चितवन,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले वर्तमान राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्दै देश सुरक्षित हातमा रहेको बताएका छन्।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले प्राप्त गरेको शक्ति दम्भ, अहंकार वा प्रतिशोधका लागि नभई नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न प्रयोग हुने स्पष्ट पारे।
“देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,” लामिछानेले भने, “बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स होइन।”
उनले रास्वपा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै अन्य राजनीतिक दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे। रास्वपाले कुनै पनि दल वा व्यक्तिविरुद्ध प्रतिशोधको राजनीति नगर्ने बरु जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी बोकेर अघि बढ्ने उनको भनाइ थियो।
महाधिवेशन उद्घाटन समारोहमा उपस्थित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताको रक्षा रास्वपाको प्रमुख दायित्व हुने बताए।
“लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकारलगायत नेपाली जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धिको जगेर्ना गर्ने जिम्मेवारी हामीले लिएका छौं,” उनले भने, “रास्वपा ती उपलब्धिहरूको संरक्षणमा दृढतापूर्वक उभिनेछ।”
लामिछानेले मुलुकमा बढ्दो जनअसन्तुष्टि, सुशासनको माग र पुराना राजनीतिक अभ्यासप्रतिको निराशाबीच रास्वपाको उदय भएको उल्लेख गरे। जनताले परिवर्तन र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरेकाले पार्टीले छोटो समयमै व्यापक जनसमर्थन प्राप्त गर्न सफल भएको उनको दाबी थियो।
उनले पहिलो राष्ट्रिय महाधिवेशनलाई रास्वपाको संगठनात्मक विकास, वैचारिक स्पष्टता र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। महाधिवेशनले पार्टीलाई थप संस्थागत, अनुशासित र जनउत्तरदायी बनाउने विश्वास उनले व्यक्त गरे।
देशभरबाट चार हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। महाधिवेशनले पार्टीको भावी नीति, संगठनात्मक संरचना र नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।
विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा भएको उद्घाटन समारोहमा लामिछानेले दिएको सन्देशलाई रास्वपाको आगामी राजनीतिक दिशा र रणनीतिको संकेतका रूपमा समेत हेरिएको छ। शक्ति प्राप्त गरे पनि लोकतान्त्रिक मूल्य, संविधान र नागरिक अधिकारको रक्षामा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।