काठमाडौं,नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। लामो समयदेखि संस्थाभित्र देखिँदै आएको आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र नेतृत्व संघर्षको अन्त्य गर्ने अपेक्षासहित व्यवसायीहरू मतदान प्रक्रियामा सहभागी हुन लागेका हुन्।
संस्थाको नेतृत्व चयनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे र पूर्वउपाध्यक्ष किशोरकुमार केसी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्। दुवैले आफ्नो–आफ्नो प्यानल घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको निर्वाचनलाई सामान्य नेतृत्व चयनभन्दा पनि संस्थाभित्र लामो समयदेखि देखिएको दुई धारबीचको निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
निर्वाचनअघि बिहीबार अध्यक्ष दीपक थापा, संस्थाका पूर्वअध्यक्षहरू, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार (रसाइली) तथा केन्द्रीय सदस्य सुवास पोखरेललगायतको उपस्थितिमा सहमतिको प्रयास गरिएको थियो। संस्थाको एकता कायम राख्ने उद्देश्यले गरिएको उक्त प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको हो।
अध्यक्ष दीपक थापाले सहमतिबाट नेतृत्व चयन भएको भए संस्थाभित्र विगतदेखि देखिँदै आएको विभाजन अन्त्य हुने, व्यवसायीबीच एकता मजबुत बन्ने र नयाँ व्यवसायीलाई पनि संस्थामा आबद्ध गराउन सहज हुने विश्वास व्यक्त गरेका थिए। तर प्रतिस्पर्धात्मक माहोल बनेपछि निर्वाचन नै अन्तिम विकल्प बनेको हो।
वैदेशिक रोजगार व्यवसायीहरूको यो संस्थाभित्र केही वर्षयता दुई स्पष्ट धार देखिँदै आएका छन्। एकातिर संस्थापक तथा मूलधारको समूह रहेको छ भने अर्कोतर्फ आफूलाई परिवर्तनको पक्षधर बताउने बागी समूह सक्रिय रहँदै आएको छ। यसपटक रामप्रसाद गैरे नेतृत्वको प्यानललाई संस्थापक समूह, पूर्वअध्यक्षहरू तथा संस्थाको मूलधार मानिने पक्षको समर्थन रहेको बताइन्छ। यता किशोरकुमार केसी नेतृत्वको प्यानललाई विगतदेखि संस्थाको नेतृत्वप्रति असन्तुष्ट रहँदै आएको बागी समूहको साथ रहेको व्यवसायीहरू बताउँछन्।
एसोसिएसनभित्रको विवाद केही वर्षअघि चरम उत्कर्षमा पुगेको थियो। वैदेशिक रोजगार व्यवसायी संघ (बैरो संघ) का तत्कालीन अध्यक्ष भुवन गुरुङ आफ्ना पिताको निधनपछि १३ दिने पुण्यकर्ममा रहेका बेला एसोसिएसनकै तत्कालीन महासचिवसहित केही पदाधिकारीको सक्रियतामा अध्यक्ष पदबाट हटाइएको घटनाले संस्थाभित्र ठूलो तरंग सिर्जना गरेको थियो। उक्त घटनापछि संस्थाभित्रको विभाजन झनै गहिरिँदै गएको व्यवसायीहरू बताउँछन्।
त्यतिमात्र होइन, त्यसपछि सम्पन्न वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा पनि विवाद सतहमा आएको थियो। एसोसिएसनले आधिकारिक रूपमा समर्थन गरेका उम्मेदवार मेघनाथ भुर्तेल विरुद्ध संस्थाभित्रकै असन्तुष्ट समूहले अर्को पक्षसँग सहकार्य गर्दै उम्मेदवारी दिएको थियो। अन्ततः आधिकारिक उम्मेदवार भुर्तेल पराजित भएका थिए। उक्त घटनालाई पनि एसोसिएसनभित्रको आन्तरिक संघर्षको महत्वपूर्ण अध्यायका रूपमा हेरिन्छ।
यही पृष्ठभूमिमा आजको निर्वाचनलाई संस्थाको भावी दिशा तय गर्ने तथा लामो समयदेखि जारी आन्तरिक द्वन्द्वको लोकतान्त्रिक समाधान खोज्ने अवसरका रूपमा हेरिएको छ। व्यवसायीहरूले मतदानमार्फत अब संस्थामा कुन धारको नेतृत्व स्थापित गर्ने भन्ने निर्णय गर्नेछन्।
रामप्रसाद गैरे नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा विजयकुमार कार्की, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा निमा माया कार्की तथा सह–कोषाध्यक्षमा कैलाश पाठक उम्मेदवार रहेका छन्। सदस्य पदमा विक्रम खत्री, पुण्यकुमार श्रेष्ठ, मिलन पोखरेल, धर्मानन्द कंडेल (रविता), ओमप्रकाश सिंखडोती, राजेश मैनाली, वीरबहादुर भोला र सहित कुमारीलगायत उम्मेदवार छन्।
यता किशोरकुमार केसी नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा शिवकुमार कार्की, द्वितीय उपाध्यक्षमा हर्कराज लिम्बू, तृतीय उपाध्यक्षमा सोमबहादुर तामाङ, महासचिवमा अभिनयमान सिंह बस्नेत, सचिवमा नारायण भुसाल, सहसचिवमा शिवप्रसाद चालिसे, कोषाध्यक्षमा राधा केसी तथा सह–कोषाध्यक्षमा दीपककाजी खड्का उम्मेदवार रहेका छन्। सदस्य पदमा फडिन्द्रकुमार केसी (प्रशान्त खतिवडा), विजय गौली, शेरबहादुर गुर्बाछान, नवीन क्षेत्री पौड्याल, भूपेन्द्र भट्टराई, लक्ष्मीप्रसाद तिवारी (राजु), बिन्दालाल साह, सुवास भट्टराई र विष्णु सापकोटा चुनावी मैदानमा छन्।
एसोसिएसनमा अध्यक्षसहित ९ पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ भने निर्वाचित अध्यक्षले थप ४ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेको छ। साधारण सभा तथा निर्वाचनका लागि करिब ३ सय ५० व्यवसायीले सदस्यता अद्यावधिक गरिसकेका छन्। निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
व्यवसायी वृत्तमा संस्थापक समूहको समर्थन प्राप्त गरेका रामप्रसाद गैरे नेतृत्वको प्यानल बलियो अवस्थामा रहेको चर्चा व्यापक रूपमा भइरहे पनि निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले अन्तिम परिणाम मतपेटिकाबाटै आउनेछ। त्यसैले आजको मतदान र त्यसपछिको मतगणनाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आगामी दुई वर्षको नेतृत्व मात्र होइन, संस्थाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्षको दिशा समेत तय गर्नेछ।

