शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कतारको रासलफान ग्यास केन्द्रमा भीषण विस्फोट, १८ बेपत्ता र ५४ घाइते,नेपालीसहित हजारौं विदेशी श्रमिक कार्यरत क्षेत्रमा दुर्घटना, बेपत्ताको खोजी तीव्र

सोमबार, असार ८ २०८३

काठमाडौं,कतारको उत्तरपूर्वी तटीय क्षेत्रमा रहेको रासलफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको भीषण विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्। कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ।
दक्षिण एसियाली श्रमिकहरूको प्रमुख कार्यस्थल मानिने रासलफान क्षेत्रमा नेपाली,भारतीय र बंगलादेशी श्रमिकहरू ठूलो संख्यामा कार्यरत छन्। यद्यपि दुर्घटनामा परेका, घाइते भएका वा बेपत्ता भएका व्यक्तिहरूको पहिचान तथा राष्ट्रियता हालसम्म सार्वजनिक गरिएको छैन।
कतारको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको जनाएको छ। उद्धारकर्मीहरूले भग्नावशेष तथा प्रभावित क्षेत्रहरूमा खोजी अभियानलाई तीव्रता दिएका छन्।
मन्त्रालयका अनुसार विस्फोटपछि स्थिति नियन्त्रणमा ल्याइएको छ र घटनाबाट कुनै थप सुरक्षा जोखिम वा ग्यास चुहावट भएको संकेत प्राप्त भएको छैन। घटनाको कारणबारे प्राविधिक अनुसन्धान जारी रहेको जनाइएको छ।
कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार ईनर्जीले प्रारम्भिक रूपमा उक्त घटना सञ्चालन प्रक्रियाका क्रममा भएको प्राविधिक दुर्घटना भएको जनाएको छ। कम्पनीका अनुसार विस्फोटलगत्तै आपत्कालीन प्रतिक्रिया टोली परिचालन गरिएको थियो र आगलागीलाई छोटो समयमै नियन्त्रणमा लिइएको थियो। हाल सम्पूर्ण अवस्था नियन्त्रणमा रहेको कम्पनीको दाबी छ।
घटनास्थल नजिकै कार्यरत एक नेपाली श्रमिकले विस्फोट अत्यन्त शक्तिशाली रहेको बताएका छन्। उनका अनुसार विस्फोटपछि ठूलो आगोको मुस्लो आकाशतर्फ फैलिएको थियो र त्यसको आवाज राजधानी दोहासम्म सुनिएको थियो।
“हामी घटनास्थलभन्दा केही टाढा थियौं। अचानक ठूलो आवाज आयो। त्यसपछि आकाशभरि आगोको ज्वाला फैलिएको देखियो। दृश्य निकै त्रासदीपूर्ण थियो,” ती श्रमिकले बताएका छन्।
रासलफान कतारको ऊर्जा अर्थतन्त्रको मेरुदण्ड मानिने क्षेत्र हो। यहाँबाट विश्वका विभिन्न मुलुकमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गरिन्छ। विशाल ग्यास प्रशोधन संयन्त्र, पेट्रोकेमिकल उद्योग तथा ऊर्जा पूर्वाधारहरू रहेको यस क्षेत्रमा हजारौं विदेशी श्रमिक कार्यरत छन्। नेपाली श्रमिकहरू पनि स्काफफोल्डिङ, निर्माण, मर्मतसम्भार तथा विभिन्न प्राविधिक सेवामा संलग्न रहेका छन्।

दुर्घटनापछि कतारमा रहेका नेपाली समुदाय र श्रमिक परिवारहरूमा चिन्ता बढेको छ। कतारस्थित नेपाली दूतावासले घटनाबारे जानकारी संकलन गरिरहेको स्रोतहरूले बताएका छन्। दुर्घटनामा नेपालीहरू परेको वा नपरेको विषयमा भने हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

मध्यपूर्वकै महत्वपूर्ण ऊर्जा केन्द्रमध्ये एक मानिने रास लफानमा भएको यस दुर्घटनाले अन्तर्राष्ट्रिय ऊर्जा क्षेत्रको ध्यान खिचेको छ। कतारी अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालेका छन् भने बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारलाई प्राथमिकतामा राखिएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार