काठमाडौं(जस)–मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने तथा अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा सरकारले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ । बीउबिजनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्दै कृषि क्षेत्रको बीउ व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले संशोधन नियमावली ल्याइएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीले अघि बढाएको प्रस्तावअनुसार उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
संशोधित नियमावलीले गुणस्तरीय बीउमा किसानको सहज पहुँच सुनिश्चित गर्ने, बीउ उत्पादन, प्रमाणीकरण, बिक्री–वितरण तथा नियमन प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । कृषि उत्पादनको आधारका रूपमा रहेको बीउको गुणस्तर कायम गर्न कानुनी सुधार आवश्यक रहेकाले समयअनुकूल परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाले बीउको गुणस्तर नियन्त्रण तथा नियमन प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । मन्त्री चौधरीले संशोधित नियमावली कार्यान्वयनमा आएपछि गुणस्तरीय बीउको उपलब्धता बढ्ने, किसानले सहज रूपमा भरपर्दो बीउ प्राप्त गर्ने र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा सकारात्मक प्रभाव पर्ने बताइन । मन्त्रिपरिषद्को निर्णयपछि संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।