शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

निराशाको पराकाष्ठा, तीन दिनभित्र तीन आत्मदाहले हल्लायो देश

आइतबार, असार २८ २०८३

काठमाडौँ । देशमा व्याप्त आर्थिक मन्दी, बेरोजगारी र राज्य संयन्त्रको कठोर व्यवहारले नागरिकहरूलाई कुन हदसम्म निराशाको भुमरीमा धकेल्दै छ भन्ने भयावह तस्बिर पछिल्लो ७२ घण्टामा देखिएका तीनवटा आत्मदाहका घटनाले प्रस्ट पारेको छ ।
काठमाडौँको सडकदेखि घरको भान्सासम्म र तराईका जिल्लादेखि उपचारका लागि राजधानीको बर्न अस्पतालसम्म पुगेका यी घटनाले राज्यको उपस्थिति र सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

पछिल्लो तीन दिनको अवधिमा मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतले ज्यान गुमाएका छन् भने सर्लाहीका विवेक मण्डल मृत्युसँग जुधिरहेका छन् । यी तीनै घटनाको पृष्ठभूमि केलाउँदा राज्यप्रतिको चरम असन्तुष्टि, बेरोजगारी, बढ्दो ऋणको भार र मानसिक तनाव नै मुख्य कारकका रूपमा देखिएका छन् ।
आत्मदाहको यो पछिल्लो शृङ्खलाको सुरुवात मुगुका ३५ वर्षीय गणेश नेपालीबाट भयो । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि राइड सेयरिङमार्फत परिवारको गुजारा चलाउँदै आएका गणेशले असार २५ गते आफ्नै शरीरमा आगो लगाए । निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि विवाद उत्पन्न भएको थियो । प्रत्यक्षदर्शी र प्रहरी अनुसन्धानका अनुसार, सडकभन्दा बाहिर राख्दा पनि आफ्नो मात्र मोटरसाइकल किन लक गरिएको भन्दै उनले नगर प्रहरीसँग प्रतिवाद गरेका थिए । नगर प्रहरीको कठोर व्यवहार र विवादपछि विक्षिप्त बनेका उनले मोटरसाइकलकै पेट्रोल झिकेर शरीरमा खन्याई आगो लगाए । गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार बिहीबार राति निधन भयो । यो घटनाले महानगरको कार्यशैली र साना श्रमजीवीमाथि हुने व्यवहारलाई लिएर सर्वत्र आलोचना भइरहेको छ ।

यस घटनाको राप सेलाउन नपाउँदै काठमाडौँकै बुद्धनगरमा अर्का एक व्यक्तिको आत्मदाहबाट ज्यान गएको छ । ४५ वर्षीय अश्विन राउतले शुक्रबार बिहान आफ्नै घरको भान्सामा शरीरमा आगो लगाएका थिए । ५५ प्रतिशत शरीर जलेको अवस्थामा उनलाई वीर अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् । राउतको आत्मदाहको पछाडिको विस्तृत कारण नखुले पनि यसलाई देशमा बढ्दो मानसिक निराशाको एउटा कडीका रूपमा लिइएको छ ।

त्यस्तै, अर्को हृदयविदारक घटना सर्लाहीमा घटेको छ । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय शिक्षित युवा विवेक मण्डलले बिहीबार आत्मदाहको प्रयास गरे । सर्लाहीको गोडैता–१० का मण्डलको कथाले नेपालको शिक्षा र रोजगारीको विद्रुप अवस्थालाई चित्रण गर्दछ । तीन वर्षसम्म शिक्षण पेसामा रहेका उनले विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य हुनुपर्‍यो । त्यसपछि पटक–पटक लोकसेवा र अन्य क्षेत्रमा प्रयास गरे पनि सफलता हात लागेन ।

एकातिर उच्च शिक्षा हासिल गर्न बुबाआमाले बैंक र गाउँघरबाट लिएको ३५ लाख रुपैयाँ ऋणको बोझ, अर्कोतिर बेरोजगारीका कारण सिर्जित मानसिक तनावले उनलाई यो अप्रिय निर्णय लिन बाध्य तुल्यायो । हाल उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ भने परिवार उपचार खर्च जुटाउन नसक्ने गरी आर्थिक संकटमा फसेको छ ।

