शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

कतारमा भानु जयन्ती तथा नवोदितको १८औँ अधिवेशन

गजल गायक राज सिग्देलको गजल साँझ र तीन कृतिको विमोचनले थप्यो रौनक

आइतबार, साउन ३ २०८३

दोहा, कतार । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको ऐतिहासिक अवसर पारेर कतारमा स्थापित प्रतिष्ठित साहित्यिक संस्था ‘नवोदित साहित्यिक वाचन कतार’ को १८औँ अधिवेशन, १७१औँ वाचन डबली तथा विशेष सुमधुर गजल साँझ भव्यताका साथ सम्पन्न भएको छ। कतारको दोहास्थित प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा शुक्रवार आयोजित उक्त विशेष समारोहमा सुगम सङ्गीतको अभूतपूर्व त्रिवेणी सङ्गम देखिएको थियो।

अधिवेशनले शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। ओली लगातार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वितीय उपाध्यक्षमा पूर्णकाञ्छा गुरुङ, मोबाइल पुस्तकालय संयोजकमा गोविन्द उदासी, महासचिवमा सुजता डिसी, सचिवमा पाण्डव थापामगर, कोषाध्यक्षमा रामप्रसाद लुइँटेल तथा सह-कोषाध्यक्षमा राजु सुवेदी चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरूमा गणेश बस्याल, पवन गुरुङ, योगेन्द्र सुवेदी, सरुजा कार्की, रिता ढुङ्गेल र मीन थापा रहेका छन्। अनेसास कतार च्याप्टरका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक दिलीप पराजुलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

समारोहमा नेपाली भाषा, छन्द कविता र बाल साहित्यको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ अनेसासद्वारा प्रकाशित तीन कृतिहरू ‘संस्कृतिको सिरानी’, बाल साहित्य विधाको ‘धराका सितारा’ र छन्द कविता सङ्ग्रह ‘छन्द गुञ्जन’ पुस्तकहरूको प्रमुख अतिथि र मञ्चासीन व्यक्तित्वहरूद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो। विमोचित पुस्तकका बारेमा साहित्यकार प्रेमप्रसाद भट्टराईले संक्षिप्त विचार राखेका थिए। कार्यक्रमको मुख्य साङ्गीतिक आकर्षण नेपालका प्रख्यात गजलकार, सुगम सङ्गीतकार तथा गायक राज सिग्देलको एकल गजल प्रस्तुति रहेको थियो। साँझको करिब साढे आठ बजे जीवन्त वाद्यवादन (लाइभ म्युजिक) का साथ मञ्चमा उक्लिएका सिग्देलले औपचारिकताको घेरा तोड्दै टाढा बसेका दर्शकहरूलाई अगाडि आएर पल्टी कसेर बस्न आग्रह गरे। कलाकारको उक्त आत्मीय आग्रहलाई श्रोताहरूले सहर्ष अनुसरण गरेपछि हलभित्रको वातावरण शास्त्रीय सङ्गीतको पारम्परिक ‘महफिल’ जस्तै जीवन्त बनेको थियो।

“सङ्गीत केवल ओठको प्रस्तुति वा मनोरञ्जनको क्षणिक साधन मात्र होइन, यो मानव जीवनका गहिरा अनुभूति र भावनाहरूलाई एकाकार गर्ने माध्यम हो,” प्रस्तुतिकै क्रममा भावुक बन्दै गायक सिग्देलले उल्लेख गरे। शास्त्रीय आलापबाट साङ्गीतिक ढोका उघार्दै उनले पहिलो प्रस्तुतिका रूपमा ‘देशले रगत मागे मलाई बलि चढाऊ’ बोलको देशभक्तिपूर्ण गीत पस्कँदै हलमा राष्ट्रियताको तरङ्ग पैदा गरे। त्यस लगत्तै उनले ‘तिमीसँग अरूलाई देख्दा’, ‘म रोए पनि तिमी हाँसिराख्नु’, ‘बनै खायो डढेलोले’ र ‘देउता किन तिम्रो तस्बिर’ लगायतका आधा दर्जन लोकप्रिय सिर्जनाहरू प्रस्तुत गरे। उनले आफ्नो सर्वाधिक लोकप्रिय एवम् कालजयी गीत ‘ऊ जितेर गई या हारेर गई’ गाउँदा सम्पूर्ण हल जुरुक्क उठेर स्वरमा स्वर मिलाउँदै झुमेको थियो। दर्शक दीर्घाबाट लगातार ‘वान्स मोर’ को माग भएपछि उनले आफ्नै शब्द र सङ्गीतमा गजलसहित एउटा उत्कृष्ट हिन्दी गजलसमेत सुनाए। कतारमा नियमित हुने परम्परागत साप्ताहिक कार्यक्रमहरूभन्दा सर्वथा फरक, शास्त्रीय माधुर्यता र विशिष्ट सङ्गीत संयोजनले सुसज्जित यस डबलीले आम श्रोताको मनमस्तिष्कमा अमिट छाप छोड्न सफल भयो। सोही अवसरमा नेपाली सङ्गीत क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान र कतारमा रहेका नेपालीहरूलाई सुमधुर प्रस्तुतिमार्फत मनोरञ्जन दिन सफल भएकोमा आयोजकका तर्फबाट र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका तर्फबाट गायक सिग्देललाई खादा, दोसल्ला ओढाई सम्मान पत्रद्वारा भव्य सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कतारका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राईले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानको संरक्षणसँग जोडिएको ऐतिहासिक अवसर भएको बताए। संस्कृत रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको सुदृढ आधार निर्माण गरेको उल्लेख गर्दै उनले मातृभाषाप्रतिको सम्मान नै राष्ट्रप्रतिको सम्मान भएको धारणा राखे। शिक्षित वर्गबाट समेत नेपाली भाषा अशुद्ध लेखिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले शुद्ध नेपाली भाषाको प्रयोगमा विशेष ध्यान दिन आग्रह गरे। नवोदित साहित्यिक वाचन कतारले समय पालन, अनुशासन र स्तरीय कार्यक्रम सञ्चालनमार्फत अनुकरणीय उदाहरण प्रस्तुत गरेकोमा प्रशंसा गर्दै उनले लोक कवि अलि मियाँले प्रवाह गरेको राष्ट्रिय एकताको सन्देश स्मरण गर्दै भाषा र संस्कृतिको संवर्द्धनमा एकजुट हुन आह्वान गरे।

