अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय
काठमाडौं(जस)–नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ । सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भएको छ । आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले वित्तीय सूचकहरूमा ऐतिहासिक सफलता हासिल गरेको छ । बैंकले हाल ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बैंकले मुलुकको दिगो विकासका लागि प्राथमिकताका क्षेत्रहरूमा ठूलो लगानी गरेको छ, जसमा कृषि क्षेत्रमा ५३.३१ अर्ब, ऊर्जामा ५१.०६ अर्ब, साना तथा मझौला उद्योगमा ४५.९२ अर्ब र पर्यटन क्षेत्रमा ११.१० अर्ब रुपैयाँ लगानी गरी अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । यो तथ्याङ्कले बैंकको लगानी केवल नाफामा मात्र नभई मुलुकको उत्पादनशील क्षेत्रको विकासमा समेत केन्द्रित रहेको पुष्टि गर्दछ । सेवा विस्तारका हिसाबले बैंकले देशभर आफ्नो मजबुत उपस्थिति जनाएको छ । हाल बैंकले २६४ शाखा, ३१५ एटीएम र १८ वटा एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ । स्थापना कालमा मात्र २ वटा शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकमा हाल २ हजार ४६४ दक्ष कर्मचारीहरू कार्यरत छन् ।
डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकता दिँदै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत शतप्रतिशत डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस एपलाई नेपालकै अग्रणी ‘फाइनान्सियल सुपर एप’ बनाउने लक्ष्यका साथ बैंकले ग्राहकलाई घरमै बसेर खाता खोल्नेदेखि अन्तर्राष्ट्रिय भुक्तानीसम्मका सुविधाहरू उपलब्ध गराएको छ । नबिल बैंकले आफ्नो ४२ वर्षे यात्रामा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिकतामा समेत नयाँ मानक स्थापित गरेको छ । बैंकले हालसम्म ८ पटक ’सर्वाधिक करदाता’ र १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गर्नुले यसको वित्तीय सुशासनप्रतिको प्रतिबद्धता झल्काउँछ । ४२ वर्षको अनुभव, बलियो पुँजीगत आधार र अत्याधुनिक प्रविधिलाई साथ लिएर बैंक अब नेपालको आर्थिक रूपान्तरणको अर्को अध्याय लेख्ने तयारीमा छ । आगामी दिनमा दिगो विकास, हरित वित्त र उत्कृष्ट ग्राहक सेवामार्फत सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै मुलुकको समृद्धिमा अझ सशक्त भूमिका खेल्ने बैंकले अठोट लिएको छ ।
उत्पादनशील क्षेत्रमा डेढ खर्ब भन्दा बढी लगानी
नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ । ‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार, बैंकले प्रवाह गरेको कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।
बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, देशको उज्यालो भविष्यसँग जोडिएको जलविद्युत र ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ लगानी गर्दै नबिलले राष्ट्रिय ऊर्जा संकट समाधान र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । बैंकको लगानीको अर्को बलियो खम्बाको रूपमा लघु, घरेलु, साना तथा मझौला उद्यम रहेको छ । तल्लो तहमा रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न बैंकले यस क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै, विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन क्षेत्रमा पनि बैंकले ११ अर्ब १० करोड रुपैयाँ लगानी गरी पर्यटन पूर्वाधार विकासमा सहयोग पु¥याएको छ ।
यी क्षेत्रहरूमा गरिएको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ, जसले बैंकको कुल कर्जा पोर्टफोलियोको उल्लेखनीय हिस्सा ओगट्छ । ४२ वर्षअघि सन् १९८४ मा स्थापना हुँदा केवल १३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको बैंकले अहिले ४ खर्ब ६४ अर्बको उचाइ तय गर्नुमा उत्पादनशील क्षेत्रप्रतिको विश्वास नै मुख्य कारण रहेको बैंकले जनाएको छ । २६४ शाखा र ३१५ एटीएमको राष्ट्रव्यापी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिलले डिजिटल प्लेटफर्म मार्फत पनि यस्ता कर्जा सुविधाहरूलाई ग्राहकको सहज पहुँचमा पु¥याएको छ ।
आफ्नो वित्तीय यात्रामा आठ पटकसम्म ’उत्कृष्ट करदाता’ र १० पटकसम्म ’नेपालको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्राप्त गरिसकेको नबिल बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङ्गको माध्यमबाट नेपालको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले केवल नाफा आर्जन मात्र नभई, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न र ग्रामीण स्तरसम्म वित्तीय समावेशिता पु¥याउन आफ्ना लगानीका क्षेत्रहरूलाई थप विविधिकरण गर्दै लैजाने लक्ष्य लिएको छ ।