शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा विवाद चर्कियो, सुवर्ण लामा कार्यवाहक अध्यक्ष चयन

बिहिबार, असार २५ २०८३

काठमाडौं(जस)–नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनभित्र नेतृत्व विवाद थप चर्किएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले किशोर केसीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि निर्वाचित पदाधिकारी तथा अधिकांश कार्यसमिति सदस्यहरूले उक्त निर्णय अस्वीकार गर्दै प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार केसीले अध्यक्ष पदको पदबहाली गरेलगत्तै बसेको निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठकले प्रशासनको निर्णय विधानविपरीत रहेको निष्कर्ष निकाल्दै लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । बैठकमा कार्यसमितिका १९ सदस्यमध्ये १८ जनाको हस्ताक्षरसहितको निर्णय माइन्युट पारित गरिएको छ । बैठकले असार ५ गते सम्पन्न एसोसिएसनको १३औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई अध्यक्ष पदका लागि अयोग्य ठहर गर्दै केसीलाई अध्यक्ष तोक्ने जिल्ला प्रशासन कार्यालयको निर्णय संस्थाको विधानअनुकूल नभएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत सोमबार एसोसिएसनलाई पठाएको पत्रमा संस्थाको विधानको दफा ७ र ८ अनुसार अध्यक्ष पदका लागि आवश्यक योग्यता गैरेले नपु¥याएको उल्लेख गर्दै उनलाई पदमुक्त गरी निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी किशोर केसीलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । यद्यपि, निर्वाचित कार्यसमितिका सदस्यहरूले प्रशासनको निर्णयलाई स्वीकार नगर्ने अडान लिँदै संस्थामा देखिएको विवाद समाधानका लागि यथाशीघ्र नयाँ निर्वाचन गराउनु नै उपयुक्त विकल्प हुने निष्कर्ष निकालेका छन् ।
यसैबीच, कार्यवाहक अध्यक्ष सुवर्ण लामाको अध्यक्षतामा बसेको बैठकले साउदी अरेबियामा लागू गरिएको स्किल भेरिफिकेसन कार्यक्रमप्रति असहमति जनाउँदै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । साथै, एसोसिएसनअन्तर्गत मनोरञ्जन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार