चितवन,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन सम्पन्न भएसँगै पार्टीले नयाँ नेतृत्व पाएको छ। सभापतिदेखि सहमहामन्त्रीसम्मका पदमा निर्वाचित पदाधिकारीहरूले अब आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्ने भएका छन्।
महाधिवेशनबाट यसअघि नै रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, डा. स्वर्णिम वाग्ले खुला उपसभापतिमा पनि निर्विरोध निर्वाचित भएका थिए।
शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनबाट सोविता गौतम महिला उपसभापतिमा निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी डा. तोसिमा कार्की लाई पराजित गर्दै उक्त जिम्मेवारी हात पारेकी हुन्।
त्यस्तै, पार्टीको महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा उनले मनिष झा, सागर ढकाल र गणेश कार्की लाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। यस्तै, सहमहामन्त्री (महिला) मा निशा डाँगी निर्वाचित भएकी छन्।
यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनबाट पार्टीका ९९ जना केन्द्रीय सदस्य चयन भइसकेका थिए। पहिलो चरणमा राष्ट्रिय खुलातर्फ निर्वाचित हुनेहरूमा डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, राजु दर्शन, मनिष झा, हरि ढकाल, कविन्द्र बुलाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाई, विराज भक्त श्रेष्ठ, निशा डाँगी, इन्द्रिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सरिस्मा पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (बेलबारी), गीता चौधरी र लिमा अधिकारी आचार्य रहेका छन्।
यस्तै, खुला तथा आर्य समूहबाट सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका संग्रौला (ज्वाला), क्रान्तित्रिशाला घिताल, जमुना शर्मा र सुरिला कार्की पोखरेल निर्वाचित भएका छन्।
आदिवासी/जनजाति समूहबाट मिलन लिम्बु, शंकर श्रेष्ठ, मिरा डुङ्डुङ शेर्पा, महेश तामाङ, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुसुम महर्जन निर्वाचित भएका छन्।
दोस्रो चरणमा पदाधिकारी चयनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको हो।
चितवनमा असार ७ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र संस्थागत सुदृढीकरणका विषयमा महत्वपूर्ण आधार तयार गरेको छ।
रास्वपाको नयाँ पदाधिकारी
सभापति: रवि लामिछाने (निर्विरोध)
उपसभापति (खुला): डा. स्वर्णिम वाग्ले (निर्विरोध)
उपसभापति (महिला): सोविता गौतम
महामन्त्री: विपिन कुमार आचार्य
सहमहामन्त्री (खुला): हरि ढकाल
सहमहामन्त्री (खुला): असिम शाह
सहमहामन्त्री (महिला): निशा डाँगी
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले अब पार्टीलाई थप सुदृढ, व्यवस्थित र देशव्यापी रूपमा विस्तार गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने जिम्मेवारी पाएको छ। पार्टी नेतृत्वले सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत लोकतन्त्रलाई केन्द्रमा राखेर आगामी राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।









