिरहने हो भने कुनै पनि संस्थाले परिणाम दिन सक्दैन।
नयाँ कार्यसमितिले नयाँ ऊर्जा, नयाँ सोच र नयाँ विश्वासका साथ कांग्रेसलाई अझ सशक्त, एकताबद्ध, गतिशील र जनमुखी बनाउने आधार निर्माण गर्न सक्छ। त्यसका लागि नेतृत्वलाई काम गर्ने वातावरण चाहिन्छ। कार्यकर्ताको साथ चाहिन्छ। आलोचना भए रचनात्मक आलोचना चाहिन्छ। असहमति भए संस्थागत असहमति चाहिन्छ।
कांग्रेसको अबको यात्रा केवल नेतृत्वको प्रश्नमा सीमित हुनु हुँदैन। संगठनलाई गाउँदेखि केन्द्रसम्म मजबुत बनाउने, कार्यकर्ताको मनोबल बढाउने, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, युवालाई पार्टीको मूलधारमा ल्याउने र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्ने विषयमा बहस हुनुपर्छ।
कांग्रेस ऐतिहासिक राजनीतिक शक्ति हो। त्यसैले यसको आन्तरिक लोकतन्त्र पनि उदाहरणीय हुनुपर्छ। पार्टीको विधानलाई सम्मान गर्ने, अधिवेशनको निर्णयलाई स्वीकार गर्ने र कार्यकर्ताको मतलाई सर्वोच्च राजनीतिक आधार मान्ने संस्कार बलियो भयो भने मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिकालाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा विस्तार गर्न सक्छ।
न्यायालयको सम्मान गर्नु हाम्रो लोकतान्त्रिक दायित्व हो। अदालतको निर्णयको सम्मान गर्नुपर्छ। तर राजनीतिक दलको आन्तरिक जीवनमा पार्टीको विधान, अधिवेशन र कार्यकर्ताको मतको भूमिकालाई पनि कमजोर पार्नु हुँदैन।
अदालत कानुनी न्यायको थलो हो। पार्टीको अधिवेशन राजनीतिक निर्णयको थलो हो। यी दुईको भूमिकालाई मिसाउने होइन, दुवैको संवैधानिक र लोकतान्त्रिक मर्यादा कायम राख्ने हो।
अब कांग्रेसलाई पछाडि तान्ने राजनीति होइन, अगाडि बढाउने राजनीति आवश्यक छ। निर्णय स्वीकार्ने संस्कार चाहिएको छ। गल्ती भए सुधार्ने साहस चाहिएको छ। कमजोरी भए सच्याउने इमानदारी चाहिएको छ र सबैभन्दा महत्वपूर्ण, कार्यकर्ताको मतलाई सम्मान गर्ने राजनीतिक संस्कार चाहिएको छ।
कांग्रेसको नेतृत्वको वैधता अदालतको आदेशबाट होइन, कार्यकर्ताको विश्वासबाट स्थापित हुनुपर्छ। नेतृत्व चयनको अन्तिम आधार कार्यकर्ताको मत हुनुपर्छ। पार्टीको भविष्य मुद्दा मुद्दाबाट अदालतको ढोकामा होइन, अधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाट तय हुनुपर्छ।
त्यसैले आज फेरि प्रश्न गरौँ अदालतलाई पार्टीको अधिवेशन बनाउने कि कांग्रेसलाई बलियो बनाउने?
मेरो उत्तर स्पष्ट छ अदालतको सम्मान गरौँ, कानुनी प्रक्रियालाई सम्मान गरौँ, तर कांग्रेसको नेतृत्व र भविष्यको फैसला कांग्रेसका कार्यकर्ताको मतबाट हुन दिऔँ।
किनकि कांग्रेसको शक्ति अदालतको आदेशमा होइन, कार्यकर्ताको विश्वासमा छ। कांग्रेसको भविष्य कानुनी विवादको अन्तहीन चक्रमा होइन, लोकतान्त्रिक निर्णय, संगठनात्मक एकता र जनताको भरोसामा छ।
२४ क्यारेटको सुनजस्तै शुद्ध, बलियो र मूल्यवान् विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको कार्यसमितिलाई काम गर्न दिऔँ।
कांग्रेसलाई अल्झाउने होइन, कांग्रेसलाई अघि बढाउने बाटो रोजौँ।
तुल्सीराम पाण्डे
हाल कतार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij