सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ

सोमबार, साउन १८ २०८३

काठमाडौं(जस)–काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्ने ‘कर्मा समूह’लाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो प्रहरी अपरेशनमार्फत नियन्त्रणमा लिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घुँडामुनि गोली प्रहार गरी पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार पछिल्ला केही महिनादेखि काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोटरसाइकल प्रयोग गरी सिक्री लुटपाटका घटना लगातार बढिरहेका थिए । घटनाको शैली एउटै देखिएपछि प्रहरीले विगतका गुण्डागर्दी, चोरी तथा डाँकाका घटनाको प्रोफाइलिङ गर्दै अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा संगठित रूपमा सक्रिय रहेको ‘कर्मा समूह’ नै घटनामा संलग्न रहेको खुलेपछि विशेष टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा कोटेश्वर, नयाँ बानेश्वर, टोखा तथा बनेपामा भएका सिक्री लुटपाटका घटनामा प्रत्यक्ष संलग्न चार जनालाई साउन १५ गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरिएको थियो । उनीहरूको बयान तथा थप अनुसन्धानका आधारमा समूहका नाइके कर्मा तामाङको बसोबास र आवतजावत हुने सम्भावित स्थान पहिचान गरी खोजी तीव्र पारिएको थियो । प्रहरीले साउन १६ गते राति १०ः२५ बजे काठमाडौं महानगरपालिका–१३ चुनिखेलस्थित गाम्चा पानीट्याङ्की नजिकबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका कर्मा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा कर्मा तामाङले आफूसँग रहेको खुकुरी निकालेर प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो । तर उनले आक्रमण जारी राख्दै मोटरसाइकलमा भाग्ने प्रयास गरेपछि प्रहरीले घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । घाइते तामाङलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर पठाई उपचार गराइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, विभिन्न मोटरसाइकलका पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने टी–लक र मास्टर कीसहितका उपकरण बरामद गरेको छ ।
प्रहरी अनुसन्धानले समूहले अत्यन्त योजनाबद्ध ढंगले अपराध गर्दै आएको देखाएको छ । प्रहरीका अनुसार समूहले मुख्य रूपमा महिला तथा वृद्धवृद्धालाई निगरानी गरी उनीहरूको गतिविधि पछ्याउने गथ्र्यो । सुनका गरगहना लगाएका व्यक्तिलाई लक्ष्य बनाएपछि बाटो सोध्ने बहानामा वा पछाडिबाट अचानक आक्रमण गरेर सिक्री लुट्ने गरेको खुलेको छ । समूहले विशेषगरी २२० सीसी क्षमताका पल्सर मोटरसाइकल चोरी गर्ने, चोरी गरेलगत्तै नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि फेरि नम्बर प्लेट तथा स्वरूप परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले समूहको संलग्नता पुष्टि भएका घटनामध्ये असार १३ गते काठमाडौंको शान्तिनगरमा बिहान तरकारी बजारतर्फ जाँदै गरेका एक व्यक्तिलाई ‘पेप्सिकोला जाने बाटो’ सोध्ने बहानामा लडाएर करिब दुई दशमलव पाँच तोलाको सुनको सिक्री लुटिएको घटना पनि रहेको जनाएको छ । त्यसैगरी असार १५ गते नरेफाँट नीलोपुल क्षेत्रमा जडीबुटी जाने बाटो सोधेर तीन तोलाको सुनको सिक्री लुटिएको घटना, सोही दिन बनेपामा दूध लिन गएका व्यक्तिको एक तोला २० लाल बराबरको सुनको सिक्री लुटिएको घटना तथा साउन ७ गते धापासी हाइट मन्दिर नजिक ६६ वर्षीया महिलाको एक तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका व्यक्तिहरूले लुटेको घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । यी घटनामा पीडितलाई लछारपछार गर्ने, घाँटी थिच्ने, कुटपिट गर्ने तथा प्रतिकार गर्न खोजे थप हिंसा प्रयोग गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले यस प्रकरणमा पाँच जनालाई पक्राउ गरेको छ । प्रतिमान गोले धुलिखेल–१०, काभ्रेपलाञ्चोक निवासी हुन् । उनी समूहका मुख्य राइडर रहेको प्रहरीको भनाइ छ । उनी यसअघि डाँका चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएका थिए । पछि पुनः पक्राउ परेर सजाय भुक्तान गरी तीन साताअघि मात्र छुटेको खुलेको छ । पासाङ घिसिङ ९३०० पनौती–९ निवासी हुन् । उनी मोटरसाइकल चोरीमा कुख्यात रहेको र समूहलाई आवश्यक मोटरसाइकल चोरी गरी उपलब्ध गराउने व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा काठमाडौंमा मात्रै २० भन्दा बढी मोटरसाइकल चोरीमा उनको संलग्नता देखिएको छ ।
आले गुरुङ कास्की सारङकोटका स्थायी बासिन्दा हुन् । उनी घटनाका बेला हतियारसहित घटनास्थल वरपर बसेर आवश्यक पर्दा बल प्रयोग गर्ने जिम्मेवारीमा रहेको अनुसन्धानबाट खुलेको छ । मनोज तामाङ बनेपामा सुन पसल सञ्चालन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले लुटिएका सुनका गरगहना गाल्ने, स्वरूप परिवर्तन गर्ने र बिक्री गर्ने भूमिका निर्वाह गरेको अनुसन्धानबाट खुलेको छ । समूहका नाइके कर्मा तामाङ भने चोरी तथा लुटपाटको सम्पूर्ण योजनाकार रहेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न नौ वटा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
नी प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएपछि पुनः काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी तथा सिक्री लुटपाटमा सक्रिय भएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका सबैमाथि चोरी, डाँका तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले फरार रहेका व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले नागरिकलाई विशेषगरी बिहान र बेलुकाको समयमा सुनका गरगहना देखिने गरी नलगाउन, शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न तथा अपरिचित व्यक्तिले बाटो सोध्ने वा नजिकिने क्रममा सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार