काराकास । भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको छ भने ९७१ जना घाइते भएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार उक्त जानकारी दिएकी हुन् । उनका अनुसार भूकम्पपछि करिब ३० वटा परकम्पहरू महसुस भएका छन् ।
सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन देशभरका स्रोत–साधन परिचालन गरिरहेको छ । साथै निजी क्षेत्रलई उद्धार उपकरण तथा आवश्यक सामग्री उपलब्ध गराउन सहयोग गर्न आह्वान गरिएको छ । रोड्रिगेजले बिहान भएपछि अवस्था स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् ।
अधिकारीहरूका अनुसार यी भूकम्पहरू एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्येका हुन्। यसको प्रभाव देशका विभिन्न भागमा महसुस गरिएको थियो । उत्तरी भेनेजुएलाको ला गुआइरा राज्यमा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । उक्त क्षेत्रमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेका छन् । सरकारले उक्त क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गरेको छ, जहाँ दर्जनौं भवन पूर्ण रूपमा भत्किएका छन् ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षण अनुसार बुधबार स्थानीय समयअनुसार साँझ ६ः०४ बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रविन्दु राजधानी कराकसबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन नजिक रहेको बताइएको छ । शक्तिशाली भूकम्पपछि भेनेजुएला सरकारले देशभर आपतकालीन अवस्था घोषणा गरेको छ ।
विश्वभरबाट सहयोगको घोषणा
भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईवटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको हो ।
उद्धार तथा राहत कार्य जारी रहेका बेला ल्याटिन अमेरिकी देशहरू लगायत अन्य मुलुकहरूले पनि सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले भेनेजुएली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति पठाउने तयारी गरिएको बताएकी छन् । यसको प्रत्युत्तरमा राष्ट्रपति रोड्रिगेजले मेक्सिको सरकारको सहयोग प्रस्तावप्रति आभार व्यक्त गर्दै आवश्यक समन्वय गरी सहायता स्वीकार गरिने बताइन् ।
इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले तत्काल मानवीय सहायता पठाउने घोषणा गर्दै राजनीतिक मतभेदभन्दा माथि उठेर मानवता सर्वोपरि हुनुपर्ने बताएका छन् । रोड्रिगेजले इक्वेडरको सहयोग प्रस्तावलाई सम्मानजनक र सहकार्यपूर्ण कदमका रूपमा स्वागत गरेकी छन् । डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडेरले रोड्रिगेजसँग प्रत्यक्ष टेलिफोन संवाद गरी समवेदना व्यक्त गरेका छन् । उनले खोज तथा उद्धारका लागि विशेष टोली र आपतकालीन सेवा समूह भेनेजुएला पठाइने जानकारी दिएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि भूकम्पबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सम्भावित सहायता उपायहरूको मूल्यांकन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । उनले प्रभावित क्षेत्रको पुनःस्थापनामा ब्राजिल सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले ३०० उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा ५० टन राहत सामग्री, औषधि र अत्यावश्यक सामान काराकासतर्फ पठाउन तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । रोड्रिगेजले यस सहयोग प्रस्तावलाई स्वागत गर्दै तत्काल आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।
संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले पनि अमेरिकाले भेनेजुएली जनताको साथमा रहेको जनाउँदै आवश्यक सहायता परिचालन भइरहेको बताएका छन् । यस्तै चिली, होन्डुरस र अर्जेन्टिनाले पनि भेनेजुएलाप्रति ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक परे मानवीय सहायता उपलब्ध गराउने बताएका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईको कार्यालयले जारी गरेको वक्तव्यमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्राकृतिक विपत्तिको समयमा सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ । कोलम्बियाका पूर्वराष्ट्रपति आल्भारो उरिबे भेलेजले पनि सामाजिक सञ्जालमार्फत भेनेजुएली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । भूकम्पपछि भेनेजुएली अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । क्षतिको पूर्ण विवरण अझै सार्वजनिक नभए पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । एएनआई