कार्यक्रममा नवोदितका द्वितीय उपाध्यक्ष पूर्णकाञ्छा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सरुजा कार्कीले स्वागत गीत प्रस्तुत गरेकी थिइन्। समारोहमा साहित्यकार सीताराम थापाले आदिकवि भानुभक्त आचार्यकै स्वरूप, भेसभुसा र भावभङ्गीमामा प्रस्तुत गरेको विशेष वाचन कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। थापाले आदिकविको जीवनयात्रा, साहित्यिक योगदान तथा मृत्युदेखि स्वर्ग लोकसम्मको कल्पनालाई कलात्मक र छन्दोबद्ध ढङ्गले जीवन्त रूपमा प्रस्तुत गर्दा सभा हल केही बेर स्तब्ध बनेको थियो।

समापन मन्तव्यका क्रममा सभाध्यक्ष ओलीले कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। कतारमा क्रियाशील विभिन्न वैचारिक, सामाजिक तथा जातीय सङ्घसंस्थाहरूका प्रमुखहरू, प्रबुद्ध बुद्धिजीवी, सञ्चारकर्मी, साहित्यकार तथा कला प्रेमी प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सन्तुलित सहजीकरण भने सञ्चारकर्मी सोम थापाले गरेका थिए।समय व्यवस्थापन र कार्यक्रम सञ्चालनमा देखिएको नयाँ अभ्यास

निर्धारित समयमा कार्यक्रम सुरु गर्ने र समयमै सम्पन्न गर्ने वास्तविक पहिचान बनाएको साहित्यिक समाजको उक्त कार्यक्रम हिजो केही मिनेट ढिलो सुरु भए पनि व्यवस्थापन पक्षमा अपनाइएको शैली भने प्रशंसनीय रह्यो। प्रमुख अतिथि र सभापतिबाहेक उपस्थित अन्य अतिथि, पाहुना तथा दर्शकहरूलाई सामूहिक रूपमा आसन ग्रहण गराइएको थियो। यसले औपचारिकतामा लाग्ने समय घटाउनुका साथै कार्यक्रमलाई सहज र प्रभावकारी बनाएको देखिन्थ्यो।

त्यसै गरी आयोजकले निमन्त्रणा गरेका अतिथि वर्गलाई हलको प्रवेशद्वारमै अतिथि ब्याज लगाएर सम्मान प्रदान गर्ने अभ्यास पनि फरक र अनुकरणीय रह्यो। समयको सदुपयोग गर्ने उद्देश्यले अपनाइएको यो शैली कार्यक्रम व्यवस्थापनको दृष्टिले निकै प्रभावकारी देखिएको थियो। यद्यपि केही मिनेट ढिलो सुरु भएको कार्यक्रम अबेर राति करिब १० बजेसम्म सञ्चालन भएको थियो। लामो समयसम्म चले पनि कार्यक्रमको आकर्षण, प्रस्तुति र सहभागिताले दर्शकहरूलाई अन्त्यसम्म जोडेर राख्न सफल भएको थियो।

श्रष्टा सम्मान अन्तर्गत नवोदित साहित्यिक वाचनालय कतारले प्रत्येक अधिवेशनमा निवर्तमान अध्यक्षलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि निवर्तमान अध्यक्ष सानु थपलियालाई दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार