निश्चल दाहाल
झापा । कानुनी प्रक्रिया पूरा गरी तेस्रो मुलुकबाट आयात गरिएको भनिएको ‘चाइनिज खरबुजाको बीउ’ प्रहरीले गोदामबाटै नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएपछि झापामा विवाद उत्पन्न भएको छ। बिलबिजक तथा करसम्बन्धी सम्पूर्ण कागजात हुँदाहुँदै प्रहरीले गोदाममै पुगेर सामान उठाएको भन्दै व्यवसायीहरूले प्रहरीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

घटनाअनुसार आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले भद्रपुरस्थित भीमलाल सुवेदीको घरमा रहेको दुईवटा सटर गोदाममा छापा मारेर ९४८ बोरा अर्थात् ३७ हजार ९२० केजी खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले उक्त सामान भद्रपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन्। प्रहरीको प्रतिवेदनमा सामान चोरी–तस्करी गर्ने उद्देश्यका साथ राखिएको उल्लेख गरिएको छ।

तर, सामान आयात गर्ने माँ दुर्गा अर्डर सप्लायर्सका सञ्चालक राजु थापामगरले भने सम्पूर्ण सामान विधिसम्मत रूपमा आयात गरिएको र त्यसका लागि आवश्यक सबै कर तथा भ्याट तिरेर अनलाइन बिल जारी भएको बताएका छन्। उनका अनुसार कुबेर एक्जिम काठमाडौं र पशुपति एक्जिम काठमाडौंमार्फत विभिन्न मितिमा खरिद गरिएको बीउको करिब ७० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको वैध बिल उपलब्ध छ। गोदामसमेत सम्बन्धित वडा कार्यालयमा विधिवत् दर्ता गरिएको उनको भनाइ छ।
थापामगरका अनुसार प्रहरीले गोदाममा पुग्नुअघि चाबी माग्दै फोन गरेको थियो। आफू भद्रपुर बाहिर रहेको र पुग्न केही घण्टा लाग्ने जानकारी दिँदै गोदाम सिल गरेर आफ्नो उपस्थितिमा खोल्न आग्रह गरे पनि प्रहरीले त्यसलाई बेवास्ता गर्दै सटर खोलेर सामान लगेको उनले आरोप लगाए। उनका अनुसार सीमाक्षेत्र वा तस्करी भइरहेको स्थानबाट नभई बजार क्षेत्रमा रहेको दर्ता भएको गोदामबाट सामान उठाइनु कानुनविपरीत हो।
घटनापछि बिलबिजकसहित जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरी प्रमुखसँग भेट हुन नसकेको र आफ्नो पक्ष सुनुवाइ नभएको थापामगरले बताए। उनले झापा उद्योग वाणिज्य संघका प्रतिनिधिसहित भद्रपुर भन्सार कार्यालयमा समेत कागजात पेश गरे पनि प्रहरीले पठाएको प्रतिवेदनका आधारमा भन्सारले सामान बुझेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अब न्यायका लागि अदालत जाने तयारी भइरहेको उनको भनाइ छ।
यता झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले वैध बिलबिजक भएको सामान सम्बन्धित व्यवसायीको उपस्थितिबिनै गोदामबाट नियन्त्रणमा लिनु कानुनी प्रक्रिया र व्यवसायिक अधिकारविपरीत भएको बताएका छन्। उनले यस्ता विषयमा आवश्यक कानुनी प्रक्रिया र सरोकारवालाको रोहबर अनिवार्य हुनुपर्ने धारणा राखे।
मेचीनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमियाले पनि सामाजिक सञ्जालमार्फत घटनाप्रति असन्तुष्टि जनाउँदै भन्सार तिरेर आयात गरिएको सामान गोदाममै अवैध ठहर गर्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन्। उनले सम्बन्धित व्यवसायीसँग आवश्यक सोधपुछ नगरी गरिएको कारबाहीमाथि प्रश्न उठाएका छन्।
उता भद्रपुर भन्सार कार्यालयका प्रमुख प्रभुनारायण मेहताले प्रहरीले राति नै सामान भन्सारको गोदाममा ल्याएर राखेको र त्यसपछि औपचारिक पत्र प्राप्त भएपछि बुझ्नुपरेको बताएका छन्। भन्सार मुद्दा शाखाका कर्मचारी प्रेम लामाका अनुसार प्रहरीले चोरी निकासी गर्ने उद्देश्य रहेको उल्लेखसहित करिब ८९ लाख ७७ हजार रुपैयाँ मूल्यांकन गरेर सामान बुझाएको हो। यद्यपि, यस विषयमा भन्सारको अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको जनाएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म ‘मेलन सिड’ शीर्षकमा तीन अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको करिब १९ हजार टन खरबुजा तथा तरबुजाको बीउ नेपाल आयात भएको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो आयात करिब १४ करोड रुपैयाँ बराबर मात्र रहेको थियो।