यी घटनाहरू सार्वजनिक भएसँगै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु भएको छ । जनपक्षीय ट्रेड युनियन महासंघले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले वर्तमान र पूर्व राजनीतिक नेतृत्वको कडा आलोचना गरेका छन् । प्रदर्शनकारीहरूले वि.सं. २०७८ मा प्रेम आचार्यलाई आत्मदाहको स्थितिमा पुर्‍याउने तत्कालीन नेतृत्व र अहिले गणेश नेपाली जस्ता युवालाई मर्न बाध्य पार्ने वर्तमान नेतृत्व दुवै दोषी रहेको आरोप लगाएका छन् । उनीहरूले बालेन शाह, रवि लामिछाने र स्वर्णिम वाग्ले जस्ता नयाँ पुस्ताका नेताहरूतर्फ लक्षित गर्दै उनीहरूको शासनमा श्रमजीवीहरू सुरक्षित नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रहरीले गणेश नेपालीको घटनामा संलग्न तीन जना नगर प्रहरीलाई सोधपुछ गरेर रिहा गरे पनि नागरिकस्तरमा भने आक्रोश कम भएको छैन । नगर प्रहरीले सडकमा गर्ने व्यवहार र त्यसले सर्वसाधारणमा पार्ने मनोवैज्ञानिक असरबारे बहस सुरु भएको छ । अर्कोतर्फ, विवेक मण्डल जस्ता मेधावी युवाहरू किन आफ्नो प्रमाणपत्रलाई बोझ ठान्न थालेका छन् भन्ने विषयले राज्यको शिक्षा र रोजगारी नीतिमाथिको अविश्वासलाई पुष्टि गरेको छ ।
तीन दिनको अन्तरालमा भएका यी तीन घटनाले के संकेत गर्छ भने, नागरिकहरू केवल आर्थिक रूपमा मात्र होइन, भावनात्मक र मानसिक रूपमा पनि टुट्दै गएका छन् । राज्यका निकायहरूले कानुन कार्यान्वयनका नाममा गर्ने रुखो व्यवहार र सामाजिक सुरक्षाको अभावले मानिसहरूलाई मर्नु नै अन्तिम विकल्प जस्तो लाग्न थालेको छ । यसबारे सरकार बेलैमा गम्भीर बन्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

मण्डलको उपचार भेन्टिलेटरमा

सर्लाहीको गोडैता नगरपालिकामा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ३५ वर्षीय विवेक मण्डलको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डललाई अहिले भेन्टिलेटरमा राखेर विशेष उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियास्थित आफ्नै घरमा मण्डलले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए । गम्भीर अवस्थामा फेला परेका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि शुक्रबार साँझ नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
अस्पतालका निर्देशक डा. किरण नकर्मिका अनुसार मण्डलको शरीरको अधिकांश भाग जलेको र श्वासप्रश्वास प्रणालीमा समेत असर परेकाले अवस्था निकै गम्भीर छ । “उहाँको अवस्था अहिले पनि चिन्ताजनक छ, हामीले भेन्टिलेटरमा राखेर बचाउने हरसम्भव प्रयास गरिरहेका छौँ,” डा. नकर्मिले जानकारी दिए ।
विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) उत्तीर्ण गरेका विवेक एक दक्ष र शिक्षित युवा हुन् । उनले करिब तीन वर्षसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा शिक्षकका रूपमा काम गरेका थिए । तर, परिवारका अनुसार विद्यालयभित्रको राजनीतिक दबाब र चलखेलका कारण उनले एक वर्षअघि जागिर छोड्न बाध्य हुनुपर्‍यो । शिक्षण पेसाबाट बाहिरिएपछि उनी लगातार रोजगारीको खोजीमा थिए ।
उनले विभिन्न शैक्षिक संस्थामा आवेदन दिनुका साथै लोक सेवा आयोगको परीक्षामा समेत सहभागिता जनाएका थिए । तर, कुनै पनि क्षेत्रमा सफल हुन नसकेपछि उनी गम्भीर मानसिक तनावमा परेको देखिन्छ । उनकी श्रीमती रिनादेवी मण्डलका अनुसार विवेक बारम्बार आफ्नो अध्ययनमा भएको ठुलो लगानी र परिवारको अपेक्षा पूरा गर्न नसकेकोमा चिन्तित हुने गर्थे ।
विवेकको उच्च शिक्षा र घरखर्चका लागि परिवारले बैंक तथा गाउँघरबाट करिब ३५ लाख रुपैयाँ ऋण लिएको बुबा उपेन्द्र मण्डलले बताएका छन् । एकातिर बेरोजगारीको पीडा र अर्कोतिर बढ्दो ऋणको दबाबले उनलाई मानसिक रूपमा कमजोर बनाएको थियो । केही समयअघि उनको मानसिक तनावका कारण उपचार समेत गरिएको परिवारले जनाएको छ ।
विवेकका दाजु विगत चार वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा छन्, जसको कमाइले घरखर्च र विवेकको पढाइको खर्च धानिएको थियो । एमएस्सी सकेर शिक्षक बनेपछि छोराले घरको आर्थिक भार थाम्ने आशमा बसेको मण्डल परिवार अहिले छोराको यस्तो अवस्थाले मर्माहत बनेको छ । विवेकका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार