काठमाडौं,युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना, श्रम क्षेत्रको सुधार तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने दिशामा सरकार युद्धस्तरमा काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले सरकारले आगामी वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरिसकेको जानकारी दिँदै सोहीअनुसार राष्ट्रिय रोजगार नीति २०८३को मस्यौदा अन्तिम चरणमा रहेको बताए ।
उनका अनुसार विद्यमान राष्ट्रिय रोजगार नीति २०७१ लाई समयानुकूल परिमार्जन गर्दै नयाँ नीतिमार्फत उत्पादन, सीप, उद्यमशीलता र रोजगारीलाई एकीकृत रूपमा अघि बढाइनेछ। साथै, नेपालमा पहिलोपटक ‘केयर इकोनोमी (हेरचाह अर्थतन्त्र)’ सम्बन्धी नीति निर्माण प्रक्रिया पनि सुरु गरिएको छ।
मन्त्री यादवले श्रमिकको अधिकार कार्यस्थलमै सुनिश्चित गर्न सरकारले ‘कारबाही र प्रोत्साहन’को नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताए। सरकार गठनपछिको पहिलो सय दिनमा देशभर १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण गरिएको जानकारी दिँदै उनले श्रम ऐन उल्लङ्घन गर्ने तथा श्रमिकमाथि अन्याय गर्ने रोजगारदाताबाट जरिवाना तथा सहमतिबापत ४ करोड ४० लाख ९६ हजार २ सय ५ रुपैयाँ असुल गरिएको बताए।
उनले विगतको नौ महिनाको तुलनामा श्रम निरीक्षणको दर ६० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै श्रम कानुन कार्यान्वयनमा सरकारले कडाइ गरेको स्पष्ट पारे।
वैदेशिक रोजगारीका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्दै मन्त्री यादवले सरकार गठनको सय दिनभित्र १ हजार ४ वटा उजुरी तथा मुद्दा फर्स्यौट गरिएको र पीडित कामदारलाई ३० करोड ७५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार यो मासिक औसतका आधारमा अघिल्लो सरकारको तुलनामा ६ सय २८ प्रतिशत बढी उपलब्धि हो।
वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानुनी एजेन्ट र अवैध गतिविधि नियन्त्रणका लागि मन्त्रालयले ‘एक्सन कमान्ड सेन्टर’ तथा ‘अपरेसन इलिगल एजेन्ट’ अभियान सञ्चालनमा ल्याएको उनले बताए । साथै, वि.सं. २०५७ यताका ११ हजार ५ सय २८ वटा वैदेशिक रोजगारसम्बन्धी मुद्दाका फाइल डिजिटल प्रणालीमा रूपान्तरण गरिएको र सेवाग्राहीले आफ्ना उजुरीको अवस्था अनलाइनमार्फत हेर्न सक्ने गरी वेब पोर्टल सञ्चालनमा ल्याइएको जानकारी पनि उनले दिए।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले मन्त्रालयले ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिस कार्यक्रम तथा ‘करियर उडान’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री यादवले बताए। यसका लागि काठमाडौँ विश्वविद्यालय र भारतीय प्रविधि संस्थान (आईआईटी)सँगको सहकार्यमा सीप विकास, प्राविधिक तालिम तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।
उनले अब स्वदेशी रोजगार कार्यक्रमलाई केवल अल्पकालीन रोजगारीमा सीमित नराखी सीप विकास, उत्पादन र उद्यमशीलतासँग जोडेर दिगो रोजगारी सिर्जना गर्ने सरकारको रणनीति रहेको स्पष्ट पारे।
विदेशबाट फर्किएका नेपाली श्रमिकको ज्ञान, सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी व्यवस्थापन सूचना प्रणाली’ परीक्षणका क्रममा रहेको र सम्बन्धित परियोजनामार्फत हालसम्म १ हजार ६६ जनाले रोजगारी वा स्वरोजगारी प्राप्त गरिसकेको जानकारी पनि उनले दिए।
मन्त्री यादवले सरकारले वैदेशिक रोजगारीलाई बढावा दिनेभन्दा पनि त्यसलाई सुरक्षित, मर्यादित, पारदर्शी र व्यवस्थित बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकलाई समेत क्रमशः सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउने सरकारको स्पष्ट लक्ष्य रहेको बताए।
उनले श्रम बजारलाई व्यवस्थित, श्रमिकमैत्री र उत्पादनमुखी बनाउने, श्रमिकको अधिकारको प्रभावकारी संरक्षण गर्ने तथा स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए।