सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिपुरेश्वर घटनाको समग्र असर सडकमा, फुटपाथ र अव्यवस्थित पार्किङ फेरि बढ्यो

सोमबार, असार २९ २०८३

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि त्यसको प्रभाव अहिले काठमाडौंका सडकमा देखिन थालेको छ। घटनापछि महानगर प्रहरीले सडकमा आफ्नो सक्रियता घटाउँदा फुटपाथ अतिक्रमण, अव्यवस्थित पार्किङ र ट्राफिक व्यवस्थापनमा चुनौती बढेको देखिएको छ।

केही दिनअघिसम्म न्युरोड, असन, खिचापोखरी, रञ्जना गल्ली, महाबौद्ध, सुन्धारा र बानेश्वरलगायत क्षेत्रका फुटपाथ व्यवस्थित देखिन्थे। तर अहिले ती क्षेत्रमा फेरि फुटपाथ व्यवसायीहरूको उपस्थिति बढ्न थालेको छ। नो–पार्किङ क्षेत्रमा पनि सवारीसाधन जथाभावी राखिने क्रम बढेको छ।

महानगर प्रहरीका अनुसार गणेश नेपाली प्रकरणपछि फिल्डमा खटिने कर्मचारीहरूमा मनोवैज्ञानिक दबाब बढेको छ। नियमित कानुन कार्यान्वयनका क्रममा कुनै अप्रिय घटना दोहोरिन सक्ने चिन्ताले धेरै कर्मचारी सतर्क मात्र नभई केही हदसम्म निष्क्रिय देखिएका छन्।

गणेश नेपालीको मोटरसाइकलमा नियमविपरीत पार्किङ गरेको भन्दै ‘ह्विल लक’ लगाएपछि भएको विवाद उग्र बनेको थियो। त्यसक्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि महानगरको कार्यशैलीमाथि व्यापक बहस सुरु भयो।

घटनापछि सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र समिति गठन गर्ने र घटनास्थलमा खटिएका महानगर प्रहरी कर्मचारीलाई छानबिनको प्रतिवेदन नआउन्जेल निलम्बन गर्न सिफारिस गर्ने सहमति भएको थियो। महानगरका अधिकारीहरूका अनुसार त्यसले फिल्डमा खटिने प्रहरीको मनोबलमा प्रत्यक्ष असर पारेको छ।

यसैबीच संसद्मा गृहमन्त्री सुधन गुरुङले उक्त घटनामा नेपाल प्रहरी वा ट्राफिक प्रहरी नभई महानगर प्रहरीले मात्रै कारबाही गरेको स्पष्ट पारेपछि महानगरभित्र थप असन्तुष्टि देखिएको छ। महानगरका केही अधिकारीहरूले केन्द्र सरकारले स्थानीय तहको सुरक्षा संयन्त्रलाई आवश्यक अभिभावकत्व दिन नसकेको महसुस भएको बताएका छन्।

महानगर प्रहरीका एक अधिकारीका अनुसार अहिले कर्मचारीहरू चौतर्फी आलोचना, सामाजिक सञ्जालमा हुने गालीगलौज र सम्भावित भौतिक आक्रमणको त्रासबीच काम गर्न बाध्य छन्। सुरक्षा सुनिश्चित नभएसम्म फिल्डमा पहिलेजस्तो आक्रामक रूपमा परिचालन हुन कठिन भएको उनको भनाइ छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक असमान संगतले पनि कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै केही समयका लागि महानगर प्रहरीको सक्रियता घटाइएको बताए। उनका अनुसार यो स्थायी अवस्था नभई परिस्थिति सामान्य भएपछि महानगर प्रहरी पुनः नियमित रूपमा सडक व्यवस्थापनमा फर्किनेछन्।

महानगरभित्र नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउने विषयमा आन्तरिक छलफल भइरहेको पनि उनले जानकारी दिए। कार्यपालिका बैठकमा समेत यसबारे विस्तृत छलफल हुने तयारी रहेको उनको भनाइ छ।

महानगर प्रहरीको सक्रियता कमजोर बन्दै जाँदा यसको प्रत्यक्ष असर सडक व्यवस्थापनमा परेको देखिन्छ। फुटपाथमा फेरि पसल थाप्ने क्रम बढेको छ भने पैदलयात्रीले सहज रूपमा हिँड्न पाउने अवस्था कमजोर बनेको छ। यसअघि खाली गराइएका स्थानहरूमा लुगाकपडा, जुत्ता र अन्य सामग्री बेच्ने व्यापारीहरू पुनः देखिन थालेका छन्।

ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ। नो–पार्किङ क्षेत्रमा जथाभावी पार्किङ हुन थालेपछि सडक साँघुरो बनेको छ। त्यसको असर मुख्य चोकहरूमा ट्राफिक जाम बढ्नुका साथै पैदलयात्री सडकमै हिँड्न बाध्य हुने अवस्थाका रूपमा देखिन थालेको छ।

महानगरका अधिकारीहरू भने अहिले भइरहेका कारबाही कुनै व्यक्तिको इच्छाअनुसार नभई कानुनअनुसार नै हुँदै आएको दाबी गर्छन्। उनीहरूका अनुसार महानगर प्रहरी ऐन र आर्थिक ऐनले दिएको अधिकार प्रयोग गरेर फुटपाथ व्यवस्थापन तथा अव्यवस्थित पार्किङ नियन्त्रणको काम हुँदै आएको हो।

महानगरले २०८० सालमै महानगर प्रहरी ऐन जारी गरी नगर प्रहरीको अधिकार र जिम्मेवारी स्पष्ट गरेको थियो। त्यसैअनुसार प्रत्येक आर्थिक वर्षमा जरिवाना दरसमेत अद्यावधिक हुँदै आएको छ। आगामी आर्थिक वर्षका लागि पनि नयाँ आर्थिक ऐन लागू गर्ने तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार